‘बेहुलीको भेषै झ्याउ लाग्छ’

शुक्रबार, १७ मङि्सर २०७३, १० : २० डिबी खड्का , Kathmandu
‘बेहुलीको भेषै झ्याउ लाग्छ’

गायिका आस्था राउतले मंसिरको क्यालेन्डर पल्टिनबित्तिकै ‘मलाई अनलाइनमा बिहेको प्रस्ताव आएको छ, स्विकारौँ कि क्या हो’ आशयको फेसबुक स्ट्याटस लेखिन् । त्यसपछि उनलाई मनैदेखि चाहने युवाहरूले आफ्ना आँखा निरन्तर रसाइरहेको जनाउ दिए । उनलाई मन पराउने तर करिअर बनाइरहेकाहरूले ‘मन त पराउँथेँ तर अहिल्यै आँट्न मुश्किल प¥यो, केही समय कुर्नुप¥यो’ भन्ने जस्ता बिन्ति बिसाए । आफू आस्थाको स्तरमा पुगिनसकेको महसुस गर्नेले ‘हामीलाई त हेर्नुहुन्थेन होला’ भन्ने खालका निरीहता प्रस्तुत गरे । अधिकांस फ्यानले ‘चित्त दुखेको’ फेसबुक इमोजीहरू पठाए इनबक्समा । अर्थात्, उनको विवाह गर्ने ‘मुड’बाट धेरै दुःखी भए । उनले ‘जिस्किएको मात्रै’ भनेर स्पष्टीकरण दिँदा पनि फ्यानले बिहे गर्नै लागेको शंका गरिरहेका छन् । गायिका राउतसँग प्रेम र विवाहमा केन्द्रित रहेर डिबी खड्काले गरेको अन्तरंग कुराकानीः

‘मेरो पनि बिहे गर्ने बेला भयो है’ भन्ने संकेत गर्न थालिएछ ?
यो त रमाइलो हो । म विवाह गरेर एउटा विशुद्ध श्रीमती भएर र बच्चाकी आमा भएर बस्न सक्दिनँ जस्तो लाग्छ । विवाह भएका साथीहरूको जिन्दगी हेर्छु, अनि आफूसँग तुलना गर्छु, के त्यति मात्रै हो त मेरो जिन्दगी ? म त धेरैथोक गर्न जन्मेकी हुँ । मेरी मावलकी हजुरआमा भन्नुहुन्थ्यो, ‘मेरी नातिनीले १० भाइनातिको काम गर्छे ।’ उहाँले भनेजस्तो १० भाइको होइन, हजारौँ नातिको काम गर्न मन छ । आफ्नो जन्म अर्थपूर्ण बनाउन मन छ ।
त्यसका लागि के गर्ने त ?
मैले गीतसंगीतमा पनि यो रमाइलोको लागि मात्रै होइन, यसले ‘मोटिभेसन’ गर्नुपर्छ, राष्ट्रियता, असमानताविरुद्ध बोल्नुपर्छ भन्ने पारेकी छु । मैले निकाल्ने गीतमा मायाप्रेम र रोनाधोना हुँदैनन् । राजनीतिमा पनि रुचि छ मलाई । तर, अहिलेसम्म कुनै पार्टीप्रति ‘सफ्ट कर्नर’ छैन । नेताप्रति गुनासो मात्रै गर्ने होइन, आफैँले पनि केही गर्नुपर्छ भनेर राजनीति गर्न सक्छु ।
विवाहविरोधी कुरा गर्नेले त्यस्तो स्ट्याटस किन लेख्नुप¥यो होला !
त्यो एउटा गेम थियो । अस्ट्रेलियामा बस्ने एक जना दिदीले स्ट्याटस लेख्नुभयो– ‘आई एम सेलेक्टेड फर मास्टर सेफ’ । मैले बधाई दिएँ । त्यो त एउटा गेम रहेछ । म फँसेँ । उहाँले भन्नुभयो, ‘यो एउटा गेम हो । सुरुमै तिम्ले कमेन्ट ग¥यौ । यी स्ट्याटसमध्ये एउटा छान र फेसबुकमा राख ।’ ।  उहाँले प्रस्ताव गरेका सबै स्ट्याटसमध्ये अलिकति ‘डिसेन्ट’ चाहिँ, ‘आई थिंक आई जस्ट एसेप्ट म्यारिज प्रपोजल अनलाइन’ लाग्यो । यही राखेँ । ओहो, नसोचेको प्रतिक्रिया आउन थाल्यो । फेसबुक र फोनमा म्यासेजको बाढी धान्न नसकिने भो । यहाँ वर्षाैंदेखि भेटेका र संगत गरेकासँग विवाह गर्न एकपल्ट सोच्नुपर्छ । कहाँ अनलाइनमै बिहेको प्रस्ताव स्विकार्थें ?
तपाईंसँग साँच्चिकै बिहे गर्न चाहनेको पोल पनि खुल्यो होला नि ?
धेरै किसिमका कुरा आए । ‘मैले नि मन पराउँथेँ’ भन्ने त कति हो कति । कतिले ‘हामी जस्तालाई हेर्नुहुन्न होला, मन त पराउँथेँ’ भनेर गुनासो गरे । कतिले ‘मेरा यस्ता बाध्यता छन्, मन त मलाई नि पथ्र्याै’ भने । कतिपयले ‘अलि ढिलो भए आँट्थेँ’ भने  । धेरै जनाले आफू रोइरहेको जनाउ दिएर फेसबुक इमोजीहरू पठाए । ‘मेरो मन दुखाउनुभयो, मन परेको मान्छे अर्कैको हुन लाग्दा चित्त दुख्दो रहेछ, म त  रोइरहेको छु’ भनेर भावुक म्यासेज पनि पठाए । कतिले अविश्वाससहितको प्रश्न गरे– साँच्चिकै हो र ? भन्दै । पसर्नल अकाउन्टमा त यस्तो भयो, फेसबुक पेजमा भएको भए त झन् कस्तो हुन्थ्यो होला ।
स्पष्टीकरण नै दिनुप¥यो है !
रमाइलो गरेको थेग्न मुश्किल भयो । त्यसपछि मैले ‘जिस्किएको मात्रै हो’ भन्नुप¥यो । त्यसपछि फेरि ‘होइन होला जस्तो त लागेको थियो’ भनेर खुशी प्रकट गर्न लागे ।
साँच्ची, आफूलाई दुलहीको कल्पना गरिएको छ कहिल्यै ?
छैन भन्या । ओहो, त्यो थामिनसक्नुका गहनागुरिया, गलामा दाम्लोजस्तो लाग्ने सुन लाउन मन छैन । बच्चामा चाहिँ अलि–अलि राम्रो लाग्थ्यो दुलही बनेको । तर, पछि दुलही भेष नै झ्याउ लाग्न थाल्यो । अहिले पनि झ्याउ लाग्छ । मेरो ममीले नै त्यस्तै गरी हुर्काउनुभयो । उहाँले भनिरहनुहुन्थ्यो, ‘मेरो छोरीको विवाह मन्दिरमा गराउँछु । उपस्थित मान्छेलाई तर्रर ताली पड्काउन लगाएर थिन एरोरुट बिस्कुट र चिया खुवाएर पठाउँछु ।’ मलाई पनि विवाहमा गरिने खर्च वाहियात लाग्छ ।
अरूको विवाहमा जाँदा कत्तिको रमाइलो गरिन्छ ?
म त विवाह र व्रतबन्धमा जाँदै नजाने मान्छे हो । कसैले बोलाए भने ४० किलोको भारी बोक्न लगाए जस्तो लाग्छ ।
सारी लगाउनुभएको छ ?
बढीमा दुईपल्ट । आफूलाई सम्हाल्नु कि सारी भन्ने भयो । त्यसैले बिहे व्रतबन्धमा जानैपरे पनि क्याजुअल लगाएर जान्छु । आफूलाई त त्यस्ता कुरामा जिरो नलेज । लेहंगा कस्ता–कस्ता ? सारी कति थरिका ? मेरा लवाइ हेरे फुपूहरू भन्छन्, ‘के लगाएकी ?’ सीधै भन्छु– ‘आफूलाई जे सजिलो लाग्छ त्यही ।’
कसैले ‘कस्ती राम्री’ भनिदिँदा त खुशी लाग्दो हो नि ?
लाग्दैन, चेपारे घसे जस्तो लाग्छ, हौ । गीत कस्तो राम्रो भन्दा बरु खुशी हुन्छु । तिम्रो गीत सुनेर छोरीचेली ‘स्ट्रङ’ भइरहेका छन् भन्दा ‘कम्पिलिमेन्ट’ दिए जस्तो लाग्छ ।
आस्थाको मन जित्न युवाहरूले आम फर्मुलामा परिवर्तन गर्नुपर्ने भयो ?
मेरा हकमा केटीलाई प्रभाव पार्ने आम फर्मुला लागू हुँदैन । फरक तरिकाले कोही आ’कै छैन ।
कस्ता केटाले प्रभाव पार्छन् त ?
‘सूरत र सीरत’ दुवै भएको चाहियो । खासमा मान्छेहरू बाठा भइसके अचेल । अरूलाई प्रभाव पार्न त्यस्तै देखाउँछन् एक समयसम्म । अलिकति राम्रा केटाहरू घमण्डी हुन्छन् । दुईचार पैसा कमाउने, अनुहार परेको र स्टाइल पार्न जान्नेलाई ‘एप्रिसिएट’ गर्न त सकिन्छ । तर, समय आएपछि तिनीहरूले बेहोरा देखाइहाल्छन् । त्यसपछि सुन हो कि सुनको जलप हो मनको कसीले जाँच्दा थाहा भइहाल्छ । मलाई सुन लाउने होइन, गुन लाउने मान्छे चाहिन्छ ।  
सुन भनेर आउनेहरू तपाईंको मनको कसीले जाँच्दा पित्तल ठहरिए कि ?
झन्डै–झन्डै त्यस्तै । जाँचेर चाहिँ हिँड्दिनँ । तर, एक ‘प्वाइन्ट’मा आएपछि जलप लगाएको वा बेसार दलेको थाहा भइहाल्छ । मैले जस्तो माया सोच्थेँ सानैदेखि, त्यस्तो माया केटाबाट पाइएको छैन । त्यस्तो निःस्वार्थ माया कि त दर्शक–स्रोताले मात्रै गरे कि आमाबाबाले ।
एक समयमा पुगेर कसै न कसैलाई विश्वास त गर्नैपर्ला ?
ममी भन्नुहुन्छ, ‘हामी सधैँ सँगै हुँदैनौँ । एउटा बिन्दुमा साथीको आवश्यकता हुन्छ ।’ उहाँलाई  ‘मेरो कान सानो छ, मै चाँडो जान पनि सक्छु नि’ भन्दिन्छु । कान सानो हुनेको आयु कम हुन्छ भन्ने एउटा अन्धविश्वास छ नि समाजमा । त्यसमा मेरो विश्वास होइन । टार्नलाई एउटा तर्क मात्रै । तर, जे भने पनि एकपल्ट गर्नैपर्छ । त्यसो हुँदा म आगो हुँदा ऊ पानी हुने टाइपको होस् । मभन्दा ‘इन्टलेक्चुअल’ होस् । म त आफूले आफैँलाई सम्हाल्न सक्दिनँ, उसले सम्हालोस् । पैसा–पैसा नभनोस् । प्रकृतिप्रेमी होस् । देशलाई माया गर्ने होस् । ‘विवाह भन्ने लड्डु खाँदा पनि पछुताउने हुन्छ, नखाए पनि पछुताउने’ भन्छन् ।
साथीसंगत केटाहरूकै बढी छ रे !
केटाहरूसँग त म केटाजस्तै हुन्छु । मलाई पवित्र साथीकै रूपमा हेर्दासम्म म राम्रो साथी हो । त्यस बीचमा कोही केटाले साथी बनाइहाल्ने र पायो भने घुमाइहाल्ने खालको बेहोरा देखायो भने त दोस्तीसोस्ती खत्तम पारेर डाङडुङ पार्छु । प्लस टूमा पढ्दा केटाहरू केटीको कुरा काट्थे । मलाई छेउमा देखेपछि भन्थे, ‘यो त केटाजस्तै हो, उता कुरा लगाउँदैन’ । तर, मन त केटीहरूकै छ । हिन्दी फिल्म ‘कुछ कुछ होता है’को काजोल जस्तो लाग्छ आफू ।

केटाहरू प्रेम प्रस्ताव राख्नै डराउँथे होलान् ?
सानोमा त कसैले मन परायो भने बाझ्न जाने गर्थें । कतिले त कमान्डो भन्थे मलाई । एउटा केटाले मन पराएछ पोस्टकार्ड दियो । यसो हेरेँ ठीकै छ भनेर लिइदिएँ । त्यसभित्र त लेखेको रहेछ, ‘सिसीभित्र सेन्ट छ खोल्ने कसरी, मुटुभित्र माया छ बोल्ने कसरी ?’ भोलि स्कुल आएपछि थर्काउने योजना थियो । ऊ पहिल्यै डराएर स्कुल आउनै छाड्यो । त्यतिबेला म ब्याचलरमा पढ्ने दाइहरूलाई मन पराउँथेँ । तर, उनीहरूले भने फुच्ची भनेर वास्तै नगर्ने ।


 

Leave A Comment