किम्फमा २० देशका ८६ फिल्म

बिहिबार, २३ मङि्सर २०७३, १२ : २७ शुक्रवार , Kathmandu
किम्फमा २० देशका ८६ फिल्म

मंसिर २३ गतेबाट काठमाडौँमा ‘काठमाण्डू इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल’ (किम्फ) सुरु हुँदैछ । प्रत्येक वर्ष आयोजना हुँदै आएको फेस्टिभलमा यो वर्ष नेपाली प्यानारोमातर्फ १६ गरी २० देशका ८६ फिल्म प्रदर्शन गरिनेछन् ।
आयोजकका अनुसार नेपाली प्यानारोमातर्फ ३१ वटाको आवेदन परेकोमा १६ वटा छानिएका थिए । कुमारी र रसियन कल्चर सेन्टरमा सुरु हुने फेस्टिबलको पहिलो दिन दीपक रौनियारको ‘सेतो सूर्य’को विशेष प्रदर्शनी हुँदैछ ।

फेस्टिबलमा भूकम्प, नाकाबन्दी, महिला हिंसालगायत विषयका डकुमेन्ट्री, डकुड्रामा र सर्टमुभी आकर्षणका विषय बन्ने संयोजक रम्मेता लिम्बूले जानकारी दिइन् ।

फेस्टिबलमा नवीन भट्टको ‘राइज एन्ड फल’, गोविन्दप्रसाद पोखरेलको ‘सिमलको भुँवाजस्तै’, प्रदीप पोखरेलको बारपाक सम्बन्धी डकुमेन्ट्री, श्याम कार्कीको ‘ब्लकेड’, देवकी विष्टको देउकी प्रथामाथि बनेको डकुमेन्ट्री ‘देवकी इन सर्च अफ देवी’ लगायत डकुमेन्ट्री प्रदर्शन हुँदैछन् ।
‘विभिन्न विषयका फिल्मलाई प्रदर्शनका लागि अवसर दिएका छौँ,’ पर्यटन बोर्डमा आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘छानिएका फिल्मले नेपाली फिल्म मेकिङमा लाग्न चाहनेलाई प्रोत्साहित गर्ने आशा छ ।’

किम्फका अध्यक्ष वसन्त थापाले डकुमेन्ट्रीले समाज बुझाउन सघाउने भएकाले कतैबाट आर्थिक सहयोग नभए पनि शुभेच्छुकको साथ र दर्शकको मायाका कारण हरेक वर्ष फेस्टिबल आयोजना गर्ने गरेको बताए ।

फेस्टिबलमा प्रथम हुने फिल्मले १५ सय डलर, दोस्रो हुनेले एक हजार र तेस्रो हुनेले पाँच सय अमेरिकी डलर प्राप्त गर्ने छन् । नेपाली प्यानोरामातर्फ विजेता हुने फिल्मले पचास हजार रुपैयाँ पाउनेछन् । सिनेम्याटोग्राफी, कथा र प्रस्तुतिका आधारमा फिल्म चयन गरेको ज्युरी सदस्य कवि विप्लव प्रतीकले जानकारी दिए ।

सन् २००० बाट सुरु भएको किम्फ सन् २००७ बाट वार्षिक रूपमा आयोजना हुँदै आएको छ । कुमारी हलमा पाँच दिनसम्म चल्ने फेस्टिबलको १२ डिसेम्बरमा समापन हुनेछ ।

 

Leave A Comment