नेफ्टा अवार्ड दुबई हाइलाइट्स

बिहिबार, १४ पुष २०७३, ११ : ३८ अनिल यादव , Kathmandu
नेफ्टा अवार्ड दुबई हाइलाइट्स

डिसेम्बर २३ मा यूएईको राजधानी दुबईमा नेफ्टा फिल्म अवार्ड सम्पन्न भयो । अवार्डका लागि नेपालबाट १ सय २० जना कलाकारको टोली दुबई लगिएको थियो । दुबईमा नेपाली फिल्मकर्मीका विविध गतिविधि रोचक थिए ।

नाजिर–साम्राज्ञी मित्रता
दुबईमा साम्राज्ञीराज्यलक्ष्मी र नाजिर हुसेनको मित्रता गाढा भएको अनुमान गर्न गाह्रो थिएन । ब्रेकफास्ट खानदेखि घुम्न जाँदासम्म उनीहरू प्रायः सँगै देखिन्थे । अवार्ड हलमा पनि उनीहरू सँगै बसेका थिए । साम्राज्ञी नाजिरसँग पटकपटक सेल्फी खिचिरहेकी भेटिन्थन् । केही महिनाअघि नाजिरले साम्राज्ञीको अभिनयको प्रशंसा गर्दै उनीसँग काम गर्ने इच्छा प्रकट गरेका थिए ।

प्लेनमा चुरोट
प्लेनमा चुरोट पिउन पाइँदैन । आयोजक चलचित्र प्राविधिक संघका महासचिव सुरज आचार्यलाई पनि यो नियम थाहा नहुने कुरा भएन । तर, उनले नियम मिचेर ‘बहादुरी’ देखाउन खोजे । अघिल्लो बिहीवार राति ११ बजे काठमाडौँबाट दुबई उडिरहेको प्लेनमा ४० जनाको टोलीमा उनी अरूभन्दा बढी ‘नोटिस्ड’ भए । कारण, उनी प्लेनमा मदिरा किनीकिनी खाइरहेका थिए । उनी त्यतिबेला फसादमा परे, जतिबेला उनलाई चुरोट खाँदै गर्दा विमानका एयरहोस्टेसले फेला पारे । उनको पासपोर्ट खोसियो । मध्यरातको उडानमा भएको यो घटनालाई प्रत्यक्ष नियालेका एक पत्रकारको आग्रहपछि उनको पासपार्ट फिर्ता त भयो । तर, यो घटनाले अवार्ड अवधिभर खूब चर्चा पायो, अझै पाइरहेको छ । यतिसम्म कि चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा र अन्य सदस्यले उनलाई स्वदेश फर्किएर कारबाही गर्ने सोच पनि बनाइसकेका थिए । यता कारबाही हुन नपाउँदै सुरजले अवार्डमा मनोमानी नतिजा निकालिएको कारण देखाउँदै राजीनामा दिएका छन् ।

अवार्ड भित्र, आर्यन बाहिर
भित्र अवार्ड चलिरहँदा अभिनेता आर्यन सिग्देल बाहिर मस्त गफिइरहेको दृश्य पनि अझै चर्चामा छ । स्रोतका अनुसार दुबई आइपुगेपछि आर्यनले आफूले अवार्ड नपाउने सुइँको पाइसकेका थिए । त्यही कारण उत्कृष्ट अभिनेताको नाम घोषणा हुनुअघि नै उनी कार्यक्रम हलबाट बाहिरिएका थिए । उत्कृष्ट अभिनेताको अवार्ड अभिनेता दयाहाङ राईले पाए । आफूले अवार्ड नपाउँदा दुःखी हुने नेपाली कलाकारको पुरानै रोग हो ।

पुरानोसँग नयाँको मेल
धेरैले ख्याल गरेको हुनुपर्छ, अधिकांश नेपाली अवार्डमा हुने प्रस्तुतिमा जोडीहरू एउटै पुस्ताका हुन्छन् । तर, नेफ्टा अवार्डका दुई प्रस्तुतिले साँच्चिकै माहोल तताए । अभिनेता राजेश हमालले आफूभन्दा धेरै कान्छी मलिना जोशीसँग नाच्दा दर्शकले लोभलाग्दो हुटिङ गरे । उता, अभिनेत्री करिश्मा मानन्धरले आफूभन्दा धेरै कान्छा अभिनेता नाजिर हुसेनसँग कम्मर मर्काएर दर्शकलाई भरपूर मनोरञ्जन दिएकी थिइन् । नेफ्टा अवार्डका यी दुई प्रस्तुतिले माहोलमात्र तताएनन्, नयाँ र पुराना पुस्ताका कलाकारलाई एकैठाउँमा जोड्ने काम पनि गरे ।

सेलिब्रिटीको जोडी चर्चा
यो पटक नेफ्टा अवार्ड सम्भवतः सबैभन्दा धेरै कलाकारको जोडी सहभागी भएको अवार्ड पनि भयो । अभिनेता राजेश हमाल पत्नी मधु भट्टराईसँग कार्यक्रममा आएका थिए । राजेश स्टेजमा नाचेको देखेर उनी मुस्कुराइरहेकी थिइन् । उता, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेल पनि दुबई पुगेका थिए । निखिलले सञ्चितालाई स्टेजमै प्रपोज गरेको दृश्य हेर्नलायक थियो । अर्काेतर्फ, हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले त कार्यक्रममा सम्मान नै थापे । यता कताकता अभिनेत्री नम्रता श्रेष्ठ अवार्डमा सहभागी नहुने हल्ला पनि चलेको थियो । तर, उनी प्रेमी स्टिभन दावा शेर्पासँग कार्यक्रम हलमा देखिइन् । हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला पनि कार्यक्रममा सहभागी थिए । थुप्रै जोडीको सहभागितालाई जानकारी गराउँदै हास्यकलाकार जितु नेपालले त स्टेजबाटै ठट्टा गरे– ‘म मात्र एक्लो भएछु ।’ यी जोडीलाई खिच्न थुप्रै क्यामरा सक्रिय देखिन्थे । आयोजकले सबै फिल्मकर्मीलाई एउटै होटलमा राखे पनि राजेश हमाल र नम्रता श्रेष्ठको जोडी बेग्लाबेग्लै होटलमा बसेका थिए ।


पाउने एउटा, लिने अर्को
अझै तात्तातै रहेको विषय हो, नेफ्टामा ‘पशुप्रतिप्रसाद’लाई दिइएको ‘बेस्ट फिल्म’को अवार्ड । उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘वडा नम्बर ६’ बाट उज्ज्वल घिमिरेले पाइसकेपछि दीपेन्द्र के खनाल निर्देशित ‘पशुपतिप्रसाद’ उत्कृष्ट फिल्म घोषित भयो । तर, कार्यक्रममै बसेका दीपेन्द्र अवार्ड थाप्न स्टेज पुगेनन् । बरु वडा नम्बर ६ का निर्माता दीपकराज गिरी पो पुगे । अन्य महŒवपूर्ण विधामा अर्कैले उपाधि उचालेपछि आफूलाई बेस्ट फिल्मको अवार्ड थाप्न अप्ठ्यारो लागेको दीपेन्द्रको तर्क छ । बुझिएअनुसार दीपेन्द्रकै अनुमतिमा दीपकले उक्त अवार्ड थापेका थिए र दीपेन्द्र बसेको ठाउँमा पुगेर न्यानो आलिंगनसहित हस्तान्तरण गरेका थिए ।

मलिनाकै अघि मालासँग खासखुस
सार्वजनिक भएकै विषय हो, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री मलिना जोशीको प्रेम सम्बन्धमा थिए, कुनै बेला । अहिले उनीहरूबीच ब्रेकअप भइसकेको छ । दुबईमा अनुप र मलिना दुवै पुगेका थिए । तर, मलिनाकै अगाडि अनुप मालासँग बढी नजिक देखिए । कार्यक्रम हलमा पनि माला, अनुप र मलिना एउटै लहरमा बसेका थिए । मलिनाकै अघि अनुप मालासँग खासखुस गर्थे, मलिना भने नदेखेझैँ गर्थिन् । अनुप र मालाबीच अफेयर रहेको हल्ला नेपालमै चलिरहेको थियो । दुबईमा देखिएका दृश्यले शंका गर्ने ठाउँ झन् बढाएको छ ।

 

Leave A Comment