विज्ञापनको सरोकार

शनिबार, २५ मङि्सर २०७३, १० : ३४ माधव ढुङ्गेल , Kathmandu
विज्ञापनको सरोकार

बिहान आँखा खुल्नेबित्तिकै हाम्रो आँखा विज्ञापनमा पर्छ । चियाको चुस्की लिँदै गर्दा अखबारका विज्ञापनको दर्शन मिल्छ । घरबाहिर निस्केपछि पनि हामीलाई विज्ञापनले नै घेरेका हुन्छन् । सडकमा, भित्तामा जतासुकै । फिल्म हलदेखि विद्यालय वा क्याम्पससम्म । चियापसलदेखि सवारी साधनमा समेत विज्ञापनकै संसार छ । राती ओछ्यानमा पनि ननिदाउन्जेल विज्ञापनले छोड्ने होइन । एउटा शहर छोडेर अर्को शहर जाँदा पनि हालत उस्तै छ । देशै छोडेर जाने हो भने पनि विज्ञापनले छोड्नेवाला छैन । यसर्थ विज्ञापन हाम्रो जीवनसँग राम्रैसँग गाँसिइसकेको छ ।
पत्रिकामा, टीभीमा, रेडियो वा इन्टरनेटमा जसरी विज्ञापन छाएको छ, त्यो वनमारा झारभन्दा कम्ती छैन । वनमारा झार आफैँ उम्रिन्छ, यसलाई धेरै परिश्रम गरेर बनाइन्छ र पैसा तिरेर सञ्चार माध्यममा पठाइन्छ । सबैलाई थाहा छ, यो पठाउने काम उत्पादकहरूले आफ्ना उत्पादन बिक्रीका लागि गर्दछन् ।
उत्पादनका बारेमा उपभोक्तालाई जानकारी दिनुलाई विज्ञापनको काम भनिन्छ । उपभोक्ताको अवचेतन मनमा आफ्ना उत्पादित वस्तुप्रति अपनत्वको भाव जगाउनु र सुरुचिपूर्ण छाप छोड्नु विज्ञापनको मूल उद्देश्य हो । विलियम वेलबेकरका विचारमा विज्ञापन सूचना सम्प्रेषण गर्ने त्यस्तो साधन हो जसले उपभोक्तालाई विज्ञापनदाताकै ढाँचामा सोचून् वा व्यवहार गरून् भन्ने उद्देश्य राखेको हुन्छ ।
उपभोक्तालाई विज्ञापनकर्ताको इच्छा वा विचारसँग सहमत गराउन वा उपभोक्ताको काम र व्यवहारलाई आफ्नो अनुकूल बनाउन विज्ञापनमा मनोरञ्जन तŒव घुसाइएको हुन्छ । गीत वा कविताका पंक्ति राख्नु, नृत्य वा अभिनयका साथमा सन्देशलाई पेस गर्नुको खास कारण मनोरञ्जन नै हो । मनोरञ्जनका साथमा कुनै वस्तुको तस्बिर, नाम वा दृश्य मस्तिष्कमा प्रवेश गरेको छ भने उपभोक्ता वा ग्राहकले उक्त मनोरञ्जनात्मक दृश्य, अभिनेता आदिलाई मात्रै होइन, त्यससँग जोडिएर देखिने उत्पादित वस्तुलाई पनि माया गर्न थाल्छन् ।
विज्ञापनमा कुनै प्रसिद्ध व्यक्ति वा चलचित्र, खेलकुद आदि क्षेत्रका सेलिब्रिटीको प्रयोग गर्नुको पनि खास उद्देश्य छ । उपभोक्ताको मनमा त्यस्ता व्यक्तिप्रति खास किसिमको सुरुचि, लगाव र सम्मानको भाव हुन्छ । दर्शकका मनमा उनीहरू जस्तो बन्ने आकांक्षा हुन्छ । सेलिब्रिटीहरू उक्त वस्तुसँग रमाएको देखेपछि, उनीहरूको जीवनमा सफलता र सन्तुष्टि मिलेको देखेपछि प्रशंसकमा नलागेको तिर्खा पनि लागेर आउँछ, नभएको रहर पनि जागेर आउँछ । त्यस्ता वस्तुप्रति उपभोक्ताको हृदयमा त्यसलाई भोग्ने लालसा जाग्छ र भोग्न पाउँदा उनीहरू सन्तुष्ट पनि हुन्छन् ।
कुनै पनि तथ्यलाई चाहे त्यो भ्रामक वा गलत नै किन नहोस्, बारम्बार दोहो¥याइरहने हो भने मानिसलाई त्यही नै सत्य लाग्न थाल्छ । उसको दिमागले सोही ढाँचामा सोच्न थाल्छ र उसको सौन्दर्यदृष्टि पनि यसैगरी विकसित हुन्छ । बारम्बार विज्ञापनको प्रभावमा परेका व्यक्तिका लागि पछि गएर विज्ञापन नै एउटा अर्थपूर्ण कला संरचना बन्छ । विज्ञापनका चरित्र नै राम्रा र नराम्रा लाग्न थाल्छन् । बिस्तारै आदत नै यस्तो भएपछि विज्ञापन हेर्दा पनि आनन्द आउने र विज्ञापन नै हेर्ने तिर्खा लाग्ने समेत हुन्छ । आर्थिक मुनाफाका लागि आंशिक सत्यलाई प्रयोग गर्दै मूलतः प्रोपोगान्डाका लागि बनाइने विज्ञापनलाई नै कलाकृति सम्झन थालेपछि उसको दिमागमा संकुचन र विकार त भरिन्छन् नै, साथसाथै उसको आलोचनात्मक सामथ्र्य पनि सकिन्छ । यस्ता मान्छे विवेकशील मानिस नरहेर आत्मग्रस्त उपभोक्तामा परिणत हुन्छन् । यो भनेको मानवीयताको क्षति हो ।
विज्ञापनका फाइदा पनि छन् भनेर व्याख्या गरिन्छ । ग्राहकलाई उत्पादित वस्तुको जानकारी दिनु, बजारको निर्माण र विस्तार गर्नु, मानिसहरूलाई मनोरञ्जित गर्नु यसका फाइदा हुन् भनिन्छ । तर, फाइदा कसका लागि हो ? यसबाट लाभान्वित हुने उपभोक्ता हुन् कि निर्माण कम्पनी ? विज्ञापनको महŒवमाथि प्रकाश पार्दै बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका रहेछन्, ‘टक्सारबाहेक अर्को कसैले पनि विज्ञापनबिना मुद्रा उत्पादन गर्न सक्दैन ।’
विज्ञापन देख्दा वा सुन्दा जति छोटो लाग्छ, त्यसको प्रभाव त्यत्तिकै गहिरो र शक्तिशाली हुन्छ । खास लक्ष्य प्राप्तिका लागि विज्ञापन बनाइन्छ । बाहिर मनोरञ्जन भए पनि भित्र त्यसको खास सन्देश लुकेको हुन्छ जसको सोझो असर उपभोक्ताको हृदयमा पर्छ । खास प्रकारको भाषा, ध्वनि, शैली, चित्र र प्रकाशको प्रभाव अवचेतन मनमा पर्छ । यसले चलचित्र वा कविताले झैँ प्रतीकका माध्यमबाट आफ्नो कुरा भन्छ र कुनै वस्तु किन्नका लागि सिफारिस गर्छ ।
क्षति जति नै भए पनि विज्ञापनैविज्ञापनले भरिएको यस संसारमा यसबाट भाग्न त सम्भव छैन तर यसका खराबीबाट जोगिन भने सकिन्छ । यसका लागि विज्ञापन हेर्दा वा सुन्दा केही कुरामा विचार पु¥याउनु राम्रो हुन्छ, जस्तै– विज्ञापनले कुन वर्ग र समुदायलाई सम्बोधन गर्न चाहेको छ ? त्यसको भाषा वा शैली कस्तो छ ? विज्ञापनले कस्तो प्रभाव पैदा गर्न चाहेको छ ? त्यसका लागि कस्तो ध्वनि र रङको प्रयोग किन गरेको छ ? कुन शब्दको प्रयोगमा विज्ञापनले जोड दिएको छ र कस्तो सुझाव दिएको छ ? कुन प्रकारको उत्तेजना वा आकर्षण पैदा गर्नका लागि कस्तो परिस्थिति निर्माण गरेको छ ? नाटकीयताको अंश कति छ, किन त्यसो गरिएको छ ? विज्ञापनमा जुन प्रकारको कलात्मकता छ, त्यसको निहितार्थ के हुन सक्छ ? यो कसले बनाएको हो ? किन बनाएको हो ? पैसा खर्च गरीकन यसको प्रचार किन गरिँदै छ ?
यस्ता प्रश्नको उत्तर खोज्ने क्रममा विज्ञापनको भित्री रहस्य खुल्न आउँछ । जब विज्ञापनको रहस्य खुल्छ, त्यसपछि यसको मोहनीले कुनै पनि व्यक्तिलाई अनावश्यक रूपले भड्काउन वा प्रभावित गर्न सक्दैन । कुरा नबुझुन्जेल मात्रै विज्ञापन शक्तिशाली हुन्छ, बुझेपछि यो केही न केही ।
हरेक वस्तुहरू आफूसँग नहुँदा जति महŒवपूर्ण लाग्छन्, आफ्नो साथमा भएपछि, मोबाइल होस् वा ल्यापटप, तिनको महŒव घटेर जान्छ । फेरि अर्को वस्तुतिर रुचि बढ्छ । विज्ञापनको नियन्त्रणभित्र परुन्जेल यो भइ नै रहन्छ । एक पटक किनेको वस्तुले धेरै दिनसम्म खुशी र सुखी रहन सकिन्न । जससँग अपार धन सम्पत्ति छ, उसले के किन्ने के नकिन्ने भनेर विचार गरिरहनु आवश्यक छैन । विज्ञापनकर्ताले सिफारिस गरेका हरेक वस्तु किनेर थुपार्दा हुन्छ । तर, जससँग खर्चका लागि पैसा सीमित छ, उसले त सोच्नैपर्छ, विज्ञापनकै ढाँचामा सोच्ने कि नसोच्ने ?

Leave A Comment