महँगा अनमोल

बुधबार, ०८ असार २०७३, ०६ : ४८ शुक्रवार
महँगा अनमोल

अभिनेता अनमोल केसी अहिलेको सबैभन्दा महँगा अभिनेता भनेर यतिबेला मिडियामा चर्चा भइरहेको छ । उनी अभिनीत चार फिल्म ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ व्यापारिक रूपमा सफल देखिएपछि उनलाई फिल्म ‘कृ’का लागि २० लाख रुपैयाँ पारिश्रामिक दिएर अनुबन्धित गरिएको चर्चा भइरहेको छ ।

यति पारिश्रामिक दिएर अनमोललाई महँगा अभिनेता बनाउने भूमिका चाहिँ उनकै बुबा भुवन केसीले निर्वाह गरेको देखिन्छ । कारण– फिल्म ‘कृ’ भुवन र निर्माता सुवास गिरी मिलेर बनाउँदै छन् । भुवनको ‘द सुपर काजोल फिल्मस्’को प्रस्तुति र सुवासको ‘सुवास इन्टरटेन्मेन्ट’को निर्माणमा फिल्म बन्ने बताइएको छ । आफ्नै बुबाआबद्ध  फिल्मबाट अनमोलले २० लाख रुपैयाँ पारिश्रामिकमा औपचारिक सम्झौता गरेर खिचिएको तस्बिर पनि यतिबेला मिडियामा छाइरहेको छ । निर्माता गिरी अनमोलको पारिश्रामिकलाई भन्दा पनि उनको पात्रलाई हेरेर यत्रो रकम दिएको बताइरहेका छन् ।

धेरै चलेका भनिएका फिल्मबाट पनि निर्माताको हातमा लगानी रकम नपुगिरहेको नेपाली फिल्म क्षेत्रको यथार्थ हो । यहाँ त २० लाख रुपैयाँमा नेपाली फिल्म नै बनाउनेहरू पनि छन् । त्यसैले अनमोलको यो सम्झौतालाई लिएर यतिबेला फिल्मवृत्तमा अनेक टीकाटिप्पणी भइरहेका छन् । धेरैले यसलाई ‘चर्चालाई गरिएको स्टन्ट’ र ‘नाटकीय सम्झौता’ पनि भनिरहेका छन् । खास कुरो चाहिँ कर कार्यालयबाटै खोजी निन्दा गर्ने कि ?

 

Leave A Comment