‘फुर्सदको समय खेतीपातीमा बित्छ’

शुक्रबार, ०१ पुष २०७३, १२ : ३८ सृजना खड्का , Kathmandu
‘फुर्सदको समय खेतीपातीमा बित्छ’

–सुनील प्रजापति
सचिव, नेपाल मजदुर किसान पार्टी

राजनीतिमा लाग्नुभएको कति भयो ?
२०३६ सालयता निरन्तर रूपमा राजनीतिमा सक्रिय छु ।
कसरी लागियो त राजनीतिमा ?
पहिला सामाजिक कार्यकर्ता थिएँ । पाटीपौवा निर्माण गर्ने, बिरामीको सेवा र विभिन्न सामाजिक क्रियाकलाप गर्थें । पछि बिस्तारै विद्यार्थी संगठनमा लागियो । २०३६ सालपछि भने पूर्ण रूपमा राजनीतिमै लागेँ ।
राजनीतिबाहेक अरू केमा चासो छ ?
राजनीतिबाहेक वकालत पनि गर्छु । अध्ययनमा पनि मेरो रुचि छ ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ ?
टेलिभिजन मनोरञ्जनको साधन बनेको छ । समाचार खूब हेर्छु । बेलुका आठ बजेको समाचार त झन् कहिल्यै छुटाउँदिनँ ।
फिल्म चाहिँ कत्तिको हेरिन्छ ?
पहिला फाट्टफुट्ट हेरिन्थ्यो अहिले त खासै हेरिँदैन । फिल्म हेर्ने फुर्सद पनि हुँदैन । तीन घण्टा एउटै ठाँउमा बसिरहन पट्यार लाग्छ ।
पुस्तक नि ?
बरु, पुस्तक पढ्छु ।
कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
विश्वप्रसिद्ध कथा र आत्मकथा पढ्ने गरेको छु ।
गीतसंगीतमा पनि रुचि राख्नुहुन्छ कि ?
पहिला त आफैँ मादल र ढोलक बजाएर हिँडिन्थ्यो । नेवारी भाषाका जोशिला राष्ट्रप्रेमी गीत पनि खूबै गाइन्थ्यो ।
कस्ता गीत सुन्न मन पराउनुहुन्छ ?
देशभक्ति गीत मन पर्छन् ।
खेलकुदप्रति कस्तो छ झुकाव ?
टेबलटेनिस र भलिबलको पारखी नै थिएँ । स्कुल र कलेजमा हुँदा खूबै खेलिन्थ्यो । चेस पनि आक्कलझुक्कल खेलिन्थ्यो । फुटबल पनि मन पथ्र्यो ।
सामाजिक सञ्जालमा कत्तिको सक्रिय हुनुहुन्छ ?
फेसबुक कहिलेकाहीँ चलाउँछु । अनलाइनमा विभिन्न समाचार  पढ्न पाइने भएकाले रमाइलो लाग्छ ।
फुर्सदमा के गरिन्छ ?
फुर्सदको समय खेतीपातीलाई दिन्छु । बजारमा अहिले विषादी हालिएका तरकारीको बिगबिगी छ । म त आफ्ना लागि आफैँ विषादीमुक्त तरकारी लगाउँछु ।
नेपालको सबैभन्दा मन पर्ने ठाउँ ?
मलाई त भक्तपुर नै प्यारो लाग्छ । तर, यही ठाउँ भन्ने छैन । देशै मन पर्छ ।
खानेकुरामा के मन पर्छ ?
खानेकुरामा यस्तै हुनुुपर्छ भन्ने छैन । साधारण नेपाली खाना नै विशेष मानेर खान्छु ।
आगामी योजनाको के छ त ?
राजनीतिमा नै लाग्छु । पद र पैसाको लागि हैन, देश जनता र सामाजिक सेवाका लागि लाग्छु ।

 

 

Leave A Comment