क्रिसमस भन्नेबित्तिकै धेरैको दिमागमा क्रिसमस ट्री, सान्टा क्लस, थरीथरीका उपहार, चर्च र येशूको नाममा गरिने प्रार्थना आउने गर्छन् । डिसेम्बर सुरु भएसँगै क्रिसमसको चर्चा हुन थाल्छ । सपिङ मलदेखि चर्चसम्म इसाई धर्मावलम्बीहरूको चहलपहल बाक्लिन थाल्छ ।
धेरै युवायुवतीले क्रिसमस आउन महिनौँ अगाडिदेखि नै योजनासमेत बुन्न थालिसकेँ । पुरानो बानेश्वरकी स्मारिका क्षत्री इसाई होइनन् । तर, उनले यसपालिको क्रिसमसमा नगरकोट घुम्न जाने योजना बनाएकी छिन् । ‘साथीहरूसँग रमाइलो गर्ने भनेकै त यस्तो मौकामा हो,’ स्मारिका भन्छिन्, ‘क्रिसमस मनाउन क्रिस्चियन नै हुनुपर्छ भन्ने छैन ?’ क्रिसमसको बेला जताततै रमाइलो माहोल हुने भएकाले आफू पनि त्यसप्रति आकर्षित भएको उनी बताउँछिन् । स्मारिकाजस्तै अहिले धेरै युवायुवती शहरबजारमा भेटिने गर्छन् । जो भन्छन्– ‘सबै धर्मलाई समान रूपले लिनुपर्छ, त्यसमा रमाउनुपर्छ ।’
ललितपुरका शशि लामा क्रिस्चियन हुन् । क्रिसमसका दिन रमाइलो गर्नका लागि आफू विभिन्न तयारीमा जुटिरहेको उनी बताउँछन् । ‘यसपालि क्रिसमसका दिन बिदा छैन भन्ने सुनेको छु । बिदा नभए पनि म त्यस दिन स्कुल जान्न । चर्च गएर येशूको संगती गर्छु,’ उनी भन्छन्, ‘येशूको संगती गरेपछि पापबाट मुक्त भइन्छ । क्रिस्चियनले मात्र होइन सबैले रमाइलो गर्दै मनाउनुपर्छ क्रिसमस ।’
पुतलीसडकको बेथसा लोम चर्चमा भेटिएकी रीना रोकामगरले ‘क्रिसमस डे’ को नाममा भइरहेका विकृतिप्रति असन्तुष्टि पोखिन् । ‘आजभोलि धेरै युवाले क्रिसमसलाई येशूको सन्देशका रूपमा ग्रहण गरेका छैनन् । उनीहरूले त यसलाई रमाइलो गर्ने पर्वको रूपमा मात्र लिएका छन्,’ रीना भन्छिन्, ‘येशूको जन्मदिनको खुशियालीमा क्यान्डल बालेर केक काट्नेलगायत क्रियाकलाप सकारात्मक भए पनि अनावश्यक खर्च गरेर ठूलठूला पार्टी गर्नु एक प्रकारको विकृति नै हो ।’
नेपाली इसाई मण्डली, ज्ञानेश्वर चर्चका एल्डर सिमोन पाठकको भनाइ पनि रीनासँग मिल्दोजुल्दो छ । पाठकका अनुसार क्रिसमस भनेको येशूको जन्मदिन र उनले दिएको मुक्ति, शान्ति र मिलापको सन्देशलाई उजागर गर्ने दिन हो । उनी भन्छन्, ‘बाहिरी रूपमा देखावटी नभई आत्मादेखि नै येशूको प्रार्थना गर्नुमा नै क्रिसमसले एकप्रकारको सार्थकता बोकेको छ ।’
नेपाली इसाई मण्डली, ज्ञानेश्वर चर्चमा पुग्दा क्रिसमसको तयारीमा धेरै मानिस जुटेका थिए । विभिन्न प्रस्तुतिका लागि र सरसफाइमा युवा तथा बालबालिका व्यस्त देखिन्थे ।
आकाशको सुन्दर तारा, झल्किन्छ यो ह्ृदयमा
गाउँदै जाउँ है खुशीको गीत प्रभू पायौँ आज
हाम्रो पापहरू मेटाउनलाई येशू आए लै बरी लै लै
शून्य रातको त्यो सानो गोठमा बालक येशू जन्मे
लै बरी लै लै.....लै बरी लै लै
चर्चको हलको एउटा कुनामा नाचगानको तयारी भइरहेको थियो । लगभग २५ सय सदस्य भएको उक्त चर्चले यस वर्षको क्रिसमसमा बालबालिकाहरूको प्रस्तुतिलाई समेटेर एक कार्यक्रम गर्ने बताएको छ । यसैको तयारीका लागि चर्चको हलमा क्यारोल गीतमा नृत्य सिकाइँदै आयोजकको भनाइ छ । यता बालबालिका तथा युवा पनि भजन तथा गीतको तालमा आफूलाई ढाल्ने कोसिस गरिरहेका थिए । चर्चका एल्डर सिमोन पाठकका अनुसार वर्षभरि भेटीमा जम्मा भएको पैसा क्रिसमसमा खर्च हुने गरेको छ । क्रिसमसको बेला चर्चमा मात्र नभई विभिन्न समूह बनाइ चोकचोक र गल्लीगल्लीमा समेत एक प्रकारको घरेलु संगती गर्ने गरिन्छ । यस प्रकारको क्रियाकलापले एकआपसमा एकताको भावना उजागर गर्ने पाठकको भनाइ छ ।
क्रिसमसका दिन चर्चमा नाचगान गर्ने, बेलुन उडाउने र रमाइलो गर्ने गरिन्छ । राजधानीका विभिन्न चर्चमा क्रिसमसको तयारी भव्यतापूर्वक भइरहेको छ । क्रिसमस नजिकिँदै गर्दा बालबालिका र युवाका साथसाथै वृद्धवृद्धाहरूमा समेत यसको रौनक देखिन थालेको चर्चको रौनकले प्रष्ट बताउँछ । पुतलीसडकस्थित बेथसा लोम चर्चका पास्टर देवकुमार क्षत्री पनि क्रिसमसको तयारीमा जुटेका थिए । पाटन चर्चका एल्डर शेर एसीले १० गते जावलाखेलमा एक कार्यक्रमका बीच क्यारोल गीतसहित क्रिसमस कार्यक्रमको आयोजना गर्ने बताए । त्यस्तै, आफ्ना शाखाका विभिन्न मण्डलीहरूमा पनि सोहीअनुसार तयारी भइरहेको उनको भनाइ छ । क्रिसमसको आगमनसँगै विश्व नै हर्षमय भएको क्षत्री बताउँछन् । आजको युवापुस्ताले फेसनका रूपमा क्रिसमसलाई लिएकोमा उनले दुःख व्यक्त गरे । ‘क्रिसमस बुझेकाभन्दा नबुझेकाले बढी मनाउन थालेका छन् । युवापुस्ताका लागि क्रिसमस एक प्रकारको फेसन हुन पुगेको छ,’ उनी भन्छन्, ‘क्रिसमसको नाममा पार्टी राख्ने, जाँडरक्सी खाने कामले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ । असल र अनुशासित ढंगबाट क्रिसमस मनाए मात्र यसले सार्थकता पाउनेछ ।’
Leave A Comment