‘म फन्डा गर्दिनँ, आफैँ भइदिन्छ’

शुक्रबार, २४ मङि्सर २०७३, १२ : १० शुक्रवार , Kathmandu
‘म फन्डा गर्दिनँ, आफैँ भइदिन्छ’

रेखा थापालाई आठ अभियोग                                        

अभिनेत्री रेखा थापाले १४ वर्षअघि फिल्म ‘हिरो’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । उनी आफूलाई नेपाली फिल्मको ‘हिरो’ मान्छिन् । नेपाली फिल्म क्षेत्रमा सुनिने कुराका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिइन्ः

तपाईं स्वार्थी मान्छे हो । मान्छेहरूलाई प्रयोग गरिसकेपछि तपाईं आँपको कोयो फ्याँकेजसरी फ्याँक्नुहुन्छ ?
यो दुइटा अर्थमा हुन्छ । मसँग नजिक हुने त्यो व्यक्ति जो आफैँमा विश्वासी र इमानदार छैन, त्यसले मलाई कहिले पनि चिन्न सक्दैन । मलाई लाग्दैन मैले आजसम्म कसैसँग स्वार्थपूर्तिका लागि काम गरेको छु । पुण्य नै गरेको छु जस्तो लाग्छ । अर्को कुरा, म जो व्यक्तिलाई फिल्ममा लिन्छु, व्यवसायमा लिन्छु या सहयोग गर्छु, तिनीहरूलाई म जिन्दगीभर सँगै च्यापेर हिँड्न त सक्दिनँ नि । उनीहरू आफैँ पनि आफ्नो खुट्टामा उभिन सक्नुपर्छ । अन्त्यमा, मलाई यो आरोप लाउनेहरूसँग मेरो एउटै जवाफ छ– ‘तपाईंहरूबाट मलाई चिन्न गल्ती भएको हो ।’

तपार्इंका पछिल्ला फिल्म स्तरीय बनिरहेका छैनन् तर स्टारडमका भरमा चलिरहेका छन् ?
यो म स्विकार्छु । सँगसँगै एउटा उदाहरण पनि दिन चाहन्छु– म विराटनगरबाट मिस नेपालका लागि सहभागी हुन आउँदा पहिलोपल्ट मैले पिज्जा खाएकी थिएँ । मलाई त्यसको स्वाद मन परेको थिएन । त्यो पिज्जाभन्दा त मैले खाँदै गरेको मःमः र थुक्पा नै मलाई मीठो लाग्थ्यो । किनकि, मलाई यसमा बानी भइसकेको थियो । बिस्तारै साथीभाइ सर्कलमा पिज्जा र बर्गर अर्डर गर्नेहरू मात्र भएपछि मलाई पनि बानी लाग्यो । अहिले मेरो बेस्ट फुड पिज्जा भएको छ । त्यस्तै मैले एक दशकअघिदेखि जुन किसिमले फिल्म गर्दै आइरहेको थिएँ, त्यसमा अचानक परिवर्तन गरेपछि दर्शकको अपेक्षा मिट नगरेको हुन सक्छ । फिल्म ‘रामप्यारी’ मैले एउटा समूहका दर्शकका निमित्त बनाएको थिएँ । अब चाहिँ मेकिङ, कथा सम्पूर्ण हिसाबले सबै दर्शकका लागि फिल्म बनाउँछु । त्यसकै तयारीमा जुटिरहेकी छु ।

तपार्इंले आफ्ना फिल्मलाई सधैँ नारीप्रधान भनेर प्रचार गर्नुभयो । तर, तपाईंका फिल्मले महिलाका जल्दाबल्दा मुद्दा र एजेन्डा बोक्न सकेनन्, बढी कर्मसियल भए ।
कर्मसियल फिल्म नै बनाएको हो मैले । मैले महिलाकै एजेन्डा बोकेको हो । तर, पूर्ण रूपमा एजेन्डालाई प्राथमिकता दिएको होइन । त्यसो ग¥यो भने त डकुमेन्ट्री बन्छ । मनोरञ्जन पनि त चाहियो नि । मनोरञ्जन लिँदालिँदै दर्शकको दिमागमा सन्देश पनि पसोस् भन्ने हिसाबले फिल्म बनाउँछु ।

तपार्इं फिल्म चलाउनका लागि अनेक ‘फन्डा’ अपनाउनुहुन्छ । ‘हिम्मतवाली’ ताका त सुदर्शन गौतमसँगको अफेयरले राम्रै चर्चा बटुल्यो ।
‘हिम्मतवाली’ ताका चाहिँ फन्डा गरेजस्तै भयो । मैले पहिलोचोटि फरक क्षमता भएको व्यक्तिलाई फिल्ममा हिरो बनाएर ल्याएकी थिएँ । पुष्ट शरीर भएका व्यक्ति मात्र हिरो हुन्छन् भन्ने परिपाटीलाई तोड्न खोजेकी थिएँ । फरक क्षमता भएका मान्छेलाई पनि ऊर्जा मिलोस् भन्ने उद्देश्य थियो । सुदर्शन हिजो पनि मेरो राम्रो साथी थियो, आज पनि छ । हामीबीच प्रेम छ तर अरूले सोचेजस्तो होइन । हाम्रो देशमा लाखौँ फरक क्षमता भएका मानिस छन् । उनीहरूमाझ माया–प्रेम जोसँग गर्दा पनि हुन्छ, यसको कुनै मापदण्ड हुँदैन भन्ने प्रकारको म्यासेज पनि जाओस् भनेर हामीले प्रेमको चर्चा चलाएका हौँ । तर, त्यही गरेर फिल्म हिट बनाउने लक्ष्य भने थिएन । हामीले गरेको फन्डा भनेको त्यही बेला मात्र होला । खासमा म फन्डा गर्दिनँ, आफैँ भइदिन्छ ।

तपाईं असाध्यै घमण्डी हुनुहुन्छ । त्यसैले थुप्रै अभिनेता–अभिनेत्रीसँग तपार्इंको सम्बन्ध राम्रो रहन सकेन । उदाहरणका लागि– आर्यन सिग्देल, निखिल उप्रेती, विराज भट्टलगायत ।
हो, म घमण्डी छु । लल्याकलुलुक्क हुने, मक्ख परेर हेर्ने खालको क्यारेक्टर होइन मेरो । म आत्मनिर्भर महिला हुँ । म आफ्नो क्षमता र प्रतिभामा विश्वास गर्ने मान्छे हो । नरम हुनुपर्ने ठाउँमा नरम पनि छु । होइन भने समाज सेवामा लाग्दिनँ थिएँ होला । मलाई लाग्छ– प्रत्येक मान्छेमा घमण्ड त हुन्छ । त्यो क्षमताको आधारमा हुन्छ । क्षमतावान् व्यक्तिलाई सधैँ परबाट हेर्ने मान्छेले घमण्डी देख्छ । क्षमताविहीन मान्छेहरूले चाकरी गर्छन् । म आफ्नो क्षमतामा विश्वास गर्छु, कसैसँग झुक्दिनँ । त्यसैले घमण्डी भन्छन् । मैले फिल्म क्षेत्रमा ल्याएका कलाकारहरूसँग म आफैँ झुकेर बोल्न जाने कुरा हुन्न । म त्यति नरम हुन सक्दिनँ । किनकि, म आफ्नो क्षमतामा विश्वास गर्छु ।  

नेपाली फिल्ममा थुप्रै प्रतिभाशाली अभिनेत्रीहरूको प्रवेश भइरहेको छ । तर, तपाईं अझै आफूलाई ‘नम्बर एक’ भन्न रुचाउनुहुन्छ ।
मैले रुचाउने होइन । पब्लिकले भन्ने हो । व्यक्ति आफैँले म यस्तो बन्छु भनेर बन्न पाउने भए त म राष्ट्रपति बन्थेँ, प्रधानमन्त्री बन्थेँ । म आफैँलाई त म यो विश्वकै पिता हो जस्तो लाग्छ नि । तर, यो त दर्शकले भन्ने, निर्णय गर्ने कुरा हो । लोकसेवा भर्दा त क्षमताको आधारमा चयन गरिन्छ भने हाम्रो प्रतिभा त मासमा जाने कुरा हो । त्यसै नम्बर वान हुन पाइन्छ र ? यो त पब्लिकले बनाउने हो ।

७ आफ्ना पोल्टामा परिञ्जेल तपार्इंले नेपाली फिल्म अवार्डलाई कहिल्यै गाली गर्नुभएन । आफूले पाउन छाडेपछि चाहिँ अवार्ड बहिष्कारको नीति अपनाउनुभयो ?
त्यस्तो होइन । मलाई लाग्छ– मेरो एउटा स्थान बनिसकेको छ । भर्खरै आएका बहिनीहरूसँग मेरो प्रतिस्पर्धा हुनुहुँदैन भन्ने मेरो मान्यता हो । किनभने, उनीहरूले पनि अवसर पाउनुप¥यो । मलाई उनीहरूसँग प्रतिस्पर्धा गर्नु चाहिँ त्यति शोभा दिन्छ जस्तो लागेन । अवार्डमा सहभागी भए भने त आँखा चिम्लेर मलाई पपुलर अवार्ड त दिन्छन् नि हौ । भोटिङ गर्दा पनि थाहा हुन्छ । तर, मैले दुई वर्षअघि म अब अवार्डमा सहभागी हुँदिनँ भन्नुको मतलब चाहिँ नयाँ मान्छेले पनि अवसर पाउनुपर्छ भनेर थियो । म जहाँ कार्यक्रममा जान्छु, त्यहाँ हजारौँ मान्छे आउनुहुन्छ । मेरो लागि त यही हो अवार्ड ।  

पछिल्लो समय अरूको ब्यानरमा कामै गर्न छाडिसक्नुभएको थियो । तर, सधैँ ‘हिरो’का रूपमा प्रस्तुत भइरहेको तपार्इं अचानक डायरीमा ‘भिलेन’ बन्न तयार हुनुभयो । प्रतिस्पर्धा बढेपछि मात्र तपाईंले आफ्नो अभिनयमा विविधता चाहिएको महसुस गर्नुभएको हो ।
त्यस्तो चाहिँ होइन । म अलिकति इमोसनल केटी पनि हुँ । छुल्ठिम गुरुङ मेरो धेरै वर्षअघिदेखिको साथी हो । उसले केही गर्छु भन्ने भावना बोकेर मकहाँ आई । हिजो पनि मैले महिलाले बनाएको फिल्ममा दुई सिन हुँदा पनि काम गरेको छु । मैले छुल्ठिमलाई प्रोत्साहित गर्नलाई काम गरेकी हुँ । फेरि, फिल्मको कथा पनि राम्रो लाग्यो । दुईतीनटा क्यारेक्टर थियो जुन मलाई निर्वाह गर्ने पहिलेदेखिको रहर थियो । एउटा भिलेन जुन यो फिल्मबाट पूरा हुँदैछ । अर्को ‘पागल’ र ‘वेश्या’को भूमिका । कृषा चौलागाईंको ‘पलाँस’ पनि मैले महिलाको फिल्म भएका कारणले काम गरेकी हुँ । सविन श्रेष्ठको फिल्ममा काम गर्नुको कारण चाहिँ उसलाई मैले आफँै फिल्म क्षेत्रमा ल्याएको कलाकार भएकाले हो । अरू अफर गर्नेहरू त धेरै छन् । तर, सबै फिल्म गर्दिनँ म ।

 

Leave A Comment