सृष्टिबारे ‘रिसर्च’ गर्नुअघि

बिहिबार, ०९ असार २०७३, १२ : २७ शुक्रवार
सृष्टिबारे ‘रिसर्च’ गर्नुअघि

हलमा सफलतापूर्वक चलिरहेको फिल्म ‘गाजलु’ की हिरोइन हुन्, सृष्टि श्रेष्ठ । पूर्व मिस नेपालसमेत रहेकी यिनलाई यदि तपाईं कुनै प्रश्न सोध्दै हुनुहुन्छ भने होसियार रहनुहोला ! उनलाई प्रश्न सोध्नुअघि उनीबारे ‘रिसर्च’ गर्नुहोला र उनले के पढेकी हुन्, त्यो जान्नुहोला ।

मंगलवार उनको गृहनगर चितवनमा आयोजित ‘गाजलु’को प्रेस–मिटमा उनले देखाएको हर्कतले यस्तै संकेत गरेको छ । ‘फिल्म खेल्ने रहर थियो कि मिस नेपाल भएपछि त्यही चर्चालाई क्यास गरूँ भनेर फिल्म खेल्नुभएको हो ?’ भन्ने एक रंगपत्रकारको प्रश्नमा उनी रिसाइन् । उल्टै प्रतिप्रश्न गरिन्– ‘तपाईंले मेरो बारेमा केही रिसर्च गर्नु भा’छ, मलाई यो प्रश्न सोध्नुअगाडि ?’
उनले पत्रकारसँग झोक्किँदै गरेको यो व्यवहारले अहिले चर्चा पाइरहेको छ । युट्युबमा भिडियो भाइरल भइरहेको छ । कार्यक्रममा उनी यतिमै रोकिएकी थिइनन् । ‘तपाईंलाई थाहा छ मैले के पढेको छु ? पहिले त्यो थाहा गर्नू, अनि प्रश्न गर्नू,’ उनले थप झोक व्यक्त गरेकी थिइन् । नवअभिनेत्री रहेकी सृष्टिको यस्तो व्यवहारपछि अहिले फिल्म जगत्मा ठट्टा गर्न थालिएको छ,  ‘सृष्टिसँग अन्तर्वार्ता लिन त उनीबारे रिसर्च पो गर्नुपर्ने रहेछ !’
फिल्म क्षेत्रमा भर्खर प्रवेश गरेकी हुन् उनी । मिस नेपाल भएपछि नै सेलिब्रिटी भइसकेकी थिइन् । अरूलाई पनि सेलिब्रिटीलाई यस्तै सार्वजनिक समारोहमा केही सोध्न मन लाग्ला  । तुरुन्तै रिसर्च गर्न कहाँ जानु ? त्यसैले सृष्टिका बारेमा यति चाहिँ थाहा पाइराख्नुहोस् ।


कसरी भइन् मिस नेपाल ?
थाहा पाउनैपर्ने पहिलो कुरा हो यो । उनलाई मिडियादेखि सर्वसाधारणले चिनेको भनेको मिस नेपाल भएपछि नै हो । त्यसैले मिस नेपाल कसरी भइन् भन्ने कुरा पहिले थाहा पाउन जरुरी छ । उनी मिस नेपाल २०१२ हुन् । एकचोटि सम्झिनुहोस्, त्यही बेला हो मिस नेपालमा ‘म्याच फिक्सिङ’ भएको हल्ला बेस्सरी चलेको । हल्लामात्रै होइन, समाचार पनि आएका थिए । यदि ती समाचार गलत भएका भए, यति सानो कुरामा यसरी तात्ने सृष्टिले कस्तो ‘रियाक्ट’ गर्थिन् होला ?
सृष्टि मिस नेपाल आफैँ नभएर आयोजक संस्थाको आशीर्वादले बनेकी हुन् भन्ने त्यो बेलाका समाचारको न उनले खण्डन गर्न सकिन्, न आयोजकले ।  उनलाई मिस नेपालका लागि आयोजक संस्थाले नै बोलाएको थियो । यो कुरा उनका बुबा ईश्वर श्रेष्ठले त्यही बेला  स्विकारेको त्यो बेलाका समाचार ‘रिसर्च’ गर्दा भेटिएको छ । समाचारमा उल्लेख छ– मिस नेपालको आवेदन खुलेर बन्द हुँदासम्म सृष्टि सहभागी हुने कुनै मेलोमेसो थिएन र आयोजकले अन्तिम सूचीमा २३ जनाको सूची  निकालेपछि उनको प्रवेश भएको थियो । त्यसैले त्यतिबेला प्रायोजकका सामग्री प्रमोसन (हिरो होन्डा) का लागि लिइएको तस्बिरमा पनि सृष्टिको अनुहार छैन ।


सन्नीको ठाउँमा सृष्टि
फिल्म ‘ज्याकपट’ हेर्नुभएको छ ? त्यो नहेरेको भए पनि ‘कभी जो बादल बर्से’ भन्ने हिन्दी गीत सुन्नुभएको होला र धेरैले भिडियो पनि हेर्नुभएको होला । अभिनेता सचिन जोशीसँग अभिनेत्री सन्नी लियोनले अभिनय गरेकी छिन् यसमा । पछि त्यसको ‘कभर भर्सन’ आयो, जहाँ सन्नीको ठाउँमा सृष्टि श्रेष्ठले अभिनय गरेकी थिइन् । त्यहाँ उनको हट अवतारमात्रै छैन, टङ किससहितको अन्तरंग दृश्य पनि छ । बलिउडमा प्रवेश गर्नका लागि उनले आफूलाई ‘त्यसरी’ प्रस्तुत गरेकी थिइन् भन्ने धेरैले लख काटे । तर, उनले बलिउडका कुनै फिल्ममा काम गरेको भन्ने चाहिँ अहिलेसम्म सुनिएको छैन ।


‘गाजलु’मा त देख्नुभयो होला
फिल्म ‘गाजलु’ कतिले हेर्नुभयो ? जतिले हेर्नुभएको छ, त्यतिले उनी र उनको अभिनय क्षमता देख्नुभयो होला । एउटा कुरामा चाहिँ नझुक्किनुहोस् है, ‘गाजलु’ उनका कारण हिट भएको होइन । यदि कसैलाई उनी पनि भएकाले हिट भएको हो भन्ने लाग्छ भने भन्नुहोस्– अनमोल केसी अभिनीत कुन फिल्म फ्लप भएको छ ? निर्देशक हेमराज बीसीले प्रेम कहानीमा बनाएका फिल्म कहिले फ्लप भए ?
जहाँसम्म अभिनयको कुरा छ । त्यसमा त सलोन बस्नेत र मेनुका प्रधान खरो उत्रिएको हेर्नेले देखेकै कुरा हो । सृष्टिले कहाँ के पढिन्, रिसर्च गर्न अझै भ्याइएन । तर, यही नेपालका धुलोमाटोमा अभिनय सिकेका÷पढेका यी दुईको अभिनय सृष्टिको भन्दा अब्बल देखिएको छ भन्न चाहिँ एउटा दर्शकका नाताले कत्ति पनि हिचकिचाउनुपर्दैन ।


र, रूपको कुरा
यो विषयलाई छाड्न हुँदैन । सृष्टि राम्री छिन् भन्न हिचकिचाउनु पनि हुँदैन । उनको लवाइ पनि प्रशंसायोग्य छ । फिल्ममा अभिनयको प्रस्ताव आउनु वा मिस नेपाल बन्नु (वा बनाइनु ) मा उनको रूपको पनि ठूलो  भूमिका छ । तर, हाम्रा बूढापाका ‘रूप र धनको घमण्ड नगर्नू’ भन्छन् । न आफैँले आर्जन गरेको कुरा हो यो, न यो जीवनपर्यन्त यस्तै रहन्छ । त्यसमाथि, राम्रो या राम्री तथा नराम्रो या नराम्री भनेको त खास सौन्दर्य दृष्टिकोणको कुरा हो । जस्तो, अफ्रिकी सौन्दर्य दृष्टिकोणले बाक्लो ओठ र ठूलो नाकलाई सुन्दरताको मानक मान्छ ।
सृष्टिले बुझ्नुपर्ने कुरा के हो भने अहंकार या बडप्पनले कसैलाई पनि सुन्दर बनाएको छैन । सौन्दर्यबारे उनले चाहिँ अलिक ‘रिसर्च’ गरे हुन्थ्यो ।


पत्रकार सृष्टि खोज्दै गएका हुन् र ?
स्पष्ट हुनुपर्ने कुरा के भने बहस गर्नुप¥यो भनेर पत्रकार सृष्टिलाई खोज्दै गएका होइनन् । फिल्मको टिम (सृष्टि पनि) ले ‘अन्तरक्रिया गरौँ’ भनेर बोलाइएका पत्रकार हुन् । त्यो पनि काठमाडौँ होइन, चितवनमा । त्यहाँका पत्रकारले सोचेकै हुँदैनन् कि सृष्टिजीहरू यसरी आइदेलान्, अनि प्रश्न गर्न पाइएला भनेर । एक्कासि आफ्नै फिल्मको प्रचारका लागि उनी गइदिइन् । पत्रकारहरू उनकै सम्मानका लागि कार्यक्रममा गइदिए । सृष्टिले भन्नुप¥यो अब– त्यसरी बोलाइयो भने उनी कार्यक्रममा जान्छिन् कि बोलाउने मान्छेका बारेमा रिसर्च गर्छिन् ?
सृष्टिकै भाषामा भन्ने हो भने पत्रकारको प्रश्न सोध्ने शैली मिलेन होला । तर, त्यो भिडियोमा पत्रकारले प्रश्न होइन, जिज्ञासा राखेको देखिन्छ । भनिरहेका छन्– ‘तपाईंलाई फिल्म खेल्ने रहर थियो कि मिस नेपाल भएपछि नाम क्यास भइहाल्यो फिल्म पनि खेलौँ भनेर खेल्नुभएको हो ?’ फेरि अनुनय गरेका छन्– ‘केही भनिदिनू न !’  यहाँनेर रिसर्च गर्ने कुरा कहाँबाट आयो ? फेरि उनको फिल्म खेल्ने रहर पहिल्यै थियो कि मिस नेपाल बनेपछि जाग्यो भन्ने कुराको रिसर्च गर्न कहाँ जानु, हौ ?

Leave A Comment