‘आत्मबलले उद्यमशीलता बढाउँछ’

आइतबार, २६ मङि्सर २०७३, १० : ०६ दिलीप पौडेल , Kathmandu
‘आत्मबलले उद्यमशीलता बढाउँछ’

भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष हुन् । यसै हप्ता महिला उद्यमी महासंघको अध्यक्षको नेतृत्व सम्हालेकी राणासँग महिला उद्यमीसहित निजी क्षेत्रका समस्या, मुलुकको अर्थतन्त्र, लगानीको वातावरणलगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

महिला उद्यमीका समस्या केके हुन् ?
महिला उद्यमीका मात्र नभएर समग्रमा निजी क्षेत्रमै धेरै समस्या छन् । महिला भएकै कारण पुरुषसरह उद्यमी बन्न सामाजिक संरचना जटिल छ । पूँजी, प्रविधि र लगानीमा महिलाको पहुँच छैन । समस्या सुल्झाउन समग्र निजी क्षेत्र र राज्यको दायित्व हुन्छ ।

महिला उद्यमी महासंघलाई कसरी अघि बढाउनुहुन्छ ?
अहिले ३० जिल्ला च्याप्टर छन् । ७५ जिल्लामा पु¥याएर महिलाहरूको उद्यमशीलता बढाउन पहल गर्छु ।

के नयाँ कार्ययोजना लिएर नेतृत्वमा आउनुभयो ?
मेरो सुरुवाती यात्रा महिला उद्यमी महासंघबाट भएकाले सबै दिदीबहिनीहरूकै आग्रहमा महिला उद्यमी महासंघको नेतृत्वमा आएकी हुँ । नेपालमा लगानीको वातावरण बनाएर विदेशी लगानी ल्याउन, मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने दायित्व छ । अब देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ । महिला र पुरुष दुवैले सँगसँगै लैजानुपर्छ । हाम्रो मुलुकमा राजनीति क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत पुगे पनि आर्थिक क्षेत्रमा सक्रियता र सहभागिता निकै कम छ । मुलुकको विकास गर्न महिलालाई पनि उद्यमी बनाएर सँगसँगै अघि बढाउनुपर्छ ।
महिलाहरू व्यवसायमा आउन कस्ता जटिलता छन् ?
महिलाले व्यवसाय गर्न पूँजीमा पहुँच छैन । ऋण, उत्पादित वस्तुको बजारको समस्या छ । सामाजिक संरचनाले पनि जटिल बनाएको छ । व्यवसाय सुरु गर्न जसरी पुरुषले सजिलै घरजग्गा धितो राखेर ऋण निकाल्न सक्छन् । महिलाले जोखिम लिन कठिन छ । आफँैसँग धितो भए पनि आमाबुबा, श्रीमान्सँग अनुमति लिनुपर्ने हुँदा आत्मबल कम छ ।
नीतिगत समस्या र चुनौती के छन् ?
अहिले धेरै सुधार भएका छन् । औद्योगिक व्यवसाय ऐनमा महिलाको लागि छुट्टै व्यवस्था छ । उद्यमशीलता विकास गर्न १८ करोडको महिला उद्यमशीलता कोषको व्यवस्था गरिएको छ । महिलाले जग्गा लिँदा ३५ प्रतिशत छुट छ । तर, महिलालाई छुट दिएको नाममा त्यसलाई पुरुषले उपयोग गर्ने चलन छ । महिलामा जागरण पनि आउनुप¥यो । ऋण र उत्पादित वस्तुको बजारमा पहुँच छैन । राज्य र निजी क्षेत्रले प्राप्त गर्ने पहुँच महिलालाई उपलब्ध गराउनुपर्छ । महिलाको सीप विकास गर्न महिला ग्रामको अवधारणा ल्याएका छौँ । देशभरका महिलाको औद्योगिक उत्पादनलाई एकै ठाउँमा बिक्री गर्न यसको माग गरेका हौँ । यसमा उद्योग वाणिज्य महासंघमा प्रदर्शनीको व्यवस्था गर्न माग गरेका छौँ ।

मुलुकको व्यावसायिक वातावरण कस्तो छ ?
व्यवसायमा आकर्षण बढ्दो छ । अहिले औद्योगिक व्यवसाय ऐन, सेज ऐन आएको छ । यो राम्रो पक्ष हो । श्रम ऐन छिटो ल्याउनुप¥यो । भाषणमा आर्थिक समृद्धि भनेर पुग्दैन । हामीसँग सम्भावना भए पनि वातावरण बनेको छैन । संघीयतामा जाँदैछौँ । सबैको प्राथमिकता आर्थिक समृद्धि भए पनि व्यावहारिक रूपमा देखिएन । अपेक्षित रूपमा निजी क्षेत्रलाई राज्यले वातावरण बनाएको छैन । अहिले सरकारले स्कुल, मेडिकल कलेजमा शुल्क तोक्ने कुरा गरिरहेको छ । हामीले खुल्ला अर्थतन्त्रको कुरा गर्ने तर राज्यले शुल्क तोक्ने ?  सरकारले चलाउन नसकेका उद्योग निजीकरण गर्नुपर्छ । साझेदारी मोडलमा जान निजी क्षेत्र तयार छ ।
मुलुकको व्यापार चिन्ताजनक अवस्थामा छ नि ?
यसलाई न्यूनीकरण गर्न मुख्य कुरा उत्पादन बढाउने नै हो । हामीले नाकाबन्दीको बेला कति दुःख भोग्नुप¥यो । अरूको भर परेर हुँदैन । सरकारले पूर्वाधार विकास गर्नु आवश्यक छ । कृषि, जडीबुटीको सम्भावना रहेकाले यसमा अनुदान दिएर उत्पादन बढाउनुपर्छ । हाइड्रो, पर्यटन क्षेत्रको विकास गर्नुपर्छ ।
नेपालमा वैदेशिक लगानीको सम्भावना के छ ?
नेपाललाई साँच्चिकै विकास गर्ने हो भने हाम्रो लगानीले मात्र पुग्दैन । हाम्रो बचत निकै थोरै छ । भारतमा ३० प्रतिशत छ भने हाम्रो मुलुकमा १० प्रतिशत । त्यसैले आर्थिक विकास गर्न विदेशी लगानी चाहिन्छ । लगानीमैत्री वातावरण बनाउन पूर्वाधार चाहिन्छ । ऊर्जाको संकट हल हुने सकारात्मक संकेत देखिएको छ । राज्यले चाहे भने गर्न सक्छ ।
यो अवस्थासम्म आइपुग्न कति संघर्ष गनुप¥यो ?
नेपालमा महिलालाई अघि बढ्न धेरै अप्ठ्यारो छ । म जुन ठाउँमा आइपुगेकी छु । त्यो लामो समयको मेहनत र संघर्ष हो । मैले विवाहअघि राम्रो शिक्षा पाएँ । विवाहपछि श्रीमान्, सासुससुराबाट पनि धेरै सहयोग पाएँ । तर, विकासका लागि महिला–पुरुष भन्नु पनि मिल्दैन सँगसँगै अघि बढ्नुपर्छ । सुरुमा उद्योग वाणिज्य महासंघमा उम्मेदवार बन्दा एउटा महिला न हो दिऊँ भनेर जितँे । तर, त्यसपछि उपाध्यक्ष, वरिष्ठमा अझ कठिन भयो । अध्यक्ष पदमा जाँदैछु । एउटी नेपाली महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्नु सजिलो छैन ।
सफलताका लागि महिलालाई के सुझाव दिनुहुन्छ ?
पहिलो शिक्षा नै ठूलो कुरा हो । जबसम्म इन्टरप्रेनरसिप  विकास हुँदैन उसमा आत्मबल बढ्न सक्दैन । जसले लक्ष्य वा सपना लियो त्यसले पूरा गर्न सक्छ । सकारात्मक सोच राखेर मेहनत गरेर अघि बढ्नुपर्छ । अहिलेको अवस्थामा जेन्डरले धेरै फरक पार्दैन । आत्मशक्ति हुनुपर्छ त्यसले उद्यमशीलता बढाउँछ । आर्थिक रूपमा सक्षम हुन आत्मबल हुनुपर्छ ।
पारिवारिक व्यवस्थापनसहित महिलालाई नेता बन्न कति जटिल छ ?
महिलाको दोहोरो भूमिका हुन्छ । घर, व्यवसाय सम्हालेर नेता बन्नु जटिल विषय हो । म देशभरका कुनामा गएर भाषण गर्छु । तर, फर्केर घरमा आउनुपर्छ । त्यसैले पारिवारिक व्यवस्थापन पनि त्यति नै आवश्यक छ । यो ठाउँमा पुग्न परिवारलाई दुःख दिएर हिँड्न मिल्दैन । परिवार सुखी बनाए मात्र सहयोग पाइन्छ । धेरैमा यो समस्या छ । मैले व्यवस्थापन गरेकोमा आफँैलाई गर्व लाग्छ ।
सानोमा भविष्यमा के बन्छु भन्ने थियो ?
मेरो बाल्यकाल राम्रोसँग बित्यो । बुबा अञ्चलाधीश भएकाले उहाँसँग जिल्लाजिल्लामा जान्थेँ । साथीभाइ सबैको डाक्टर, इन्जिनियर, पाइलट बन्ने भन्ने मोह हुन्थ्यो । त्यतिबेला पनि मेरो सोच जागिरे होइन कुनै नकुनै क्षेत्रको नेता बन्छु भन्ने नै थियो । मलाई यो ठाउँमा ल्याउन आमाको ठूलो हात छ ।
तपाईंको प्रेरणाको स्रोत ?
मुख्य गरी त मेरा आमाबुबा नै हुन् । सामाजिक, राजनीतिक, व्यापारिक क्षेत्रका ठूला नेताहरूको अटोबायोग्राफी पढेर उनीहरूका अनुभवले पनि प्रेरणा लिएकी छु ।
तपाईंको रुचि ?
उद्यमसँगै अध्ययनमा रुचि छ ।
कस्ता पुस्तक पढ्नुहुन्छ ?
सफलताका कथा, जीवनी ।
धेरै मन परेको किताब ?
मदर टेरेसा र बिल ग्रेट्सको जीवनीबाट प्रभावित छु ।

 

Leave A Comment