अर्जनु खालिङका केही कविता

शनिबार, ०९ पुष २०७३, ०१ : ५५ शुक्रवार , Kathmandu
अर्जनु खालिङका केही कविता

कार्टुन राजनीति
बोलाउँदाबोलाउँदै
छोरीलाई खालिङ भाषामा
बिजमलाललाई पो
आज उल्टै बोलायो छोरीले–
हिन्दी भाषामा !

हेर्दाहेर्दै टीभीमा
‘मोटु और पत्लु की जोडी’
‘कृष्ण बलराम’
हिन्दी कार्टुनहरू
छोरी त आफैँ पो
बनिसकेछ– कार्टुन !

सोच्यो बिजमलालले–
‘खालिङ भाषामा पनि
बनाउनुपर्ने रै’छ कार्टुन ।’

खेती
साकेलाको भोलिपल्ट
हिजोपल्टको ह्याङलाई मेट्दै
बिजमलालले सोच्यो–
पोहोर र यसपालिको साकेलामा
फरक भएको छ धेरै कुरा
तलमाथि परेको छ ठूलै गणित

‘‘तोङ्बाको रमरममा
ढुङ्कु ढुङ्कु, झ्याम्म झ्याम्म
धेरै नाचियो
 
तर,
टुँडिखेलको साटो
नाच्नुपर्ने थियो बानेश्वरमा
अस्तित्वको सिली
सिंहदरबारमा छिराउनुपर्ने थियो
बुद्धिको साकेला !

एउटा चराले त खतराको बेला
आफ्नो भाका फेर्छ भने
एउटा कमिलाले त
आफ्नो चाल फेर्छ भने
हामी त मान्छे पो त !
 
साकेलामा
‘खम्निम्य’सँग
राजनीति सुब्बेफाब्बे होस् भनेर
खै कहिले पो माग्यौँ र ?
माग्यौँ त केवल–
‘अन्नबाली सप्रियोस् ।’

साँच्चिकै यसपालि
मकै, कोदो बेस्मारी फलेछ
तर, धान्नलाई
सिंगो विरासत

अब गर्नुपर्छ राजनीतिको पनि खेती ।’’   

खम्निम्यः खालिङ राईहरूको पूजनीय आदिम पुर्खा
 

रेड पान्डा र आदिम अनुहार
मान्छेलाई मार्नुभन्दा
ठूलो अपराध मानिन्छ
रेड पान्डालाई मार्नु !

रेड पान्डा हराए
यो ग्रहकै इकोलोजी बिग्रन्छ रे
एउटा चल्लालाई त
बेसारोले टिपी लाँदा
हा...गरी पठाइन्छ भने
एउटा सियो हराउँदा त
धुलो फुकीफुकी खोजिन्छ भने
तर, हराउँदा एक आदिम अनुहार
मेटिँदा मान्छेकै सभ्यता
किन बोल्दैन देशको एन्थ्रोपोलोजी ?
किन बोल्दैन यहाँको सोसियोलोजी ?

अचम्म !
हामी त
रेड पान्डा जत्ति पनि रहेनछौँ हगि ?

बागी निबन्ध
लामो समयपछि
आज आयो याद
‘गाई निबन्ध’को

हो नि
महेन्द्रमाला पाठ्यक्रमको
अनिवार्य प्रश्न
उफ् !
उहिले हामी क्या रटान दिन्थ्यौँ
सरकारी निबन्ध
सिफारिस निबन्ध
‘गाई निबन्ध’

हाम्रा नेपाली गुरुबा
गाईको फाइदैफाइदा
देख्ने काइदास्वरूप
दिनुहुन्थ्यो गायत्री मन्त्र–
‘राष्ट्रिय जनावर हो गाई
माता हो,
लक्ष्मी हो, देवी हो’

तब धस्थ्यौँ कलम जोडतोडले
‘गाईको दूध साह्रै पोसिलो
गहुँत गंगाजल
गोबर मल’
आदि आदि...

आज फेरि धेरै वर्षपछि
सँगै याद आयो गाई र सुँगुरको

सुँगुर...?
‘सुँगुरजस्तो फोहोरी
सँुगुरजस्तो बुद्धु’
सुँगुरलाई गाली मात्रै
किन गरियो ?
 
सुँगुरको
स्वादिलो, बोसिलो मासुसँगै
सुँगुरकै लिदीमा
हलक्किएको रायो सागको
भुटुवासँग तोङ्बा तान्दै
गमिरहेछु–

‘किन रटाइएन होला
सुँगुरको निबन्ध ?’
 

मुक्ति
जब कुखुराको ‘वाचिप्पा’ सँगै
तान्छु छिप्पिएको तोङ्बा
टाउको मात्रै नभएर
टाउकोभित्र केही भेट्टाउँछु

जब कोदोका गेडाहरू पटपट फुट्दछन्
भकभकी उम्लन्छन् गिदीमा लाभाहरू

टाउको–
जसलाई नराम्ररी चेप्ट्याएथेँ
डोको–क्यारीले
जसलाई ह्याङ बनाएथेँ
रोयल स्ट्याग र म्याक डोवेल्सहरूले

रिफ्रेस हुँदैछु
रिएक्टिभ हुँदैछु
हुँदैछन् रिभ्यू
केही पपुलर डेटहरू–
सात साल, सत्र साल
छत्तीस साल, छयालिस साल
बैसट्ठी–त्रिसट्ठी साल

अचानक !
आफैँले गरेका चुनावी भित्तेलेखनहरू
चोप्रा भिर रन्काउने माइकिङहरू
डिलिट हुन्छन् मेरो टाउकोबाट
र, मुक्त हुन्छु भ्रमको दलदलबाट
उक्लिन्छु अरूको रमिताको दर्शकबाट
निक्लन्छु अरूको चर्तिकलाको तालीबाट

फम्र्याटेड छु पुराना डाटाबाट
अब यो खाली स्पेसमा
इन्स्टल गर्नु छ
अर्गानिक चुनाव चिन्ह ।

वाचिप्पाः डढाएको कुखुराको भुत्ला र चामलबाट बनाइएको किराती परिकार

बिजमलालका दश छुट्टी
पहिलो छुट्टीमा
बिजमलालले
चुक्ता ग¥यो लगेको ऋण

दोस्रो छुट्टीमा
खरको छानोलाई चेदर बनायो

तेस्रो छुट्टीमा
बाँध्यो हातगोडा

चौथो छुट्टीमा
खोज्यो डेरा काठमाडौँमा
र, ल्यायो बिजमफूललाई

पाँचौँ छुट्टीमा
ग¥यो छोरोको न्वारान
दियो देउसीमा गतिलो दान

छैटौँ छुट्टीमा
बुझायो बोर्डिङको विकासे बिल
बिजमफूललाई किनिदियो स्कुटी

सातौँ छुट्टीमा
भाइलाई कलेज हाल्यो
बैनीको बिहा भो

आठौँ छुट्टीमा
फाल्यो क्यान्सरसँगै आमाको पाठेघर
काट्यो अल्सरसँगै बाउको आन्द्रा

नवौँ छुट्टीमा
ति¥यो ऋण छोडिजाने बिजमफूलको
छुटायो छोरालाई पढाइबाट
 
बिजमलाल
अहिले दशौँ छुट्टीमा छ
ढल्कँदै गरेको ज्यान लिएर
फर्केको छ गाउँ
गर्न बाउको किरिया
र, बनाउन
छोराको पासपोर्ट ।

 

Leave A Comment