चुनौतीको चेपमा राउटे

बुधबार, ०८ असार २०७३, १२ : ४२ शुक्रवार , Kathmandu
चुनौतीको चेपमा राउटे

हाम्रा स्कुले नानीहरू ज्यामिति बक्सभित्र रङ, इरेजर, पेन्सिलको पोका प्याक गर्छन् । तर, राउटेहरू आफ्ना सामान बेचेर आएको पैसालाई भिज्ने, खस्ने डरले ज्यामिति बक्समा सुरक्षित राख्छन् । हाम्रा नानीबाबु कार्टुन र भिडियो गेममा झुुम्मिन्छन् । राउटेका केटाकेटी आमाबुबाको काखमा झुम्मिन्छन् ।

                    
–मणिराम  शर्मा
हाम्रो समय आधुनिकतामा बाँचेको समय हो । सृष्टिको आरम्भदेखि नै मानव जातिले आफ्ना पूर्वजको प्रेरक रूपलाई आ–आफ्नै तरिकाले उपासना गर्दै आएका छन् । राउटे जाति नेपालका आदिवासी मानिन्छन् । घुमन्ते पगरी यो जातिको राज्यले दिएको पहिचान हो ।

आजको जस्तो अन्तरविरोधहरूको जटिल परिस्थितिमा विरोधी शक्ति, समयसित जुधेर पनि बाँचिरहेछ राउटे जाति ।

राउटे दर्शन र संस्कृति हाम्रो जीवनका सबै ठाउँमा पुगेको पाइन्छ । नेपालको पश्चिमाञ्चल क्षेत्रका खास गरी भेरी राप्ती र महाकाली अञ्चलमा राउटेको थातथलो पहिलेदेखि नै देखिएको पाइन्छ । भ्रमणशील राउटेको आखेट र संग्रहजीवी गरी दुई समूह छ । मैले पहिलोपटक यो आखेट समूहको राउटेलाई २०६९ सालमा सल्यानमा भेटेको थिएँ । सरकारले यिनको नाममा मासिक प्रतिव्यक्ति रु. एक हजार भत्ता दिने भएपछि यसबारे चासो र जिज्ञासा बढेको पाइन्छ । आफूलाई जंगलको राजा भन्न रुचाउने, यो समुदाय राजाको रउटेलाबाट राउटे भन्न थालिएको किंवदन्ती पाइन्छ । वन जंगलमा पाइने कन्दमूल र रूखपात यिनका जीवनयापनका आधार हुन् । समय परिवर्तन हँुदै गएको सन्दर्भमा यिनमा भएका सम्भावना र चुनौती अर्को उठानको विषय हुन सक्छ । यिनीहरू आफू बाहिरको समाजलाई जमिनदारको समाज भन्दछन् । जमिनदारहरू पढलेख, खेतीपाती, व्यापार–व्यवसाय, देशको शासन सत्ता चलाउनुपर्छ । उनीहरूको सोचाइमा आफू राउटे भएकाले नै माथि उल्लेखित कार्यमा संंलग्न नहुने तर्क राउटे मुखिया वीरबहादुर शाहीको छ ।
       
        भ्रमणशील भएर होला राउटे युवाको काँधमा बोकेर हिँडाल्न सक्ने जति सामान रहन्छन् । नेताहरूले ‘युवाशक्ति नै सर्वशक्तिमान’ भने जस्तै  राउटे युवालाई उनीहरूको समाजमा ‘तागतिला युवा’ भनिन्छ । शिकारका हतियार भाँडाकुडा, जाल डोरा र लत्ताकपडासँग युवाको दिनचर्चा बितिरहन्छ । आफैँले बनाएको खाना खाने र अन्न राख्ने कोसी बटुका, डाडु, पन्यूँ, बसेला छिना, खाप, खुर्पासँग हरेक पल यिनीहरू समय व्यतीत गरिरहन्छन् । आफूले बनाएका भाँडाकुँडा काँधमा बोकेर जिन्दगी गुजारिरहेको युवा लहर छ  राउटेमा । हामी आधा नांगिएको शरीर अर्थात् आधुनिकताको नाउँमा हाम्रो वेशभूषा दिनदिनै बिर्सिरहेका छौँ ।  राउटे युवा टाउकोमा कपडाको पगरी र गादो भिर्ने चलनलाई स्थापित गरिरहेका छन् । हाम्रा ल्यापटप बोक्ने झोला, लगेजले पश्चिमा गन्ध दिइरहेका बेला राउटेले काँधबाट दाहिने कुमतिर झुन्डयाएर बोक्ने नीलो रङको झोलीले वास्तविक नेपाली पहिचानको प्रतिविम्ब देखाउँछ । हाम्रो जीवन पैसा, पहुँच, शक्ति र सत्तामा अल्झिएको छ । राउटे युवाका लागि विनिमय सहचार्य, सद्भावको चौतारी भएको छ जीवन । हामी लागुपदार्थको दुव्र्यसन, व्यभिचार, पराधीनता, भ्रष्टाचार, हत्या हिंसाको जालोले जेलिएका छौँ । उनीहरू आ–आफ्नो सीप कलालाई बेचेर परिवार, छोराछोरी पालिरहेका छन् ।

       चेलीहरू सुरक्षित नहुने हाम्रो समाजमा दिनदिनै बलात्कार र हत्याजस्ता घटना भइरहेछन् । राउटे युवातिर बलात्कार त के आफ्नै गुन्यु, लहंगन र चोलोमा स्वतन्त्र जीवन बिताइरहेका छन् । आफँै चोलो, ब्लाउज बुन्छन् र ढाक्दछन् अस्तित्व । हाम्री चेलीहरू महँगा गरगहना लगाउन आतुर छन् । तर, राउटे महिलाहरू मात्र आलमुनियमका बाला, बुलाकीले सुन्दरता धानिरहेका छन् । लाग्न सक्छ, तिनीहरू सम्पन्न छैनन् अनि लगाउँदैनन् । वास्तवमा धन र पैसा नै रहेछ मान्छेलाई निर्दयी बनाउने । जहाँ मान्छे, मान्छे मार्नसम्म बेर लगाउँदैनन् । हाम्रा दिदीबहिनीजस्तो रंगीचंगी कपडा उनीहरू लगाउँदैनन् गादीले सपक्क ढाकेको जामा सहितको गुन्युमा सजिन्छन् उनीहरू । हामी हल, डाइनिङ, बाथ रुममा सुविधा खोज्छौँ । उनीहरू तेल राख्ने सिसी, डोका,  नाम्ला ओछ्याउँदै जीवनको आनन्द पाइरहेछन् ।
 
     हाम्रा स्कुले नानी ज्यामिति बक्सभित्र रङ, इरेजर, पेन्सिलको पोका प्याक गर्छन् । तर, उनीहरू आफ्ना सामान बेचेर आएको पैसालाई भिज्ने, खस्ने डरले ज्यामिति बक्समा सुरक्षित राख्छन् । हाम्रा नानीबाबु कार्टुन र भिडियो गेममा झुुम्मिन्छन् । राउटेका केटाकेटी आमाबुबाको काखमा झुम्मिन्छन् । हाम्रा आमाबा छोराछोरीको ग्य्राज्युएट सेरेमनीमा सहभागी हुन युरोप अमेरिका पुग्छन् । तर, राउटे आमाबा आफ्ना सन्तानको सद्भावमा मौलिएर जीवन बिताइरहेका छन् । हामीलाई थाहा छ, हामी र हाम्रा आवश्यकताको वृद्धि भइरहेको छ । त्यसैले होला उनीहरू पनि आफ्नो अर्थ सञ्चयको आकार विनिमयको माध्यमबाट बढाइरहेछन् । हरेक क्षण १०–१५ जना युवा विमानस्थलबाट छिराउने यो देश रेमिट्यान्सको भरमा चलेको छ । युवा बेरोजगार छन् । आफ्नो श्रम शक्तिको प्रयोग गरिरहेछन् विदेशमा । तर, राउटे युवा गुमनामजस्तै छन् । भेटिनु परेको छैन, हराउन परेको छैन, विदेश उड्नु परेको छैन, खाडी जानु परेको छैन, पिउनु परेको छैन ह्विस्की र बियर  र फर्कनु परेको छैन काठको बाकसमा । तर, परेको छ हातको सीप बेचेर खान आफ्नै देशमा, जिउनु परेको छ आफ्नै जिन्दगी परिवारको साथमा । अभाव नै किन नहोस् बाँचिएको छ आन्नदको जिन्दगी सानन्दको साथमा । सर्टिफिकेट धितो राखेर काम गर्न पाउने कुराले हामीमा ठूलै चर्चा पाएको छ । तर, के हो ऋण ? के हो सर्टिफिकेट ? यी सबै कुराका सूचनासम्म पुगेन तिनीहरू सामु । सायद उनीहरू दशवटा टुनीको रूख धितो राखेर बसुलाले कोसी खोपी रहेछन् कि ?

     आधुनिकताले जरो गाडेको हाम्रो समाजमा राउटेबारे विविध विवरण आइरहेका छन् । नेपालमा जातीय राज्यको माग र संघीय विभाजनले राउटेमा विविध चुनौती उत्पन्न हुन स्वाभाविक हो । हाम्रो समाजको आधुनिकीकरण प्रभाव नै मुख्य चुनौती हो । समाज सामाजिकीकरण एकअर्कासँग अन्तरसम्बन्धित पक्ष हुन् । समाज हुनका लागि सामाजिकीकरणको आवश्यकता पर्दछ । समयअनुकूल समाजमा अनुकूल सामाजिकीकरण नहुनु नै अर्को चुनौती हुन सक्छ । राउटेको सामाजिकीकरणको प्रमुख आधार जंगल भएकोले जंगल नै उनीहरूको राज्यको एउटा नमुना हुन सक्दछ । जंगल विनाश भयो भनेर उनीहरूलाई लखेट्न थालियो भने उनीहरूको पहिचान संकटमा पर्न सक्छ । राउटेबारे विभिन्न विवरण, समाचार, तस्बिर छापेर मात्रै उनीहरूको चेतना स्तरमा वृद्धि असम्भव छ । सरकारले नागरिकता बनाउने, स्कुल पढाउनेजस्ता कार्य गरेपछि तिनमा सामाजिकीकरण सफल हुन सक्दैन । यसको साटो उनीहरूमा भएको सम्पत्तिलाई वैज्ञानिक ढंगले खोज अनुसन्धानका माध्यमबाट पहिचान नबिग्रने कदम चाल्नु उपयुक्त छ । उनीहरू पनि देशका नागरिक हुन् । नागरिक हुनुका नाताले राष्ट्रिय दायित्व प्रतिको बोध हामी सबैमा हुन जरुरी छ । भारतको उत्तर प्रदेश र बिहारका यस्तै प्रकारका भ्रमणशील जातिलाई बलजब्ती बसोवास गराउँदा भएको परिणामलाई हामीले बिर्सनु हुँदैन । हामी राजतन्त्र, गणतन्त्र हँुदै संघीय नेपालका कुरा गरिरहन्छौँ । तर, राउटे आ–आफ्नो परम्परा पहिचान सरकारलाई जर्गेना गर्दै आफूलाई चुनौतीबाट जोगाइरहेको छ । धर्म विस्तार, राज्य विस्तार र व्यापार विस्तारले वास्तवमा यिनीहरूमा प्रभाव पारेको छ । दशवर्षे जनयुद्धमा पनि यिनीहरूले आफ्नो पहिचानलाई बचाए, जोगाए ।  यिनीहरूले बोल्ने भाषा खाम्ची भए तापनि अरू समुदायजस्तै राष्ट्र भाषाको रूपमा नेपालीलाई नै स्वीकारेका छन् राउटेले ।

   आयातीत सभ्यता र संस्कृतिको मारले राउटे संस्कार र संस्कृतिलाई पनि अछुतो नछाडेपछि यिनीहरू मारमा परेका छन् । अचेल राउटे युवा–युवती नजानिँदो तरिकाले जाँडरक्सी सेवन गर्नु, पैसा माग्नु, सुर्ती प्रयोग गर्नु जस्ता कार्य गर्न थालेका छन् । जसले गर्दा उनीहरूको मौलिकतामा संकट आएको छ । महिलाहरूमा हुने अन्धविश्वास, बालबालिकामा उत्पन्न हुँदै गइरहेको कुपोषणका साथै हाम्रो आधुनिकताको हस्तक्षेपले उनीहरूमा यस्ता विकृति उत्पन्न भएका हुन् । राज्यले वर्ग समुदायको हितका लागि भनेर संविधान जारी गरेको छ । तर, जारी गरिएको संविधानले राउटेलाई कहाँनिर हित गरेको छ ? न त उनीहरूको मौलिक सस्ंकार जोगाउने कार्यक्रम ल्याएको पाइन्छ,  न त वैज्ञानिक सामाजिकीकरणमा जोड दिएको पाइन्छ । यस्तै हुने हो भने उनीहरूको अस्तित्व संकटमा पर्न सक्छ ।  जसकारण हाम्रो लोक परम्परा, लोक जीवन, लोक साहित्य, लोक संस्कृति संकटमा पर्न सक्छ । यसरी आयातीत चुनौतीले बेरिएर ओझेलमा पर्नु, कही कतै संरक्षणको प्रयत्न नहुनु, नयाँ पुस्तालाई यस्ता सम्पदाप्रति जागरणको भावना पैदा नहुनु र बढ्दो आधुनिकताले संस्कृतिलाई समात्नु नै वर्तमान राउटेका अप्ठेरा हुन् ।  

     राउटेहरू भन्छन्– भाषा बिर्सियो, संस्कृतिमा गडबड भयो, संस्कृतिमा तलमाथि प¥यो, सभ्यता खुम्चियो, गीतसंगीतका तालमा उतारचढाव भयो भने हाम्रो पहिचान मर्छ । त्यसैले हामी र हामा्रे पहिचान सर्वोपरि हो । यसबाट के प्रष्ट हुन्छ भने उनीहरू आफ्नो संस्कार परम्पराको संरक्षणमा सर्तक छन् । उनीहरूले गर्ने विवाह, जन्ममृत्यु र बसाइँसराइँलगायत अन्य संस्कार एक उत्कृष्ट संस्कारका नमुना हुन् । हामीले देखेकासुनेका छौँ राउटेहरू इमानदार हुन्छन् र पहिचान जोगाउन पनि अडिग छन् । उनीहरूको जस्तो कुशल नेतृत्व नेपाली नेताले सिक्नुपर्ने छ । उनीहरूको सम्बन्ध विस्तार शैली हामीले सिक्ने हो भने सायद हाम्रो समाजमा झैझगडा कहिल्यै हुने थिएन । उनीहरूको जस्तो भाइचाराको भावना विकास गर्ने हो भने यहाँ हतियार उठाउनुपर्ने अवस्था आउने थिएन ।
     हाम्रा मौलिक लोक साहित्य, लोक संगीत, लोक कला, लोकशिल्प, लोक वेशभूषा, लोक आभूषण र लोकपर्व पनि पहिचान हुन् । यस्तै पहिचानलाई संरक्षण गरिरहेको मानव जाति हो राउटे । हाम्रा खोज अनुसन्धानलाई अन्तर्राष्टिय पहिचान दिनका लागि राउटेमा निहित सम्पदालाई हामी सबैको सम्पत्तिको रूपमा जोगाउन सके हामी र राउटेको पहिचान अमर रहने कुरामा दुई मत रहन्न ।    

 

 

 

Leave A Comment