सुरेश अधिकारी संगीत क्षेत्रमा चिनिएको झन्डै तीन दशक पुग्न लाग्यो । नेपाली संगीत जगतमा उनलाई ‘लामो रेसको घोडा’ मानिन्छ । किनभने, बजारमा आज पनि उनको प्रभाव कायम छ । त्यो पुस्ताले रुचाएको ‘मुग्लिन पारि गण्डकी’ होस् वा अहिलेको पुस्तामाझ निकै चर्चित ‘खोइ त मलाई झुम्के बुलाकी’ होस्, उनका सिर्जना उत्तिकै रुचाइएका छन् । उनले ‘आमा’का बारेमा लेखिएको गीत होस् या राष्ट्रिय भावनाको गीत, हरेकले चर्चा बटुलेकै छन् । संगीतकार अधिकारीसँग डिबी खड्काले गरेको अन्तरंग कुराकानीः
नयाँ पुस्ताका गायक–गायिका तपाईंको संगीतमा गाउन रुचाउँछन् । धेरै कुरामा उमेरको प्रभाव हुन्छ । संगीतमा नहुने रहेछ ?
सुन्नका लागि चाहिँ शतप्रतिशत उमेरको प्रभाव हुन्छ । बालगीतमा बच्चा रमाउँछन् । युवा अवस्थामा आउँदा मायाप्रेमका गीत मन पर्न थाल्छन् । बुढेसकालमा भजन सुन्ने हुन्छन् । त्यसैले सिर्जनामा पनि उमेरले देखाउने रुचिको प्रभाव त हुन्छ तर आफ्नो चाहना र शैलीमा मात्रै संगीतकार बाँच्न सक्दैन । अट्न सक्दैन । मैले मेरो उमेर र रुचिभन्दा बाहिर रहेर काम गर्नुपर्छ, किनभने म व्यावसायिक संगीतकार हुँ ।
टिनएजरका लागि भनेर संगीत सिर्जना गर्दै जाँदा कहीँ कतै पाकोपन मिसिने सम्भावना हुन्छ ?
अवश्य हुन्छ । संगीतको स्तर बढाउने केही ‘नम्र्स’ हुन्छन् । युथ जेनेरेसनलाई कम्पोज गर्दा पनि संगीतको त्यो ‘नम्र्स’ र गुणस्तर कायम रहोस् भन्ने लाग्छ । त्यही खालको फ्लेभर आउँछ ।
तपाईंको सांगीतिक क्षेत्रको लामो रेसमा पछि नपरेको यही कारणले हो ?
स्तरीय संगीत गर्छु भन्ने घमण्ड ममा छैन । लामो समयदेखि संगीतमै रहिरहनमा वा अहिलेसम्म बाँच्न सघाइरहनुमा युगबोध चाहिँ मसँग छ कि जस्तो लाग्छ । युगबोध भन्ने कुरा यस्तो हो, जसले एउटा युगका राम्रा कुरा अर्काे युगसम्म पु¥याउन मात्रै सघाउँदैन कि त्यो युगमा बाँच्न सहज पनि बनाउँछ ।
युगबोध त होला तपाईंसँग तर ‘समयबोध चाहिँ नभएको’ गुनासो गर्छन् तपाईंका साथीहरू । भर्खर पनि तपार्इंलाई कुरिरहेका तपाईंका साथीहरू भन्दै थिए– सुरेश दाइको आधा घण्टा ६० मिनेटको पनि हुन सक्छ !
पैसा ऋणमा पनि लिन सकिन्छ । पैसाको कुरा भए सबैलाई बाँड्न सक्थेँ । समय न ऋण लिन मिल्छ, न कमाउन मिल्छ । धेरै जिम्मेवारी निर्वाह गर्नुपर्दा समस्या आएको हो । यो समस्या आएको सात वर्ष भयो । रोयल्टी र कपिराइटका कुरामा पनि लागिरहनुपर्ने, संगीत सिर्जना छँदैछ । यसले अलिकति समस्या पारेको छ । साथीहरू गुनासो गर्छन्, मिलाउँछु पनि भन्छु, मिलिरहेको हुँदैन । म कसैसँग भेट्दा पूरै व्यावसायिक भएर समयको ख्याल गर्दिनँ । सकेसम्म समय लागे पनि काम टुंग्याउन खोज्छु । त्यसो गर्दा अर्काेलाई दिएको समय घर्किंदो रहेछ ।
सर्जकले मुडमा काम गर्नुपर्छ । बाटोमा आउँदै गर्दा गीतसंगीत फुरेर वा काम गर्ने मुड चलेर फर्किनुपरेको छ ?
संगीत रोयल्टी संघमा हामीले म्युजिक रुमको व्यवस्था त्यसै गरेका होइनौँ । यहाँ म्युजिक गर्ने मुड चल्दा त्यतै पस्न सकियोस् भनेर हो । धेरै पल्ट बाटोमा गीतसंगीत फुर्दा घर फर्केको छु । एकपल्ट त प्लेन पनि छुटेको छ ।
क्सरी छुट्यो प्लेन ?
एकपल्ट हामी मुम्बई जान लागिरहेका थियौँ । एयरपोर्ट जान म बाटोमा पुगेको थिएँ । एउटा गीत र संगीतको कन्सेप्ट फु¥यो अचानक । त्यसले मनमा यसरी उथलपुथल बनायो कि घर फर्किन बाध्य भएँ । फिल्म ‘हंगामा’का लागि संगीत गर्नुपर्ने थियो । बिहानभरि त्यसका लागि प्रयास गरेँ, आएन । अकस्मात् आयो । त्यसपछि निर्देशकलाई बानेश्वर बोलाएँ । संगीत सुनाएँ । उहाँले सोच्नुभएको कन्सेप्टसँग मेल खायो । खुशी भइयो । यति हुँदा उता प्लेन त छुटिसकेछ । झन्डै ४२ हजार रुपैयाँ दुईतर्फी टिकटको थियो त्योबेला । त्यत्तिकै खेर गयो ।
याद भएकोमध्ये कुन गीत ठ्याक्कै यसै गरी मुड चलेर गर्दा असाध्यै हिट भयो ?
‘साथी हो तिमी माया गर या नगर’ भन्ने गीत एकताका निकै हिट भयो । जुन फिल्म ‘पर्खिबसेँ’मा छ । त्यो फिल्मका लागि यस्तो गीत चाहिएको थियो कि त्यो फिल्मको कथामा पनि बगोस् र एक्लै सुन्दा पनि फरक नपरोस् । त्यो मलाई च्यालेन्जिङ लागेको थियो । यसका लागि ट्राई गरियो तर आएन । त्यसपछि अर्काे गीत स्टुडियोमा रेकर्डिङका लागि समय लिएकाले त्यतै लागेँ । बाटोमा पुगेको थिएँ, यो गीत र संगीत फु¥यो दिमागमा । त्यसपछि म फर्केर घर गएँ र फिल्मका निर्देशक दीपक श्रेष्ठ र निर्माता उज्ज्वल पौडेललाई घरमै बोलाएँ । उहाँहरूले मन पराउनुभयो । पछि फिल्म हिट हुन यही गीतले पनि ठूलो भूमिका खेल्यो ।
संगीतकारका रूपमा चर्चित हुनुहुन्छ । तपाईंको लक्ष्य त गायक बन्ने थियो रे । गायक बन्न के–के गरियो ?
गायक बन्न के मात्रै गरिएन होला र । खोलाका झरना नजिकै गएर प्य्राक्टिस गर्दा राम्रो हुन्छ भनिदियो कसैले, बाजा बोकेर झरना खोज्दा कहाँ कहाँ पुगिएन ? माइलौँ टाढा पुगेर रियाज गरियो । एक जना डिम बाबा भन्ने गुरु हुनुहुन्थ्यो, उहाँले पानीमा घाँटीसम्म डुबेर गाउने प्य्राक्टिस गर्दा राम्रो हुन्छ भनेपछि पुसको चिसोमा समेत त्यसै गरियो । घरमा स्कुल जान्छु भनेर भागेर रेडियो नेपाल पुगियो । कलेज पढ्दा साथीहरूसँग कलेज बंक गरेर दिनभरि गीत गाएर बसियो । टाढाको यात्रामा जाँदा बाटोमै गीतमा भुलेर त्यहाँ समयमा पुग्न सकिएन । काम बिगारियो तर गीत गाउन छाडिएन ।
गायक बन्ने धुनका पछाडि लागेर सबभन्दा ठूलो गल्ती के गरियो ?
त्यही कुरा अहिले सही भयो । तर, गायक बन्ने धुनमा हेटौँडामा फरेस्ट्री पढ्न छाडेर काठमाडौँमा कानुन पढ्न थालियो । घरकाले फरेस्ट्री पढोस् भनेर हेटौँडामा भर्ना गरिदिए । त्यहाँबाट भागेर म काठमाडौँ आएँ । किनकि, काठमाडौँमा गीत गाउन पाउने वातावरण थियो ।
जहाँजहाँ गाउन पाइन्छ, त्यहाँत्यहाँ पुगिन्थ्यो हो त्यतिबेला ?
जसको घरमा संगीतका साधन छन्, तिनीहरू मेरा साथी हुन्थे । धुलिखेलमा एक जना थियो, पनौतीमा अर्काे थियो, जसका घरमा संगीतका साधन थिए । म घर कम बस्थेँ, उनीहरूसँग बढी हुन्थेँ । अरूले आधा भाग परिवारसँग बिताउँछन् जीवनको । मैले घरपरिवारसँग मुश्किलले १० भागको एक भाग बिताएको हुँला ।
घरपरिवारको के बनोस् भन्ने चाहना थियो ?
बुवाको नेता बनोस् भन्ने चाहना थियो । आमाको सरकारी अधिकृत बनोस् भन्ने थियो । राजनीतिमा त्यति छाँट नदेखेपछि वन क्षेत्रको ठूलो मान्छे बनोस् भनेर बुबाले फरेस्ट्रीमा भर्ना गरिदिनुभएको हो । उहाँहरूको इच्छा र चाहना पूरा गरिएन ।
आफ्ना चाहना पूरा नगरेर पनि ठीकै गरेछ भनेर खुशी कहिले हुनुभयो आमाबुबा ?
पहिलोपल्ट रेडियो नेपालको बाल कार्यक्रममा गीत गाएर प्रथम हुँदा मेरा बाआमा मात्रै होइन, जिल्ला(काभ्रे) वासी नै खुशी भएका थिए । २०६२ सालमा आमाकै बारेमा लेखिएको गीतले गीतकारतर्फ राष्ट्रिय पुरस्कार पाउँदा आमाबुबा दुवै असाध्यै खुशी हुनुभयो । त्यतिबेला मैले अर्काे गीतबाट संगीतमा पनि राष्ट्रिय पुरस्कार पाएको थिएँ ।
‘आमा’ शीर्षकको त्यो गीत आफ्नै आमा सम्झेर लेख्नुभएको हो ?
म गाउँमा जन्मेँ, गाउँमै हुर्कें । मलाई गाउँ र गाउँमा आमाहरूले गर्ने दुःख महसुस भएको थियो । आम नेपाली आमाले घाँसदाउरा, चुलोचौका, मेलापात सबैमा जति दुःख गर्नुपर्छ, त्यसमा मेरी आमाले थप एउटा दुःख गर्नुभएको छ । मेरो बुबा समाजसेवी । जसले घरगोठ र खेतीपातीमा आमालाई सघाउने समय पाउनुभएन । तर, बुबाको जिम्मेवारीको अभावको महसुस हामीलाई गराउनुभएन । आमाले हाम्रा सुखका लागि उठाएका दुःख मैले नजिकबाट देखेको छु । नेपालका ९० प्रतिशत आमाले सन्तानका लागि यस्तै दुःख गर्छन् जस्तो लाग्छ । यिनै ९० प्रतिशत आमाहरूको महानताका बारेमा भर्खर कलम चलाउन सिक्दा लेखेको थिएँ । फिल्म ‘मुग्लान’को एउटा सन्दर्भमा राख्न पाएँ । यसका निर्देशक शिव रेग्मी आफूले पनि गीत लेखेर ल्याउनुभएको रहेछ तर मेरो सुनेपछि ‘च्यातेर फालेँ’ भन्नुहुन्थ्यो ।
सामान्यतया राष्ट्रिय भावनाका गीतमा वीर रसको प्रयोग गरिन्छ । तर, तपाईंले त्यहाँ पनि शृंगार रससमेत मिसाएर हिट नम्बर बनाउन सक्नुहुन्छ रे !
राष्ट्रिय गीत र नारा फरक कुरा हुन् । म गीत बनाएर पस्किने कोसिस गर्छु । राष्ट्रिय गीत भन्दा याद आउँछ– ‘हिमालको काखमा छ सानो मेरो गाउँ, पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ ।’ यहाँ कहीँ उल्लेख छ मेरो देश यस्तोउस्तो भन्ने ? तर, यसमा राष्ट्रिय भावना कमजोर छैन । जस्तो आस्था राउतले गाएको ‘म त नेपालको माया गर्ने छोरी’ मा प्रेम आएको छ तर देशभक्ति छ । आडम्बरको प्रेम होइन, मैले जस्तै माया गर्ने साथी चाहिन्छ भनिएको हो । संगीतमा विम्बको उचित प्रयोग भयो र नयाँपन दिन सकियो भने राष्ट्रिय भावना मात्रै सिर्जना हुँदैन, त्यसले बजार पनि लिन्छ ।
तपाईंभित्रको संगीतकारले कहाँनेर पुगेर उछिन्यो गायकलाई ?
रेडियो नेपालमा ‘म मरेको पल तिमी डोली चढ्नू’ मैले नै गाएँ । त्यसपछि भिडियो फिल्म ‘मायाजाल’मा एउटा गीत गाएँ । फिल्म ‘माया नमार’का लागि ‘मुग्लिन पारि तरेर गण्डकी’, ‘के सोचेथेँ जिन्दगीमा’ जस्ता गीत उदितनारायण झाले गाउनुभयो । गीत हिट भए । मेरो संगीत बिक्न थाल्यो । गायन छुटेको छुट्यै भयो ।
संगीतमा क्षेत्रमा यत्रो यात्रा तय गर्दा एक खालको भोक त मेटियो होला । कस्तो खालको भोक बाँकी छ ?
संगीत क्षेत्रको भोक मेटियो, तिर्खा बाँकी छ । त्यो कस्तो तिर्खा भने आफूलाई असाध्यै प्यारो लाग्ने सिर्जना गर्ने । अघि तपाईंले ‘आफूलाई प्यारो लाग्ने गीत भन्नुहोस्’ भन्दा भन्न सकिनँ मैले । किनभने, कुनैमा गीत र संगीत राम्रो लाग्छ, गायकले बिगारेजस्तो लाग्ने । कतै गायकले मीठो गाएको हुन्छ, संगीतमा चित्त नबुझ्ने । कतै एरेन्जमा, कतै रेकर्डिङमा नपुगेको जस्तो लागेको छ । ‘यो गीतमा चाहिँ सबै ठीक छ’ भन्ने गीत, आफूलाई असाध्यै प्यारो लाग्ने सिर्जना गर्न सकेको छैन । यही तिर्खा बाँकी छ ।
Leave A Comment