नेपाली चलचित्रहरूले छुवाछूत प्रथा, अनमेल विवाह, बुहार्तन र शोषण उत्पीडनको विरोध गरे । मागी विवाहका ठाउँमा प्रेम विवाहको वकालत गर्दै वैयक्तिक स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायका पक्षमा आवाज उठाए । विषयवस्तुका दृष्टिले सामाजिक अन्तर्विरोधको त्यस्तो चोखो क्षेत्र अब बाँकी छैन होला जसलाई नेपाली चलचित्रले आजपर्यन्त नछोएको होस् । नारीवाददेखि माओवादसम्मका प्रायः सबै विषयवस्तुमा चलचित्र बनिसकेका छन् ।
वर्गीय, जातीय, लिंगीय वा क्षेत्रीय अन्तर्विरोधहरू नेपाली समाजका त्यस्ता महŒवपूर्ण अन्तर्विरोध हुन् जसका कारण मानिसहरू दशकौँदेखि संघर्षमा छन् । यिनै अन्तर्विरोधलाई हल गर्ने प्रयासका क्रममा वैधानिक वा अवैधानिक प्रकृतिका अनेकौँ संघर्ष भए । ती सबैको एकीकृत परिणतिका रूपमा एक दशक लामो जनयुद्ध भयो । मधेश आन्दोलन र महिला तथा जनजातिका अनेकौँ आन्दोलन भए । यी अन्तर्विरोधलाई नेपाली समाजले सधैँ महŒव दियो । आज पनि यिनै मुद्दा नेपाली राजनीतिको केन्द्रमा छन्, सञ्चार माध्यमको केन्द्रमा छन्, चिया पसलको बहसमा पनि यिनै मुद्दा केन्द्रमा छन् । तर, यिनै मुद्दामाथि बनेका चलचित्र भने बहसमा आउन सकेका छैनन् ।
जनयुद्धका कारण देशैभरि तरंग आउँछ, अन्तर्राष्ट्रिय क्षेत्र समेत तरंगित हुन्छ तर जनयुद्धमाथि बनेको चलचित्र कहिले आयो र कहिले गयो, धेरैलाई थाहा छैन । जनजाति वा मधेश वा महिलाका हकमा पनि यस्तै छ । समाजलाई गहिरोसँग प्रभावित गर्ने मुद्दामाथि बनेका चलचित्र पनि बहसमा आउन सकेका छैनन् । किन ? यस्ता चलचित्रले समाजलाई तरंगित गर्न किन सक्दैनन् ? चलचित्रमा त्यस्तो कुन कुराको कमी छ जसले गर्दा मानिसहरूको ध्यानाकर्षण हुन सकेको छैन ?
यसरी ध्यानाकर्षण हुन नसक्नुका कारणमध्येको एउटा महŒवपूर्ण कारण हो– विषयको वस्तुकरण । नेपाली चलचित्रले संवेदनशील विषयलाई पनि विषयकै रूपमा बाँच्न दिएनन्, त्यसलाई अभिव्यक्तिको माध्यम बनाएनन् बरु वस्तु बनाएर बेच्न खोजे । जनयुद्धलाई कस्तो बनाएर पसल थाप्यो भने बिक्ला र धेरै कमाउन सकिएला भन्नेमा ध्यान गयो । ‘लालसलाम’ बन्यो, ‘जनयुद्ध’ र ‘उमा’हरू बने । यही भयो । निर्देशकको मनोगत आग्रह र बजारको रुचि भनेर अनावश्यक सामग्री थोपर्ने काम भयो । त्यसको भित्री यथार्थलाई अभिव्यक्त गर्ने कुरामा ध्यान गएन । जनजातिलाई कस्तो रङ पालिस लगायो भने बिक्ला वा महिला अधिकारको मुद्दालाई कसरी काँटछाँट गर्दा नाफा कमाइला भन्नेमा ध्यान गयो ।
बेच्न खोज्नेले बजारलाई ध्यानमा राखेर चलचित्रको विषयमाथि फुलबुट्टा भर्छ । काँटछाँट, रङ पालिस र फुलबुट्टाले सिँगार्दासिँगार्दै विषयवस्तु विकृत भइदिन्छ । विषयको मौलिकता र संवेदनशीलता सिद्धिन्छ । जुन चलचित्र हेर्दा पनि एउटै प्रयास हुन्छ दर्शकलाई मनोरञ्जन मिलोस् । मनोरञ्जन मिलोस् भन्ने ठान्नु नै त गलत नहोला तर दर्शकले रुचाउने बनाउनका लागि जुनसुकै विषयलाई विकृत पार्न पनि ठीक पर्नु, कमेडी बनाउँदा बिक्छ भन्ने नाममा जुनसुकै विषयमाथि मजाक गरिदिनु चाहिँ अभिव्यक्तिको सही तरिका नहोला ।
चलचित्रमा व्यावसायिक विशेषता र शक्ति दुवै छ । चलचित्रले पैसा कमाओस् भन्ने चाहना सबैमा हुन्छ । तर, यहाँ छलफल गर्न खोजिएको कहाँ हो भने कुनै पनि रचना, सिर्जना वा चलचित्रको मुख्य उद्देश्य के हो ? अभिव्यक्ति हो कि व्यापार हो ? कुनै विषयलाई सर्जकले अभिव्यक्त गर्नका लागि चलचित्र बनाउनु र उक्त विषय बिक्छ भनेर व्यापारका लागि चलचित्र बनाउनुमा अन्तर होला कि नहोला ? कसैले कसैसँग प्रेम गर्छ । प्रेम भावनाको अभिव्यक्ति हो । प्रेमी–प्रेमिकामा सबै खालका सहयोग हुन्छन्, आर्थिक सहयोग पनि हुन्छ । तर, पैसा कमाउनका लागि कोही प्रेम गर्छ भने त्यसलाई के भन्ने ?
बस्नका लागि बनाइएको घर र बेच्नका लागि बनाइएको घरमा जुन अन्तर होला चलचित्रमा पनि त्यही हो । आफूले खानका लागि बनाइएको खाना र बेच्नका लागि बनाइएको खानाको जस्तै अन्तर हो । बेच्नका लागि बनाइएको सामग्रीमा बाहिरी आकर्षण जति हुन्छ गुणवत्ता त्यत्तिकै कम । मतलब के भने आजको बजारमा जुन कुरा बिक्रीका लागि भनेर तयार गरिन्छ, त्यसमा निर्माताको आत्मिक लगाव, नैतिक शक्ति र संवेदनशीलता कम हुन्छ, त्यहाँ ग्राहक फकाउने वा झुक्याउने मनोविज्ञानले काम गरेको हुन्छ ।
जसले बेच्नैका लागि चलचित्र बनाउँछ उसका दिमागमा दर्शकहरू मानिस रहँदैनन्, उपभोक्ता बन्छन् । मानिस हुनु र उपभोक्ता हुनु एउटै कुरा होइन । मानिसले बजारमा आएका सबै कुरा किन्ने रहर गर्दैन । कुनै कुरा किन्ने कि नकिन्ने, कति पैसा तिरेर कस्तो कुरा किन्ने भन्नेमा सोच्छ, सोच्नका लागि मान्छेसँग दिमाग हुन्छ, विवेक हुन्छ । उपभोक्तासँग दिमाग हुँदैन, तर वस्तुहरू किन्नका लागि उससँग पैसा हुन्छ । जब निर्देशकको ध्यान दिमाग भएको मान्छेतिर नगएर मान्छेको गोजीको पैसातिर जान्छ, तब हामी सजिलै अनुमान गर्न सक्छौँ, ऊ कस्तो खालको चलचित्रकर्मी हो ? ऊ कस्तो खालको सर्जक हो, उससँग कस्तो प्रकारको संवाद सम्भव होला ?
नेपाली चलचित्र यहीँनेर चुकेको छ । कुन विषय बिक्ला, कुन कलाकार बिक्ला भन्नेमा चासो छ । विषयको अभिव्यक्तिभन्दा पनि त्यसलाई बेच्ने कुराप्रतिको रुचि ज्यादा छ । जे भेटे पनि बेच्ने वा जुन धेरै बिकेको देखिन्छ, त्यसैलाई किनेर आफूले बेच्ने । कुनै चलचित्र वा कलाकारको कलाकारितालाई निर्धारण गर्ने तŒव बजार भएको छ । माघे संक्रान्तिमा तरुलको भाउ भएझैँ, तिहारमा मालाको भाउ भएझैँ हिजो राजेश हमालको भाउ थियो, आर्यन सिग्देलको भाउ थियो, आज दयाहाङको भाउ छ । हिजो क्षत्रीबाहुनको भाउ थियो, आज जनजातिको भाउ छ । भाउ तोक्ने काम बजारले गरिराखेको छ ।
बजारमा संवाद हुँदैन, दलाली हुन्छ । वस्तुहरूको मोल तोक्ने र किनबेच गर्ने काम हुन्छ । यहाँ एउटाले अर्कालाई सकेको जति ठग्ने हो, झुक्याउने हो । जे बिक्छ त्यही बेच्ने र जतिसक्दो छिटो धनी बन्ने हो । जब चलचित्रकर्मीहरू पनि सेयर बजारका व्यापारीजस्तै धनी बन्ने दौडमा कुद्न थाल्छन् र मानिसका सुख–दुःखलाई बिक्रीको वस्तु देख्छन् तब उनीहरूले अभिव्यक्तिको क्षमता गुमाउँछन् । आफ्नै कामको महŒव र त्यसको प्रभावमाथि गम्भीरतापूर्वक सोच्ने र विचार बनाउने धैर्य उनीहरूमा हुँदैन, न त समाजप्रतिको चासो र चिन्ता नै हुन्छ । जसले समाजको चासो राख्दैन, समाजले त्यसको चासो किन राखोस् ?
Leave A Comment