क्यामेरा सहायकदेखि लाइन प्रोड्युसरसम्म

बिहिबार, १६ मङि्सर २०७३, १० : ५१ शुक्रवार , Kathmandu
क्यामेरा सहायकदेखि लाइन प्रोड्युसरसम्म

फिल्म भन्नेबित्तिकै सानैदेखि हुरुक्क हुन्थे, राजेन्द्र घिमिरे  । तर, फिल्म लाइनमा काम गरौँला भन्ने चाहिँ उनलाई लागेको थिएन । नुवाकोटस्थित दुई पीपल घर भएका उनी एसएलसीको परीक्षा दिएपछि घुम्न भनेर सन् १९९७ तिर भारतको मुम्बई हानिए । ‘साथीको अंकल फिल्म लाइनमा काम गर्नुहुन्थ्यो भन्ने सुनेको थिएँ,’ हाल भारतीय फिल्ममा लाइन प्रोड्युसरका रूपमा काम गरिरहेका राजेन्द्रले सम्झिए, ‘त्यहाँ पुगेपछि साथीमार्फत अंकललाई भेटियो र उतै काम गर्ने निधो भयो । त्यसपछि तीन जना साथी मिलेर एउटै कोठा सेयर गरेर बस्न थाल्यौँ ।’

त्यसपछि फिल्म प्राविधिकका रूपमा सुरु भयो उनको संघर्ष । उनले त्यहाँ गुरदास नामक क्यामेराम्यानको सहायकका रूपमा एक वर्षजति काम गरे । ‘उहाँबाट धेरै टेक्निकल कुराहरू सिकियो,’ राजेन्द्रले भने, ‘त्यसपछि मलाई प्रोडक्सनतिर मोह जाग्यो र काम खोज्न थाले ।’

फिल्मको सम्पूर्ण व्यवस्थापकीय पक्षको जिम्मा लिने धोको पलाएपछि उनी टी–सिरिज कम्पनीमा धाउन थाले । ‘प्रोडक्सनमा जोइन हुनका लागि पाँच महिनाजति त मैले टी–सिरिजलगायत विभिन्न कम्पनीसँग निःशुल्क काम गरे,’ उनी सम्झन्छन्, ‘परिश्रमको फल मीठो हुन्छ भन्थे हो रै’छ । पहिले म अरूको मातहतमा काम गर्थें, अहिले मेरो मातहतमा थुप्रै प्राविधिकले काम गर्छन् ।’

हाल मुम्बईमा नर्थ इन्डिया फिल्म प्रोडक्सन एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी चलाएर बसिरहेका राजेन्द्रले थुप्रै साउथ इन्डियन र बलिउड फिल्ममा लाइन प्रोड्युसरका रूपमा जिम्मेवारी सम्हालेका छन् । ‘हाम्रो काम भनेको फिल्मको लोकेसन हन्टिङदेखि क्यामेरा, होटल, कलाकार र निर्देशक सबैको व्यवस्थापन राम्रोसँग गर्नु हो,’ उनले भने, ‘पहिले म दिनको पाँच सय रुपैयाँमा काम गर्थें । अहिले दिनकै ३५ देखि ५० हजार रुपैयाँसम्म कमाउँछु । त्यो पनि सबै खर्च कटाएर ।’ उनका अनुसार अधिकांश फिल्म प्याकेजमा लिइन्छ । ‘प्याकेजमा लिँदा काम दुईदेखि तीनमहिनासम्म सकिन्छ,’ उनले भने, ‘एउटा फिल्मबाट सबै खर्च कटाएर चोखो आठ लाखसम्म कमाई हुन्छ ।’

फ्रिलेन्सरका रूपमा काम गरिरहेका राजेन्द्र प्रायःजसो बलिउडको ठूलो कम्पनी टी–सिरिजको प्रोजेक्टहरू लिने गरेको बताउँछन् । उनले साउथ इन्डियन र बलिउड फिल्म गरेर करिब ८० फिल्ममा काम गरिसकेका छन् । उनका अनुसार ‘गान्धी टू हिटलर’, ‘सिर्फ तुम’, ‘दिल से’, ‘आई’, थ्री इडियट्स’, ‘सरदार साब’ आदि उनले व्यवस्थापन हेरेका नाम चलेका फिल्म हुन् । अहिलेसम्म पाँच सयभन्दा बढी हिन्दी र दक्षिण भारतीय म्युजिक भिडियो प्रोडक्सन गरिसकेको उनी बताउँछन् ।

नेपालबाट घुम्न भनेर भारत हानिएको एउटा ठिटो यसरी सफल होला भन्नेमा राजेन्द्र स्वयं विश्वस्त थिएनन् । ‘संघर्ष गरेपछि सफल भइने रहेछ । यो ठाउँमा आइपुग्न मैले निकै संघर्ष गरेको छु । सुरुसुरुमा नेपाली भन्नेबित्तिकै त्यहाँ निकै हेप्थे । नेपाली सफल भएको देख्नै चाहदैनथिए । काम माग्दै हिँडिन्थ्यिो तर कसैले पत्याउँदैनथिए,’ उनले भने, ‘कति संगीतकर्मीले भिडियो प्रोडक्सनको काम दिन्छु भन्दै आश्वासन मात्र दिए । संघर्ष त कति गरियो, गरियो, भनेर साध्य छैन ।’

फिल्म क्षेत्रमा अधिकांश अभिनय गर्ने रहर बोकेर आउँछन् । राजेन्द्रलाई पनि सुरुसुरुमा अभिनयको लोभ रहेछ । ‘८÷१० वटा म्युजिक भिडियो र पाँच वटाजति साउथ फिल्ममा काम गरेको छु । ‘जीत लेंगे जहाँ’ बोलको हिन्दीमा फिल्ममा पनि मेरो अभिनय छ ।’

राजेन्द्र यतिबेला भारतीय फिल्मको सुटिङ नेपालमा गराउन लागिपरेका छन् । अघिल्लो वर्ष मात्र दक्षिण भारतीय फिल्मका सुपरस्टार विक्रम अभिनीत ‘दश गिन्ने से पहले’ नामक फिल्मको छायांकन नेपालमा गराएका थिए । उनी भारतका फिल्मलाई नेपालमा छायांकन गराउँदा यतैका निर्माण नियन्त्रकसँग सहकार्य गर्ने गरेको बताउँछन् । ‘यो वर्ष पनि दुइटा हिन्दी फिल्म ल्याउने योजनामा छु,’ गत बिहीवार लोकेसन हन्टिङका क्रममा काठमाडौँमा भेटिएका उनले भने, ‘विदेशी फिल्म नेपालमा छायांकन हुँदा यहाँ पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ । नेपालमा पोखरा, मनाङ, काठमाडौँ, चितवनलगायत थुप्रै स्थान छन्, जहाँ फिल्म छायांकन गर्न सकिन्छ ।’ विदेशी फिल्मको छायांकन नेपालमा गराइरहेका राजेन्द्रले आफू नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको समेत बताए ।

 

Leave A Comment