हस्तकलाबाट आत्मनिर्भर महिला

शनिबार, १८ मङि्सर २०७३, ०४ : ०१ सृजना खड्का , Kathmandu
हस्तकलाबाट आत्मनिर्भर महिला

मंसिर १० गतेदेखि १४ गतेसम्म भृकुटिमण्डपमा भएको १४ औँ हस्तकला व्यापार मेला एवम् १२ औँ हस्तकला प्रतियोगिता आयोजना भएको थियो । काष्ठकला, धातुकला, सुनचाँदी, ऊनी, सुती, ढाकाका सामानका साथै पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामान तथा जडीबुटी मेलाको प्रमुख आकर्षण बनेको थियो । मेलामा  हस्तकला संघमा आबद्ध करिब २५ जिल्लाका सदस्य उद्यमी व्यवसायीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
मेलामा सात पोभिलियनसहित १ सय ७६ वटा स्टल रहेका थिए । हस्तकला महासंघले हस्तकलाका ४२ भन्दा बढी सामग्री अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, नेदरल्यान्डका साथै एसियाली मुलुक जापान, चीन र भारतलगायत ८० भन्दा बढी मुलुकमा निर्यात गर्ने जानकारी नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले दिए । उनका अनुसार हस्तकलाको व्यापार पहिलाको भन्दा अहिले फस्टाउँदै गएको छ ।
हस्तकला प्रतियोगितामा यस वर्ष ‘धातुपत्र कला’ र ‘ऊनको कला’ लाई समेटिएको थियो । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५०, ३० र २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
नेपालमा भएका मौलिक हस्तकलाका सामग्रीलाई एकै छानामुनि राखेर बिक्रीवितरण र प्रचारप्रसार गर्ने उद्देश्यले हस्तकला मेलाको आयोजना गरिएको शाक्यको भनाइ छ । ‘नेपालमा मात्र होइन विदेशमा समेत यस प्रकारको कलाको बजारीकरण गर्नका लागि हरेक वर्ष यस्तो मेलाको आयोजना गर्ने गरेका छौँ,’ उनले भने ।
०००
हस्तकला उद्योगले धेरै नेपाली महिलाको जीवन परिवर्तन गरिदिएको छ । आफूसँग भएको सीपले उनीहरूलाई आत्मनिर्भर बनाएको छ । आर्थिक रूपमा सबल बनाएको छ । सुदूरपश्चिमी जिल्ला दार्चुलाकी ३० वर्षीया जोगेनी मन्याल हस्तकलाबाट आफ्नो जीवन परिवर्तित भएको बताउँछिन् । ‘हस्तकलाको कामले मेरो जीवन नै परिवर्तन गरिदिएको छ । १२ वर्षको उमेरमा बिहे भयो, १६ वर्षमा छोरी जन्मिइन्,’ जोगेनी भन्छिन्, ‘हस्तकलाकै कामबाट आफ्नो र छोरीको पेट पालिरहेकी छु ।’ दार्चुलाको ‘भूमिराज अल्लो प्रशोधन तथा बुनाइ साझा सुविधा केन्द्र’मा उनी काम गर्छिन् । त्यस केन्द्रमा ६७ जना महिला र ११ जना पुरुषले काम गरिरहेको जोगेनीले बताइन् । विभिन्न स्वदेशी तथा विदेशी संस्थाको सहयोगमा सञ्चालन भइरहेको यस केन्द्रमा उनीहरूले अल्लोको डाँठ पकाइ त्यसलाई कुटेर एक प्रकारको धागो निकाल्छन् । जसबाट विभिन्न प्रकारका झोला, कोट, सर्ट र स–साना पर्स बनाउँछन् । गाउँमा चार रोपनी जग्गामा अल्लोको खेती गरिरहेको जोगेनी बताउँछिन् ।
‘पहिला म गिट्टी कुट्ने, भारी बोक्नेलगायत ज्यालादारी काम गर्थें  । ती काममा मेहनत बढी गर्नुपथ्र्यो र पैसा कम पाइन्थ्यो,’ उनी भन्छिन्, ‘तर, हस्तकलाबाट काम र दाम दुवै राम्रो पाएकी छु ।’  मेलामा आफ्नो सीपलाई यति धेरै मानिसले हेरेर मन पराउँदा खुशी लागेको उनी बताउँछिन् । ‘यसलाई आफ्नो जीवनको ठूलो उपलब्धि ठानेकी छु,’ जोगेनी भन्छिन् ।
दार्चुलाकी दामा ठगुन्नाले एसएलसीमा फेल भएपछि पढाइ छोडिन् । पढाइ छोडेपछि उनले हस्तकलाको तालिम लिइन् । ‘कि त पढ्नु प¥यो कि हातमा सीप हुनुप¥यो । फेल भएपछि पढ्न मन लागेन । त्यसैले जीवन धान्नका लागि सीप सिकेँ,’ उनी भन्छिन्, ‘यसै सीपले मलाई आत्मनिर्भर बनाएको छ ।’
नवलपरासीकी क्षेत्रकुमारी चौधरी हस्तकलाले आफूलाई आर्थिक रूपमा मजबुत बनाएको बताउँछिन् । ‘पहिला आफूसँग पैसा नहुँदा मन परेको चुरा किन्न पनि श्रीमान्को मुख ताक्नुपथ्र्यो । अहिले महिनामा दुई÷चार वटा तालिम दिएकै भरमा २५ देखि ३० हजार कमाउँछु,’ उनी भन्छिन् । पटेर भन्ने घाँसबाट उनी लगायत १९ जना महिलाको समूहले मुढा, सुकुल, गुन्द्री, चकटी, झोलालगायत सामान बनाउने गरेका छन् । आफूहरूले गाउँमा पाँच बिघा जमिनमा पटेर खेतीसमेत गरेको उनको भनाइ छ । नवलपरासीको ‘त्रिवेणी पटेर अन्तर लघु उद्यमी समूह’ले आफूजस्ता धेरै महिलालाई आत्मनिर्भर बनाएको चौधरीले बताइन् ।
ललितपुरको ‘सभा नेपाल’ संस्थाबाट मेलामा सहभागिता जनाउन आएकी गंगा श्रेष्ठले ढाका बुन्ने काम गर्छिन् । आफूले नपढे पनि डिजाइन पढेका धेरै विद्यार्थी आफूसँग सिक्न आउने उनले बताइन् । ‘मानिसको सीप नै सबथोक हो । सीप भएपछि बाँच्न गाह्रो हुँदैन,’ उनी भन्छिन्, ‘मैले डिजाइनसिजाइन केही पढेकी छैन । तर, डिजाइन पढ्ने धेरै विद्यार्थी मसँग ढाका बुन्न सिक्न आउँछन् ।’
‘लहना हस्तकला उद्योग’ भैसीपाटी, ललितपुरकी रमिता महर्जन कागजबाट सजावटका सामग्री बनाउँछिन् । सजावट, दैनिक जीवनमा प्रयोग हुने र स्टेसनरी सामान बनाउने उनी आफ्नो पेशाबाट सन्तुष्ट भएको बताउँछिन् ।

 

Leave A Comment