‘सेतो सूर्य’ नेपाली समाजप्रति जवाफदेही छ । यसले नेपाली समाजका विशेषता र अन्तर्विरोधहरूलाई जिम्मेवारीपूर्वक उठान गर्न खोजेको छ । अन्य नेपाली चलचित्रले गर्न नचाहेको वा नसकेको मूल कुरा यही हो । कतिले अन्तर्विरोधहरूलाई उठाएका त छन् तर सर्जकीय दायित्व र बौद्धिक इमानदारीलाई बचाउन सकेका छैनन् ।
‘सेतो सूर्य’ले फेरि एक चोटि ‘कालो पोथी’लाई सम्झाइदिएको छ । ‘कालो पोथी’ धेरै समीक्षक र दर्शकहरूको प्रशंसा पाएको चलचित्र थियो । सोही स्तरमा र उनै व्यक्तिहरूबाट त होइन तर प्रसंशा ‘सेतो सूर्य’ले पनि कम्ती पाएको छैन । ‘सेतो सूर्य’लाई हेरेर नेपाली चलचित्रको अभिव्यक्ति क्षमतामाथि गौरव गर्ने दर्शक प्रशस्तै छन् ।
‘कालो पोथी’ जनयुद्ध कालभित्रको दुर्गम पहाडी गाउँको कथा थियो । ‘सेतो सूर्य’ पनि दुर्गम पहाडी गाउँकै कथा हो तर वर्षदिन अगाडिको कथा हो जतिबेला संविधानसभाबाट नेपालको संविधान घोषणा हुँदै थियो । जनयुद्ध दुवै चलचित्रमा विषय बनेर आउँछ तर ‘कालो पोथी’मा जनयुद्ध जारी छ र त्यो अमानवीय तथा हिंसात्मक छ । ‘सेतो सूर्य’मा आउँदा जनयुद्ध इतिहास भइसक्यो । अब त्यसको समीक्षा गर्न सकिन्छ । तसर्थ आजका दर्शकसँग संवाद गर्ने हिसाबले ‘कालो पोथी’भन्दा ‘सेतो सूर्य’ अगाडि छ ।
‘सेतो सूर्य’का नजरमा जनयुद्ध ‘कालो पोथी’ले भनेको जस्तो अमानवीय मात्रै थिएन, केही परिवर्तनकारी पनि थियो । पितृसत्ताको प्रभुत्वशाली विम्बलाई जनयुद्धले निकै कमजोर बनाइदियो । रूखमा चढेर घाँस झार्दै गरेकी दुर्गा (आशा मगराती) जनयुद्धले रचना गरेको नारी विम्ब हो जो परम्परागत नारीभन्दा बिलकुल भिन्न र शक्तिशाली देखिन्छे । पितृसत्तासँग जुधेर साहसपूर्वक बाँचिरहेकी यत्तिको ऊर्जाशील नारी विम्ब अन्य चलचित्रमा कमै देखिएलान् । पोथीको नाम करिश्मा राखेर दर्शक हँसाउन खोज्ने ‘कालो पोथी’ र दुर्गाको प्रेरणादायी व्यक्तित्व निर्माण गर्ने ‘सेतो सूर्य’का बीचमा लैंगिकतासम्बन्धी सौन्दर्यदृष्टिको ठूलो अन्तर छ ।
‘सेतो सूर्य’ नेपाली समाजप्रति जवाफदेही छ । यसले नेपाली समाजका विशेषता र अन्तर्विरोधहरूलाई जिम्मेवारीपूर्वक उठान गर्न खोजेको छ । अन्य नेपाली चलचित्रले गर्न नचाहेको वा नसकेको मूल कुरा यही हो । कतिले अन्तर्विरोधहरूलाई उठाएका त छन् तर सर्जकीय दायित्व र बौद्धिक इमानदारीलाई बचाउन सकेका छैनन् । जनयुद्धप्रति पूर्वाग्रह राख्ने ‘कालो पोथी’ले सामाजिक सरोकार र मानिसका आकांक्षाहरूलाई ठीक धरातलमा टेकेर प्रतिनिधित्व गर्न सकेको छैन । जनयुद्धलाई राजनीतिक हिंसाका रूपमा अतिसरलीकरण गरेको छ । यो अति सरलीकरणको रोग, जो अन्य नेपाली चलचित्रको पनि रोग हो, ‘सेतो सूर्य’ यसबाट धेरै हदसम्म मुक्त छ ।
‘सेतो सूर्य’ राजनीतिक चलचित्र भएर पनि पार्टी राजनीतिमा मात्रै यो सीमित छैन । यथास्थितिवादी राजनीतिका बारेमा पनि यो बोल्दैन र पहाडी परिवेश हुनाले मधेशकेन्द्रित राजनीतिको पनि खासै चर्चा गर्दैन । राप्रपा नेपालको कुरा गर्छ र माओवादीको कुरा गर्छ । यी दुई ध्रुवका बीचमा कांग्रेस, एमालेहरू अटाएका छन् । विपरीत ध्रुवका रूपमा रहेका यी दुई शक्ति, एउटा पश्चगामी शक्ति र अर्को अग्रगामी शक्तिका रूपमा चलचित्रले चित्रण गर्न खोजेको छ तर वर्ग संघर्षका साथै महिला, जनजाति लगायतका अनेक गम्भीर मुद्दाहरूलाई अपेक्षित रूपमा संस्थागत गर्न नसकेको माओवादी आन्दोलनप्रति आलोचना पनि त्यत्तिकै छ ।
क्रान्तिकारी भनिने माओवादी पार्टीको सभासद छोराको विवाहमा हेलिकोप्टर लिएर आउँछ । संविधान घोषणाको दिनमा सभासदको व्यस्तता बढ्ने भएकाले हेलिकोप्टर ल्याउनुपरेको भनी तर्क गर्ने ठाउँ राख्दै तर चलचित्रले एकाएक चुलिएको उसको आर्थिक सामथ्र्यमाथि आक्रमण गरेको छ । आर्थिक सामथ्र्यभन्दा पनि खतरनाक कुरा त्यहाँ अर्को छ– विवाहमा नाच्दै गरेको व्यक्तिको टोपीमा पैसा घुसारिदिनु । नवधनाढ्य बन्दै गएको माओवादी नेतृत्वको आर्थिक, सांस्कृतिक जीवनको यस छटाले चलचित्रलाई ‘रातो सूर्य’ हुनबाट रोकेको छ र ‘सेतो सूर्य’ बनाइदिएको छ ।
‘सेतो सूर्य’ होस् वा ‘कोलो पोथी’, दुवैले माओवादी आन्दोलनको आलोचना गर्छन् । तर, जनयुद्धलाई हेर्ने दृष्टिकोणमा यी दुईका बीचमा ठूलो भिन्नता छ । ‘कालो पोथी’ले जनयुद्धलाई पूरै नकाम ठान्छ भने ‘सेतो सूर्य’ले मूलतः विफल मात्रै मान्दछ । त्यस आन्दोलनले उठाएका मुद्दाहरूप्रति ‘सेतो सूर्य’ले सहानुभूति राख्छ । जनयुद्धको आवश्यकता र औचित्यमाथि ‘सेतो सूर्य’ जति प्रस्ट छ, ‘कालो पोथी’ त्यत्तिकै पूर्वाग्रही र अस्पष्ट छ । ‘सेतो सूर्य’ले माओवादी जनयुद्धलाई वस्तुकरण गर्ने ध्येय राखेको छैन । जनयुद्धलाई विकाउ वस्तुका रूपमा लिएको छैन । ऊ गम्भीर मुद्दामाथि गम्भीरतापूर्वक प्रवेश गरेको छ र जे जस्तो कमजोरी देखिन्छ, त्यसलाई इमानदारीपूर्वक देखाउने प्रयास गरेको छ । नेपाली समाजमा आमूल परिवर्तनका मुद्दाहरू लिएर आएको र बीचैबाट बरालिएको माओवादी आन्दोलनलाई अधिकतम वस्तुनिष्ठ भएर आलोचना गर्नु र उचित ठाउँमा आलोचना गर्नु ‘सेतो सूर्य’को शक्ति हो ।
चलचित्रले नेपाली समाजको वस्तुयथार्थलाई प्रतीकात्मक ढंगले व्याख्या गरेको छ । राप्रपा नेपालको झण्डा ओढाइएको प्रधानपञ्च (राजसंस्था) को लाशलाई घाटमा लगेर पोल्नुपर्ने काम छ । एक्लै लान सकिन्नँ, सहयोगको खोजीमा चन्द्र (माओवादी) अनेकतिर चाहार्छ तर साथ कसैको पाउँदैन । नयाँ संविधानको स्वामित्व लिन नचाहने जनजाति, फुटेर गएको माओवादी र सूरज (राप्रपा) को साथी प्रहरीहरूको घेराबन्दीमा पर्छ । गन्ध आउन थालेको लाशलाई अन्ततः केटाकेटीहरू (नयाँ पुस्ता) ले आफैँ सक्रिय भएर घाटसम्म पु¥याउँछन् ।
नयाँ संविधानसँगै राजतन्त्रको शव घाटमा पुग्यो । अब त्यो फर्केर आउँदैन, न त दुर्गन्धित भएर मानिसहरूलाई दुःख नै दिन्छ । तर, नेपाली समाजका दुःख सकिएका छैनन् । वर्गीय, लिंगीय, जातीय, क्षेत्रीय अन्तर्विरोधहरू संविधानपछि पनि जीवितै छन् । यी अन्तर्विरोधहरू हल गर्ने सामथ्र्य ‘सेतो सूर्य’का निर्देशक रौनियार नयाँ पुस्तातिर खोज्दै छन् । ‘कालो पोथी’का निर्देशक यस्ता अन्तर्विरोध देख्दैनन् । सबै कुरा मिलिराखेकै त थियो, जनयुद्धले सबै बर्बाद पा¥यो भन्ने दृष्टि ‘कालो पोथी’को छ ।
चलचित्रमार्फत राजनीतिक वैचारिक बहसलाई निम्त्याउने कुरामा ‘कालो पोथी’ र ‘सेतो सूर्य’ दुवैको आ–आफ्नो योगदान अवश्य छ तर नेपाली समाजलाई हेर्ने यी दुईको विश्वदृष्टि पूर्णतः विपरीत छ । वर्ग संघर्ष र जनआन्दोलनलाई हेर्ने सौन्दर्यदृष्टिमा पनि १८० डिग्रीको भिन्नता छ । एउटाको विश्वासलाई अर्काले खारेज गरेको छ । ‘कालो पोथी’लाई यथास्थितिको र ‘सेतो सूर्य’लाई परिवर्तनको प्रतिनिधि आवाज भन्न सकिएला तर ‘सेतो सूर्य’लाई ‘कालो पोथी’को अण्डा मान्न सकिन्नँ । सामाजिक जीवनका अनेक आयाममाथि सार्थक र सटिक विश्लेषण वा संवाद गर्ने जुन क्षमता ‘सेतो सूर्य’मा उदात्ततापूर्वक दृश्यमान् भएको छ, ‘कालो पोथी’ त्यसका सापेक्षतामा निकै संकुचित र एकांगी लाग्छ ।
Leave A Comment