टिस्यू कल्चरबाट आलुको बीउ उत्पादन

आइतबार, ०३ पुष २०७३, ११ : २१ दिलीप पौडेल , Kathmandu
टिस्यू कल्चरबाट आलुको बीउ उत्पादन

अन्य आलुको तुलनामा टिस्यु कल्चर प्रविधिबाट तयार गरिएको बीउ लगाउँदा उत्पादन धेरै हुने भएपछि किसान पूर्व बीउमा (प्रिवेसिक सीड) आकर्षित भएका छन् ।
आलुको उत्पादकत्व वृद्धि गर्नको लागि कृषि अनुसन्धान परिषद् (नार्क)ले तयार गरेको टिस्यु कल्चर प्रविधिद्वारा आलुको बीउ उत्पादन व्यावसायिक रूपमा सुरु भएको छ । परम्परागत रूपमा गरिएको खेतीले अपेक्षित उत्पादन दिन नसकेपछि किसानले पूर्व मूल बीउ तयार गर्न थालेका छन् ।
अन्य आलुको तुलनामा यो प्रविधिबाट तयार गरिएको बीउ लगाउँदा अहिलेको तुलनामा करिब ३० प्रतिशत उत्पादकत्व वृद्धि हुने भएकोले बीउ उत्पादनको व्यावसायिक खेती सुरु गरिएको छ ।
ललिलपुरको गोदावरी र वर्दियामा आलुको पूर्व बीउ उत्पादन सुरु गरिएको छ । खुल्ला ठाउँमा लगाउँदा लाही किरालगायत विभिन्न भाइरस सर्ने भएकोले शुद्धीकरण गरिएको माटोमा प्लास्टिकको कृत्रिम घर (ग्रिन हाउस) भित्र उत्पादन गरेकोले भाइरस मुक्त बीउ हो । घाम, पानीलाई नियन्त्रण गर्न ग्रिन हाउसभित्र माटोलाई भाइरसरहित बताइन्छ । बोतलमा आलुको बिरुवा रोपेर पूर्व बीउ (प्रिवेसिक सीड) तयार गरिन्छ । यो प्रविधिमा आलु १०÷२० सेन्टिमिटरमा रोप्ने भएकोले सानो दाना फल्छ । यही प्रक्रियाबाट पाँच वर्षसम्म बीउ उत्पादन गर्दै गएपछि बजारको मागलाई धान्ने गरी खाने आलु उत्पादनको लागि यो बीउ प्रयोग गर्न सकिन्छ ।
ललितपुरको गोदावरी र वर्दियामा आलुको बीउ उत्पादन सुरु गरेको छ । वर्दियामा १ करोड ७ लाख रुपैयाँको लगानीमा यो खेती सुरु गरिएको कुशल एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्टका व्यवस्थापक राम भरोस नेपालले बताए । बीउ उत्पादन गर्नको लागि  साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले ६१ लाख रुपैयाँ सघाएको छ । करिब ४६ लाख रुपैयाँ किसानले लगानी गरेका छन् । ‘अहिले करिब ३० हजार बिरुवा रोपेर बीउ उत्पादन गर्ने तयारी गरिरहेका छौँ,’ नेपालले भने, ‘यसको उत्पादन बढाउँदै लैजाने योजना छ ।’  एक चरणमा एक लाख उत्पादन गरेर ७० हजार दाना बिक्री गरिसकेको उनले बताए । ‘बजारमा १० लाख दानाको माग छ,’ उनले भने, ‘सरकारी तहबाट नै करिब दुई लाख दानाको माग आएको छ ।’
एक दाना लगाएपछि आठ÷१० दाना उत्पादन हुन्छ । बीउ आलुको १० लाख दानाको माग रहेको उनले बताए । यो बीउ अरूको तुलनामा महँगो रहेको छ । एक ग्रामभन्दा ठूलो एक दानाको १८ रुपैयाँ, आधा ग्रामदेखि एक ग्रामलाई १३ रुपैयाँमा बिक्री हुन्छ ।
अहिले मध्यपश्चिममा बांके, वर्दिया, कैलाली, कञ्चनपुरलगायत  जिल्लामा किसान आकर्षित भएका छन् ।
कृषि विकास मन्त्रालयले पनि यो प्रविधिलाई बिस्तार गरेर उत्पादत्व बढाउने योजना बनाएको छ । उत्पादन लागत खर्चिलो भए पनि बीउ तयार गरिसकेपछि त्यो बीउ लगाउने किसानले कम लागतमा धेरै आलु फलाउन सक्नेछन् ।
 तन्तु प्रजनन प्रयोगशालामा बिरुवा उत्पादन गरेर भाइरसरहित बीउ तयार गर्ने भएकोले यसलाई बिस्तार गर्नुपर्ने आलुबाली अनुसन्धानका वरिष्ठ वैज्ञानिक प्रकाश भट्टराईले बताए । ‘आलुमा लाग्ने रोगको कारण उत्पादकत्व घट्छ,’ उनले भने, ‘यो बीउमा कुनै रोगकिराको प्रकोप नभएकाले स्वतः उत्पादन बढ्छ ।’ यसलाई बढाउनको लागि सरकारले पनि अनुदान दिएको उनले बताए ।
नेपालमा आलुको उत्पादन बढाएर आत्मनिर्भर बन्नको लागि यो प्रविधिबाट उत्पादित आलुको बीउ विकल्प भएको कृषि क्षेत्रका अधिकारीको दाबी छ । नेपालमा अहिले करिब १ लाख ९७ हजार ३७ हेक्टर क्षेत्रफलमा आलु खेती हुन्छ । वार्षिक करिब २५ लाख ८६ हजार २ सय ८७ मेट्रिक टन आलु उत्पादन हुने कृषि विभागले चालु आर्थिक वर्षमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । अघिल्ला वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन । अघिल्ला वर्षमा २ लाख ५ हजार ७ सय २५ हेक्टरमा २८ लाख १७ हजार ५ सय १२ मेट्रिक टन आलु उत्पादन भएको थियो । यो तथ्यांकले आलु उत्पादन घटेको देखाउँछ ।
 नेपालको उत्पादनले नथेके पछि करिब ४० करोड रुपैयाँको आलु चिप्स आयात हुन्छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड रुपैयाँको आलु आयात भएको छ । भारत, बंगलादेश, थाइल्यान्डलगायत मुलुकबाट आलु आयात हुँदै आएको हो । आलुबाट तयार गरिने चिप्सलगायत अन्य परिकार पनि १५ भन्दा बढी देशबाट आयात हुँदै आएको छ ।

 

Leave A Comment