नायक, नायिका र राजनीति

आइतबार, १० पुष २०७३, ०१ : १९ माधव ढुङ्गेल , Kathmandu
नायक, नायिका र राजनीति

नेपालमा शिवशंकर मानन्धरलाई पहिलो नायक भनिन्छ । त्यसपछि नायकै भनेर चिनिएकामा भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, सरोज खनाल, श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझी, विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देल, राजवल्लभ कोइराला, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी आदि मुख्य छन् । नेपाली समाजले यिनीहरूको सामाजिक छवि नै नायकका रूपमा निर्माण गरिसकेको छ । औपचारिक कार्यक्रममा समेत यिनीहरूलाई नायक भनेर सम्बोधन गरिन्छ । राजेश हमाललाई त अझ महानायक नै भनेको पनि सुनिन्छ ।
सामान्य अर्थमा जसले बहादुरीका साथ काम गर्छ, जसले मानिसहरूलाई ज्यादा अर्थपूर्ण जीवन बाँच्नका लागि प्रेरित गर्छ, जसले आदर्शपूर्ण जीवन बाँचेर देखाउँछ, जसले अनुकरणयोग्य काम गर्छ, त्यो नायक हो । पूर्वीय काव्यशास्त्रमा आकस्मिक घटना आइपर्दा नहड्बडाउने, जुनसुकै प्रकारको बाधा अड्चनलाई पार लगाउने र अन्ततः त्यसमा विजय प्राप्त गर्ने पराक्रमी व्यक्तिलाई नायक भनिएको छ । पश्चिममा जसलाई हिरो भनिन्छ, त्यो ग्रिक भाषाको ‘हेरोस’ शब्दबाट बनेको छ र ग्रिसेली भाषामा जसको अर्थ कठिन र दुष्कर समयमा पनि आत्मविश्वास नगुमाई बहादुरीपूर्वक राम्रो काम गर्ने वा ज्यानै पनि दिन पछि नपर्ने व्यक्ति भन्ने हुन्छ ।
चलचित्रमा हाम्रा नायकहरूले माथि भनिएका जस्ता काम पनि गर्लान् तर चलचित्रभन्दा बाहिर समाजमा तिनीहरूले त्यस्तो महŒवपूर्ण र गौरवशाली काम के गरे ? यो खोजको विषय छ । राम्रो र प्रेरणादायी काम गर्नेलाई नायक भन्ने हो भने राजेश हमाल वा भुवन केसी होइन, बरु सीताराम कट्टेल (धुर्मुस) लाई नायक भन्नुपर्ने हुन्छ । नायक वा महानायक भनिनेहरूले गर्न नसकेको सामाजिक सेवाको काम भूकम्पपीडितलाई घरहरू बनाइदिएर सीतारामहरूले गर्न सके । तर, नायकको पगरी गुथ्ने अवसर सीतारामहरूलाई छैन । उनलाई मानिसहरू नायक होइन, ‘धुर्मुसे’ भनेर इज्जत गर्छन् ।
जसलाई हामी नायक भनेर बोलाइरहेका छौँ, तिनीहरू खासमा स्टार हुन् । धेरै पारिश्रमिक लिएर चलचित्रमा अभिनय गर्ने महँगा कलाकार हुन् । उनीहरूको अभिनय कम र अनुहार ज्यादा बिक्छ । उनीहरूको शरीर बिक्छ । ज्यादा बिकाउ कलाकारलाई यस क्षेत्रले स्टार भन्छ र स्टारलाई प्रायः मुख्य भूमिकामा अभिनय गर्ने जिम्मा दिइन्छ । चलचित्रभित्र जहिले पनि एकै प्रकारको भूमिका (नायकको भूमिका) मा देखिएकाले आदतवश दर्शकलाई उनीहरू नै नायक जस्ता लाग्न थाले र नायक भनिन थाले । सञ्चार माध्यमले नायक भनेर सम्बोधन गरे । विज्ञापन प्रदायक कम्पनी समेतको स्वीकार्यतामा ती स्टार बने । स्टारलाई कसैले कलाकार मात्रै भनेर सम्बोधन ग¥यो भने सायद उनीहरूले अपमानबोध गर्छन् ।
चलचित्रलाई कलाकृति मान्ने हो भने चलचित्रको नायक सांस्कृतिक नायक हो । सांस्कृतिक नायकसँग केही न केही नैतिक र सौन्दर्यगत गुण हुन्छन् । जो मूलतः मानवीय हुन्छ, अग्रगामी हुन्छ र अरूको समेत हितलाई ध्यानमा राखेर बाँच्ने प्रकारको हुन्छ । उसमा केही अनुकरणीय गुण हुन्छन् जसले उसलाई सामान्य मानिसभन्दा माथि उचाल्छ । ऊ मानिसका आत्मिक र सौन्दर्यात्मक आवश्यकतालाई परिपूर्ति गर्ने प्रकारको व्यक्ति हुन्छ जसका चिन्तन र व्यवहारमा आम मानिसका आकांक्षाले आकार पाउँछन् । उसमा केही आदर्श हुन्छन् जसले दर्शकको भावात्मक, वैचारिक वा आत्मिक सौन्दर्यलाई प्रतिविम्बित गर्छन् । समाजका मरणशील होइन, प्रेरणादायी प्रवृत्तिहरूको प्रारूपीकरणले कुनै चरित्रलाई नायकत्व प्रदान गर्छ ।
चलचित्रमा कथा जसको वरिपरि घुम्छ, त्यो पनि नायकै भनेर चिनिन्छ । मुख्य चरित्रलाई नायक भन्ने चलन चलचित्र क्षेत्रमा छ । जसको कथा चलचित्रले देखाएको छ, उही त्यहाँको नायक हो । विसंगतिवादी चलचित्रको नायक विसंगतिवादी नै पनि हुन सक्छ । प्रगतिवादी चलचित्रको नायक प्रगतिवादी नै हुन्छ । यसरी हेर्दा नारी समस्यामा आधारित चलचित्रको नायक नारी नै पनि हुन सक्छ । प्रोटागोनिस्ट र एन्टागोनिस्टका दृष्टिले हेर्ने हो भने चलचित्रको केन्द्रमा रहेको सकारात्मक चरित्र, त्यो पुरुष होस् वा महिला, ऊ नायक नै हो तर हिरो र हिरोइनको अर्थमा हाम्रो समाजले नायक र नायिकालाई बुझ्ने गरेको छ, नेतृत्वकर्ता नै भए पनि महिला भएपछि उसलाई नायिका भन्ने गरेको छ ।
नायक होस् वा नायिका, त्यसको स्थान खास क्षेत्र वा संरचनाभित्र हुन्छ । राम्रो उत्पादन गर्ने किसान कृषि क्षेत्रको नायक हुन्छ । राम्रो पढाउने शिक्षक विद्यालयभित्रको नायक हुन्छ । राम्रो उपचार गर्ने डाक्टर स्वास्थ्य क्षेत्रको नायक हुन्छ । सामाजिक सेवा गर्ने अग्रणी व्यक्ति उक्त समाजको नायक हुन्छ । कसैले बीपी कोइरालालाई जननायक भने । उनको क्षेत्र राजनीति थियो । स्तरीय लेखक भएर पनि साहित्यमा उनलाई त्यो परिचय प्राप्त छैन । नाटकमा पनि नायक हुन्छ र त्यसको भूमिकामा अभिनय गर्ने कलाकार हुन्छ तर उसलाई समाजले नायक भन्दैन । एउटा क्षेत्रको व्यक्ति सोही क्षेत्रको नायक हुन सक्छ, सर्वत्र नायक हुन सक्दैन । केवल चलचित्र नै यस्तो क्षेत्र भएको छ जहाँ कथाभित्रको नायकको भूमिका निर्वाह गर्ने खास व्यक्तिलाई कथाबाहिरको समाजमा पनि नायक भन्नुपरेको छ ।
चलचित्रको नायकलाई मात्रै नायक भन्ने आदत जति खराब आदत हो, उस्तै काम गर्ने व्यक्ति महिला रहेछ भने उसलाई नायक नभनेर नायिका भन्नुपर्ने आदत पनि त्यत्तिकै घातक छ । महिला होस् वा पुरुष, गाडी हाँक्छ भने ऊ चालक हुन्छ । खेती गर्छ भने किसान हुन्छ । उपचार गर्छ भने डाक्टर हुन्छ, डाक्टर्नी हुँदैन । डाक्टर्नी भनेको डाक्टर होइन, डाक्टरकी पत्नी हो जसको इज्जत डाक्टरको जत्ति कहिल्यै पनि हुँदैन । नायक भन्नु पनि यस्तै हो । सतहमा हेर्दा यो सामान्य जस्तो देखिए पनि गहिराइमा हेर्ने हो भने यसले महिलालाई कहिल्यै पनि नायक बन्नै नदिने गरी थिचिदिएको छ ।
अनुराधा कोइरालालाई ‘सीएनएन हिरो’ किन भनेको ? ‘हिरोइन’ किन नभनेको ? किनभने त्यो कामलाई गरेको सम्मान हो, महिला वा पुरुषलाई होइन । महिला होस् वा पुरुष, राम्रो काम गर्ने व्यक्ति नायक हुन्छ, नायिका भनिरहनु पर्दैन । चलचित्रमा पनि त्यही हुन्छ । दर्शकलाई उन्नत संस्कृतिका दिशामा अभिप्रेरित गर्ने चरित्र चाहिँ नायक हो, व्यक्ति कलाकार नायक होइन । महिला होस् वा पुरुष, नायक बन्नलाई लिंगले फरक पार्दैन, कामले पार्छ ।

 

Leave A Comment