पत्रकार भोगीराज चाम्लिङ अनुसन्धानपरक लेखनमा रुचि राख्छन् । उनको संकलन तथा सम्पादनमा २०७१ मा ‘मुन्दुमः सृष्टिकथा’ र भर्खरै उनकै सम्पादनमा ‘मुन्दुमः होसुङ’ प्रकाशित भएको छ । उनीसँग शुक्रवार साप्ताहिकका लागि सुजित मैनालीले गरेको कुराकानीः
कम्युनिस्टहरू धर्मलाई अफिम मान्छन् । तपाईं पनि आफूलाई कम्युनिस्ट भन्नुहुन्छ । मुन्दुमसम्बन्धी किताब लेखेर तपाईंले जानाजान आफूलाई अफिमको अम्मली बनाउनुको कारण के हो ?
धर्मबारे कम्युनिस्ट मान्यताप्रति मेरो अहिले पनि असहमति छैन । तर, धर्मको आवरणभित्र पुरिएको सभ्यताको उत्खनन नगर्ने कुराप्रति भने मेरो विमति छ । म एउटा उदाहरण दिएर मेरो कुरा स्पष्ट पार्छु । ऋग्वेदलाई हिन्दूहरूको महान् धर्मग्रन्थ मानिन्छ । त्यो पनि कुनै बेला मुन्दुमजस्तै मौखिक थियो । विद्वान्हरूका अनुसार ऋग्वेदको अन्तिम लेखन आजभन्दा मात्र छ सय वर्षअघि भएको हो । ऋग्वेद नभएको भए भारत आइपुगेका आर्यहरूको ज्ञान र इतिहास अन्धकारमय हुने थियो । ऋग्वेद दस्तावेज हो, ज्ञान र सभ्यताको । त्यसलाई धर्मग्रन्थ भनेर पन्छाउने कि ऋग्वेदमार्फत आर्य सभ्यताको अध्ययन गर्ने ? ऋग्वेदलाई पूजा गर्ने होइन, त्यसमार्फत तीन हजार वर्ष पहिलेको इतिहास पढ्ने हो । त्यस्तै हो मुन्दुम पनि । अहिलेसम्म पनि मौखिक परम्पराबाटै एकदेखि अर्को पुस्तामा स्तान्तरण हुँदै आएको मुन्दुम लेख्य रूपमा जोगाएर किरातीहरूको हजारौँ वर्ष पुरानो ज्ञान र सभ्यताको अध्ययन गर्नु छ । त्यस अर्थमा म किराती ज्ञान र सभ्यताको अम्मली हुँ । मेरो अहिलेको प्रारम्भिक अध्ययनअनुसार मुन्दुम कम्तीमा पनि दुई हजारदेखि पाँच हजार वर्ष उताको समयको कथा हो ।
कुन ध्येयपूर्तिका लागि ‘मुन्दुमः होसुङ’ सम्पादन गर्नुभएको हो ?
यो पुस्तकमा चाम्लिङ राईहरूका बीचमा प्रचलित जन्मदेखि मृत्युसम्मका संस्कार विधि र मुन्दुम संकलन गरिएको छ । यसको प्रकाशन आफ्नो संस्कार–संस्कृति जोगाउने किरात राई चाम्लिङ खाम्बातिम संस्थाको अभियानका कारण सम्भव भएको हो । यही संस्थाले गठन गरेको मुन्दुम अनुसन्धान कार्यसमितिका संयोजक हुनुहुन्छ, जयकुमार राई । उहाँको हुटहुटीको परिणाम पनि हो । मेरा लागि चाहिँ ‘मुन्दुमः होसुङ’ दुई हजार वर्ष पहिलेका किराती र उनीहरू बाँचेको समय अध्ययन गर्ने गजब माध्यम बन्न पुगेको छ । यसमा संकलन गरिएको एउटा संस्कार छ ‘वाइको’ जुन संस्कार गर्दा नछुङ (धामी)ले गाउने मुन्दुमले सिन्धुघाटीको सभ्यतासँग किरातीहरूको सम्बन्ध रहेको देखाउँछ । किरातीहरूको प्राग्इतिहास र उनीहरूको दर्शनबारे अध्ययनमा मेरो रुचि छ । यही ‘वाइको’ संस्कारका आधारमा ‘मुन्दुम र सिन्धुघाटीको सभ्यता’ शीर्षकमा म त्रिभुवन विश्वविद्यालय, संस्कृति विभाग स्नातकोत्तर तहको लागि शोध गर्ने तयारीमा पनि छु ।
किताबबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
पुस्तकप्रति उत्साहजनक प्रतिक्रिया आइरहेको छ । प्रकाशक संस्था खाम्बातिमले दोस्रो संस्करणको तयारी गर्दै छ रे भन्ने सुनेको छु । व्यक्तिगत रूपमा मलाई पनि गज्जब ‘अफर’ आइरहेको छ । केही साथीहरूले ‘मुन्दुममाथि पीएचडी गर्, हामी मद्दत गर्छौं’ भन्दै छन् । झ्वाँक चल्यो भने यो काम पनि गर्ने सुरमा छु ।
मुन्दुमका संस्करणहरूबीच एकरूपता पाइँदैन । देउता चढेको बेला नछुङ, फेदाङ्वाले भट्याउने कुरा पनि मुन्दुम नै हो रे । यस्तोमा मुन्दुमको वैज्ञानिक अनुसन्धान गर्न अप्ठेरो पर्दैन ?
मौखिक परम्पराबाट जोगाइँदै आएकोले मुन्दुममा आ–आफ्ना हिसाबले थपघट भएको छ । आफूले बाँचेको समयको कुरा थपिनु स्वाभाविक पनि हो । किनभने, मुन्दुम भनेकै पुस्ता दरपुस्ताले एकपछि अर्को गर्दै थपघट गर्दै जोगाएको हो । तर, मुन्दुमका मूलभूत कुरामा कुनै भिन्नता छैन । तपाईंले भन्नुभए जस्तै मुन्दुम गाउने नै नछुङ, फेदाङ्वाहरूले हो । अहिले पो ज्ञान जोगाउने थुप्रै माध्यम छन् । पुस्तक, अडियो, भिडियो आदिइत्यादि । तर, कुनै बेला त त्यस्तो थिएन । मौखिक परम्परा मात्रै त्यस्तो माध्यम थियो । त्यस्तो युगका किराती पुर्खाहरूले आफ्नो ज्ञानलाई जोगाउने माध्यम नछुङ, फेदाङ्वाहरूलाई बनाए । उनीहरू किराती समाजका प्रथम बुद्धिजीवी र ज्ञान हस्तान्तरणका माध्यम हुन् । सायद ग्राम्सी उनीहरूलाई ‘अग्र्यानिक इन्टेलेक्चुअल’ भन्थे होलान् । संस्कार गर्दा अनिवार्य रूपमा फलाक्नुपर्ने भएकैले गर्दा मुन्दुम आजसम्म जोगिएको हो ।
‘मुन्दुमः होसुङ’मा तपाईंले सिन्धुघाटी सभ्यता निर्माणमा किरातीहरूको योगदानको चर्चा गर्नुभएको छ । तपाईंको यो दाबीको आधार के हो ?
सिन्धुघाटीको सभ्यता निर्माणमा किरातीहरूको योगदान कति थियो, त्यसबारे अहिले नै यसै भन्न सकिँदैन । तर, किरातीहरू सिन्धुघाटीमा पुगेका थिए भन्नका लागि चाहिँ सात तथ्यहरू छन् । ‘वाइको’ संस्कार गर्दा गाइने मुन्दुममा सिन्धुघाटीको सन्दर्भ आउँछ । त्यो कथाअनुसार नदीकिनारमा बस्ने पुल्लिकमाला भएको नागजातिसँग किराती युवाको विवाह भएको थियो । यो कथालाई पुराताŒिवक खोजसँग दाँजेर हेर्दा कुरा खुलस्त हुन्छ । एक, पुराताŒिवक उत्खननअनुसार सिन्धुघाटीमा नागको पूजा गर्ने नागजाति (द्रविड) थियो । दुई, सिन्धुघाटीको सभ्यतामा इसापूर्व दोस्रो र पहिलो शताब्दीमा पुल्लिकमाला उत्पादन हुन्थ्यो र नेपाल, चीन र युरोपसम्म व्यापार हुन्थ्यो । तीन, वाइको संस्कार गर्दा मुन्दुममा महादेवको कुरा बारबार आउँछ । अहिले महादेव भनिने शिवको प्रतीक शिवलिंग पूजा सिन्धुघाटीबाटै सुरु भएको हो । चार, सिन्धुघाटीमा शिवको पूजा गर्नुभन्दा पहिले मातृदेवीहरूको पूजा हुन्थ्यो । वाइको संस्कार गर्नुभन्दा पहिले ‘मारिमोहोँमा’ नामको मातृदेवीको पूजा गर्ने चलन छ । पाँच, सिन्धुघाटीमा मंगोलहरूको हाड फेला परेको छ । किरातीहरूलाई पनि मंगोल मूलकै मानिन्छ । छ, किरातीहरूले मासुका रूपमा उपभोग गर्ने गाई, भैँसी र सुँगुरको हाड फेला परेको छ । सात, वाइको मुन्दुममा बसाइँसराइको जुन कथा भनिन्छ, त्यसअनुसार किरातीहरू योँला (सिन्धुघाटी) बाट क्रमशः गंगाको मैदान हुँदै थारु, वृज्जि संघ हुँदै सप्तकोशी तरेर पूर्वी नेपालका पहाडहरूमा उक्लिएका हुन् । बसाइँसराइको ‘रुट’ले पनि किरातीहरू सिन्धुघाटीबाट आएको देखाउँछ ।
किराती र गैरकिराती समुदायले मुन्दुम अध्ययन गर्न किन आवश्यक छ ?
हरेक समुदायको आ–आफ्नै सम्पदा छ । सयौँ वर्ष लगाएर निर्माण र आजसम्म मुस्किलले जोगाइएको मुन्दुम विश्वकै लागि दुर्लभ बौद्धिक सम्पदा हो । यो जोगाउँदा किरातहरू मात्र होइन, सिंगै नेपाली समाजको विविधता जोगिने हो । अर्को कुरा, इतिहास र सभ्यताको अध्ययनका लागि लिखित सामग्री मात्र पर्याप्त छैन । किनभने, लेख्य परम्पराभन्दा अघि पनि सभ्यता थियो, इतिहास थियो । त्यो जान्नका लागि मुन्दुमजस्ता मौखिक सामग्री अध्ययन नगरी हुँदैन । किराती समाज र सभ्यतालाई बुझ्नु छ भने मुन्दुम नजानी, नपढी हुँदैन । लेख्य इतिहासको ‘हेजिमोनी’ले थिचिएर मुन्दुमजस्ता मौखिक सम्पदाहरू मर्न दिनु हुँदैन ।
किताब तयार गर्दा पढेका किराती सभ्यता र संस्कृतिसम्बन्धी किताबमध्ये मनले खाएका केही किताबको नाम लिनुप¥यो भने ?
चाम्लिङ नछुङ (धामी)हरूले संस्कार गर्दा गाउने मुन्दुमको संकलन तथा खस–नेपाली र अंग्रेजी भाषामा गरिएको अनुवाद हो ‘मुन्दुम होसुङ’ । मैले यसको सम्पादन गरेको हुँ । मुन्दुमको अध्ययन–विश्लेषणका लागि मेरो आँखा खोल्ने पुस्तकहरू चाहिँ पुरातŒवसँग सम्बन्धित छन् । खास गरी, भारतीय इतिहास तथा संस्कतिविद्का पुस्तक मेरा लागि महŒवपूर्ण रहे । ती केही पुस्तकहरू हुन् देवीप्रसाद चट्टोपाध्यायको ‘रिलिजन एन्ड फिलोसफी’, आरसी मजुमदारले सम्पादन गरेको ‘द वैदिक एज’, दामोदर धर्मानंद कोसंबीको ‘मिथक और यथार्थ’, रामशरण शर्माको ‘आर्य एवं हडप्पा संस्कृतियों का भिन्नता’ आदि ।
किरात मुन्दुममाथि अनुसन्धान गरेर लेखिएकामध्ये मार्टिन ग्यान्स्लेको ‘ओरिजिन एन्ड माइग्रेसन’, एन.जे. एलेनको ‘मियप्मा’ रहे । यस क्रममा बैरागी काइँलाले संकलन गरेको लिम्बू मुन्धुम र किरात राईहरूका थुप्रै मुन्दुमका पुस्तकहरूबाट लाभ लिएको छु ।
Leave A Comment