डा.मदनकुमार पिया
दम तथा क्यान्सर रोग विशेषज्ञ
सामान्य भाषामा स्वाँस्वाँ आउनुलाई दम भनिन्छ । तर, दौडिदा, उफ्रदा, खेल्दा र लामो यात्रामा हिँड्दा हुने स्वाँस्वाँलाई भने दम भन्न मिल्दैन । यसलाई शरीरले पचाउन सक्ने र बिस्तारै सामान्य अवस्थामा आउने भएको कारण दम भन्न मिल्दैन । दम मुख्यतया फोक्सोको रोगका कारणले हुन्छ । यसको साथसाथै मुटु, मिर्गौला र कलेजोलगायत रोगको कारणले पनि दम हुन सक्छ । दमलाई विशेष गरी दुई किसिममा विभाजन गरिएको हुन्छ । पहिलो भनेको ‘आज्मा’ दम हो । यो दमलाई औषधिको माध्यमबाट उपचार गर्न सकिन्छ । त्यस्तै अर्को भनेको ‘सीओपीडी’(क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) दम हो । यो दम औषधिले काम नगर्ने खालको रोग हुन्छ ।
रोगमध्ये सीओपीडी दम संसारभरिमा चार नम्बरमा पर्छ । केही वर्षपछि तीन नम्बरमा आउँछ भनेर विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । मुटुको रोेग र क्यान्सरपछि दमको रोग पर्न जान्छ । विश्व स्वास्थ्य संगठनले चुरोटबाट लाग्ने सीओपीडी दम एक नम्बरमा परको तथ्यांक निकालेको छ । त्यस्तै नेपालमा २० वटा रोगमा गरिएको अध्ययनमा आज्मा दम १३ औँ नम्बरमा पर्छ ।
आज्मा दम एलर्जीको कारणबाट हुने दम हो । प्रदूषित वातावरण, धुवाँधुलो फूलको पराग, खानेकुरा आदिबाट एलर्जी भएर यस प्रकारको दम हुन्छ । यो पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा हुने दम हो । सामान्य अवस्थामा बसिरहेको मान्छेलाई एक्कासि श्वास फेर्न गाह्रो हुँदा यो दम लागेको शंका गर्न सकिन्छ । एलर्जी भएपछि नाकबाट पानी आएर हाँच्छिउ आएपछि यो दम सुरु हुन्छ । कतिपय अवस्थामा रोगी बेहोससमेत हुन सक्छ । औषधि सेवनपछि यसलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । फोक्सो नबिग्रिएको हुनाले यो दममा औषधिले काम गर्छ । यस्तो अवस्थामा रोगीले आफूलाई एलर्जी भएका कुराहरूबाट टाढै बस्नुपर्छ । जस्तैः आफूलाई कुन खानेकुरा खाँदा एलर्जी हुन्छ पहिचान गरी त्यस्ता खानेकुरा खानुहुँदैन ।
त्यस्तै सीओपीडी दमबारे चर्चा गर्नुपर्दा चुरोट, धुलो र गाउँघरमा चुलो बाल्दा निस्कने धुँवाबाट यो दम हुन्छ । विशेष गरी ४० वर्षदेखि माथिका उमेर समूहका मानिसमा यस प्रकारको दम बढी देखिने गर्दछ । यो दम लागेपछि खोकी लाग्ने, स्वाँस्वाँ हुने, श्वास फेर्न गाह्रो हुने हुन्छ । खकार बढी आउने, सानो काम गर्दा पनि स्वाँस्वाँ बढ्ने, छाती फुल्ने तथा दुख्ने, भ¥याङ उक्लँदा वा उकालीओराली गर्दा श्वास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन् । दमका यस्ता लक्षण थाहा पाइसकेपछि पनि हेलचेक्रयाइ गर्दा मुटुमा अक्सिजन पुग्दैन र मुटु र शरीर दुवै फुल्दै हार्ट फेलसम्म हुने सम्भावना हुन्छ । चुरोट वा धुँवाले फोक्सो बिग्रिएको हुनाले उपचारले छुँदैन ।
जाडो मौसममा भाइरल इन्फेक्सनले रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । यस्तो अवस्थामा श्वासनली साँघुरो भएर बाधा उत्पन्न हुन्छ । यसको कारण पनि श्वासप्रश्वासमा समस्या आउँछ । अरू, मौसमभन्दा जाडोमा दमका रोगी बढ्छन् । जाडोमा कमन कोल्ड र भाइरल इन्फेक्सनका कारण रोगीको संख्या वृद्धि भएको हो । जाडोमा धेरै धुलोका कणबाट संक्रमणमा हुने भएकाले यो समस्या देखिएको हो । दम भएका बिरामी जाडो मौसममा थप चनाखो हुनुपर्छ । यस्ता बिरामीलाई चिसोका कारण श्वासप्रश्वासमा विभिन्न समस्याले सताउन सक्छ । जाडो भयो भन्दैमा दमका रोगी झ्याल–ढोका पूरै बन्द गरेर गुमुक्क परेर बस्नु हुँदैन । यसरी बस्दा अक्सिजन कम भएर थप श्वास फेर्न असहज हुन्छ । जाडोबाट दमको रोगबाट बच्नको लागि फ्लू भ्याक्सिनले पनि निकै सहयोग पु¥याउँछ । पाँच वर्ष माथिका सबैले यो भ्याक्सिन लगाउन सक्छन् । यसले कुनै पनि प्रकारको असर गर्र्दैन । सामान्य रुघाखोकी हुनबाट मानिसहरूलाई बचाउन यसको प्रयोग गर्ने गरिन्छ । त्यस्तै निमोनिया भइरहनेहरूले भने निमोनिया भ्याक्सिन पनि लगाउन सक्छन् ।
Leave A Comment