शहर यस कारणले पनि सुन्दर छ कि यहाँका चोकचोकमा स्वदेशी–विदेशी साडी पहिरिएका एकसे एक मोडलहरू, चलचित्रका नायक र नायिकाहरू हातमा केही न केही लिएर मस्किँदै उभिएका हुन्छन् । मानौँ ती हामीलाई नै स्वागत गर्न भनेर रातमा पनि दिनमा पनि, जाडोमा होस् वा गर्मीमा खाना न पिना त्यसै उभिरहेका छन् । मोबाइल सेट वा हिराका गहना केही न केही उनीहरूसँग अवश्यै छन् ।
ती उभिएका सुन्दर र सुन्दरीहरू चानचुने मान्छे होइनन् । अनेक तह र प्रक्रियाबाट छानिएका सबैभन्दा सुन्दर मान्छेहरू हुन् । ‘प्रतियोगिताको पहिलो अडिसन २९ जेठदेखि राजधानीमा सुरु हुने । अडिसन पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड हुँदै पुनः राजधानीमा आएर सकिने । १६ देखि २८ वर्षसम्मका फ्रेस फेस युवायुवतीले भाग लिन सक्ने । सफल प्रतियोगीलाई ¥याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटो सेसन, स्टेज पर्फर्मेन्स, पब्लिक स्पिकिङजस्ता विषयमा प्रशिक्षण दिइने । जर्मन फेसन डिजाइनर स्टेल म्यारिस हाफेलेले तयार पारेका फेसन डिजाइन ¥याम्पमा सो गर्ने ।’
यसैगरी मिस गुरुङ, मिस नेवा, मिस तामाङ, मिस कोइराला, मिस मोक्तान र मिस किरातहरू छान्ने । मिस नेपाल छान्ने र नेपाल सुन्दरीको ताज पहिराइदिने । नेपालकै जस्तो अन्य देशहरूले पनि गर्छन् र संसारभरिका सुन्दरीहरूलाई एकै ठाउँ उभ्याएर मिस युनिभर्स छान्ने, मिस वल्र्ड छान्ने र सोही अनुसारका ताज पहिराइदिने । यसरी संसारभरिकै सुन्दरी कन्या छान्न अनेक देशका विशेषज्ञहरू निधार खुम्च्याएर बसेका हुन्छन् ।
जातिअनुसार, संस्कृतिअनुसार र वर्गअनुसार सुन्दरतालाई हेर्ने दृष्टिकोण फरक हुन्छ । एउटी राम्री भनिएकी तामाङ कन्याभन्दा बाहुनी केटी बाहुन केटालाई ज्यादा सुन्दरी लाग्न सक्छे । चीनले चाइना सुन्दरी भनेर छानीकन पठाएकी नारीभन्दा अफ्रिकी कालीलाई त्यहाँको तन्नेरीले राम्रो देख्दो हो । दुई दिन भोकै हुँदा पनि काम गर्न नथाक्ने गाउँले केटी गाउँको किसानलाई जति मन पर्छ, शहरको व्यापारीलाई ऊ नराम्री लाग्न सक्छ । धनीले छान्ने केटी पातली, शृङ्गार गर्न सिपालु, सभ्य भनिएको भाषा बोल्ने र पढेलेखेकी हुनुपर्ला । त्यो धनी केटो बङ्गाली हो भने त्यसले साहित्य र सङ्गीतको ज्ञान भएकी केटी रोज्ला तर चितवनको चेपाङको छोरालाई ऊ राम्री नलाग्न पनि सक्छे । तैपनि विभिन्न देश, प्रजाति र संस्कृतिका विज्ञहरू एकै ठाउँमा बसेर मिस वल्र्ड छान्न सक्दछन् । कसरी छान्छन्, अचम्मै छ । त्यसरी छानिएका युवतीहरू हाम्रो शहरमा उभिएर कोकाकोला देखाउँछन् ।
विश्व सुन्दरी छान्नेहरूको सौन्दर्यदृष्टि पनि विश्वव्यापी हुन्छ । उनीहरू मान्छेलाई मान्छे मात्रै देख्छन्, मान्छेहरूका बीचको विरोधलाई देख्दैनन् । म राम्री भनेर लाइनमा उभिन आउने युवतीहरूमा कोही काला, कोही राता र कोही गोरा पनि हुन्छन् । फरकफरक वातावरणका आउँछन् जसमध्ये कति त फरकफरक राजनीतिक विश्वास भएकाहरू पनि हुन्छन् नै । यस्तो अवस्थामा केलाई राम्रो र केलाई नराम्रो भन्ने समस्या पैदा हुनु स्वाभाविक हो तर यस्तो समस्या पैदा हुने हामीजस्ता सानो दिमाग हुनेलाई मात्रै हो । ठूलो दिमाग हुनेहरूले धेरै फराकिलो तरिकाले सोच्छन् र सार निकाल्छन् । उनीहरू छालाको रङ मात्रै हेर्दैनन्, नाकको आकार र उचाइ, मोटाइ मात्रै हेर्दैनन् । तिनको प्रतिभा पनि हेर्छन् । उनीहरू त्यस्तो प्रतिभाको खोजी गर्छन् जसबाट सबै जातजाति र संस्कार संस्कृतिका मानिसहरूको साझा सौन्दर्य विम्ब बन्न सकोस् ।
यस्ता प्रतियोगिताहरू कुनै देशले औपचारिक रूपमा गर्दैनन् । बरु धनीमानीहरूले आयोजना गर्छन् । त्यस्ता धनीमानी जसले उद्योगहरू खोलेका हुन्छन् वा जससँग बहुराष्ट्रिय कम्पनीका सेयरहरू हुन्छन् । सामान्तया आ–आफ्ना देशका राजनीतिक पार्टी र तिनका नेताहरूलाई चुनाव खर्च दिने पनि यिनीहरू नै हुन्छन् । यिनीहरूकै पैसाले देशको राजनीति चलेको हुन्छ र नेताहरूले मन्त्री, प्रधानमन्त्री भएका बेलामा यिनीहरूको कर छुट गराउनेदेखि लिएर राज्यले उद्योगपतिलाई प्रदान गर्ने अनेक सुविधा र सहुलियतहरू मन फुकाएर दिएका हुन्छन् । बाहिरबाट हेर्दा देखिँदैनन् तर भित्रभित्रै यी सबै गतिविधिहरू निर्बाध रूपमा चलिरहेका हुन्छन् ।
नेपाल सुन्दरी नेपाली चलचित्रका नायिका भएझैँ विश्व सुन्दरीहरू त्यस्तै चलचित्रका नायिका बन्छन् । चलचित्र प्रदर्शनमा आउनुभन्दा निकै पहिलेदेखि पत्रपत्रिकामा यिनीहरूको चर्चा चल्छ । यिनको बसउठ र खानपानका बारेमा अनेक मुद्दाहरू बन्छन् । चलचित्र प्रदर्शनभन्दा पहिले नै यिनका अन्तर्वार्ताहरू टेलिभिजनमा आउन थाल्छन् । मानौँ सिङ्गो मानव समुदाय यिनीहरूका चलचित्र हेर्नका लागि तीव्र प्रतीक्षामा छन् र आउनेबित्तिकै सिनेमा हल हाउसफुल हुन्छ । तुरुन्तै यिनीहरू सेलिब्रिटी बन्छन् । असङ्ख्य प्रशंसकहरू जन्मिन्छन् । र, उद्योगपतिले यिनीहरूलाई कोकाकोला भिडाउँछ र फोटो खिचेर होर्डिङ बोर्ड बनाउँछ । यता उसका प्रशंसकहरू उसको फोटो भएको पत्रिका किन्छन् र घरको भित्तामा सिरानीमाथि टाँसेर सपना देख्छन् ।
सुन्दरी कहिले कोकाकोला लिएर टिभीमा आउँछे । कहिले फेसबुकमा आउँछे र आफ्ना प्रशंसकहरूलाई मोबाइल किन्न उकास्छे । कहिले अर्कै ढङ्गको सारी लाएर झुल्किन्छे र सारीको सुन्दरताको तारिफ गर्छे । घरमा नयाँ सारी हुँदाहुँदै पनि मानिसहरू उसले लगाएकै जस्तो सारी असाध्यै महँगो दाम हालेर किन्छन् । त्यो फेसन बन्छ र फेसनका लागि मानिसहरू खर्च गर्न डराउँदैनन् । उनीहरूलाई त्यही नै जीवनको सफलता लाग्छ । सर्वाधिक खुशी मानिस त्यतिबेला हुन्छ जब उसले चाहेको जस्तो फेसन गरेर बाहिर निस्कन, डुल्न र सेल्फी खिचेर फेसबुकमा हाल्न पाउँछ ।
जसलाई देखेर प्रशंसक महँगो दाममा सारी किन्छ, त्यस सुन्दरीले भने सारीवाला कम्पनीबाट मोटो रकम पारिश्रमिक लिएकी हुन्छे । जसले खाएको देखेर प्रशंसक कोकाकोला किन्छ, उसकी सपनाकी राजकुमारीले कोकाकोला कम्पनीबाट पैसा लिएकी हुन्छे । आफूले कम्पनीबाट पैसा लिएर ऊ आफ्ना प्रशंसकहरूलाई सामान किन्न लोभ्याइरहन्छे । कम्पनीले आफ्नो उत्पादन ठूलो मात्रामा बिक्री गरेर पैसैपैसा कमाउँछ र नयाँनयाँ सुन्दरीहरू जन्माउनतिर लाग्छ । प्रशंसकहरू लुटिएका लुटियै छन् र पनि फेरि लुटिन तयार रहन्छन् । लुट्ने र लुटिने यो क्रम त्यति बेलासम्म चलिरहने छ जबसम्म लुटिनेहरूसँग पैसा र रहरमध्ये एउटा सकिँदैन ।
Leave A Comment