नेफ्टामा दयाहाङ र नम्रता सर्वोत्कृष्ट

बिहिबार, १४ पुष २०७३, ०८ : ३१ अनिल यादव
नेफ्टामा दयाहाङ र नम्रता सर्वोत्कृष्ट

दुबई । नेफ्टा फिल्म अवार्डको नवौँ संस्करण डिसेम्बर २३ को साँझ दुबईमा सम्पन्न भयो। अवार्डमा यस पटक दयाहाङ राई र नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए। दयाहाङले फिल्म …कबड्डी कबड्डी' र नम्रताले …क्लासिक'का लागि अवार्ड पाइन्।

यसै गरी गत वर्ष राम्रो समीक्षा बटुलेको फिल्म …पशुपतिप्रसाद'वर्षकै उत्कृष्ट फिल्म घोषित भयो। तर, कार्यक्रममा सहभागी भएर पनि फिल्मका निर्देशक दीपेन्द्र के. खनाल अवार्ड थाप्न स्टेज चढेनन्। उत्कृष्ट फिल्मको घोषणा हुनुअघि उज्ज्वल घिमिरेलाई फिल्म …वडा नम्बर ६'बाट उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको थियो। …उत्कृष्ट निदर्ेेशक जो हुन्छ, उसकै फिल्म उत्कृष्ट हुनुपर्ने हो,' निर्देशक खनालले भने, …त्यसैले उत्कृष्ट फिल्मको अवार्ड थाप्न अप्ठ्यारो लाग्यो। मेरो विचारमा एउटा राम्रो फिल्म बन्न पहिले निर्देशक उत्कृष्ट हुनुपर्छ।' दीपेन्द्र स्टेज नचढेपछि …वडा नम्बर ६' का निर्माता दीपकराज गिरीले उक्त अवार्ड थापिदिएका थिए।
पपुलरसहित कुल ३१ विधामा बाँडिएको अवार्ड समारोहमा …प्रेमगीत'ले सर्वाधिक छ विधामा अवार्ड पायो। फिल्मबाट संगीतकार अर्जुन पोखरेल, कोरियोग्राफर रेनेशा राई, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले अवार्ड थापे। यही फिल्मबाट उत्कृष्ट ड्रेस डिजाइनमा युबी थापाले अवार्ड पाइन् भने अभिनेत्री पूजा शर्मालाई पपुलर हिरोइनको उपाधि दिइयो।

त्यसै गरी 'फन्को', 'पशुपतिप्रसाद' र ''वडा नम्बर ६' ले तीन–तीन विधामा अवार्ड पाए। 'पशुपतिप्रसाद'ले संवाद, खलनायक र उत्कृष्ट फिल्मको अवार्ड पायो भने 'वडा नम्बर ६' निर्देशन, कला निर्देशन र संगीत संयोजन विधामा उत्कृष्ट चुनियो। पशुपतिप्रसादको संवाद खगेन्द्र लामिछानेको हो भने खलनायकमा अवार्ड पाउने अभिनेता विपिन कार्की हुन्।

यता फिल्म 'फन्को'बाट उत्कृष्ट पटकथामा सुवर्ण थापा, सम्पादनमा विपिन मल्ल र पार्श्व संगीतमा सुजिल कर्माचार्यले अवार्ड जिते। उत्कृष्ट गीतकारको उपाधि फिल्म …नाइँ नभन्नू ल ४'बाट डा. कृष्णहरि बरालले पाए। त्यस्तै, अवार्ड समारोहमा वर्ष ०७२ मा भित्रिएका नवकलाकारमध्ये पल शाह र साम्राज्ञीराज्यलक्ष्मी उत्कृष्ट ठहरिए। फिल्म 'क्लासिक'बाट साम्राज्ञी र 'नाइँ नभन्नू ल ४' बाट पलले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड पाए। कार्यक्रममा अनमोल केसीलाई वर्षको पपुलर अभिनेता र 'ड्रिम्स'लाई पपुलर फिल्मको अवार्ड दिइयो। तीनटा विधामा बाँडिएको पपुलर अवार्ड भने जुरीले निर्णय गरेका थिएनन्, आयोजक, चलचित्र प्राविधिक संघको कार्यसमिति स्वयंले गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए।
३६ वर्षदेखि नेपाली फिल्मको भान्सामा रहेर कलाकर्मीलाई खाना खुवाउँदै आएका कुलबहादुर महत (जेठा दाइ) र २५ वर्षदेखि स्पटब्वाईका रूपमा काम गर्दै आएका नन्दबहादुर गुर्माछाने मगरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइयो। दुवैलाई सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो।

त्यसै गरी, समारोहमा नेपालको पहिलो फिल्म 'आमा' का तीन अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल र चैत्यदेवी सिंहलाई स्वर्णिम सम्मान प्रदान गरियो भने निर्देशक दीपाश्री निरौलालाई फिल्म '६क्का पन्जा'बाट प्रोत्साहन सम्मान दिइयो। दुई स्थानमा भूकम्पपीडितको बस्ती बसालेका सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी नवराज सिलवाललाई पनि सीआईबीको उदाहरणीय कामको प्रशंसा गर्दै कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो।

त्यसै गरी, कार्यक्रममा मध्यपूर्वी देशमा नेपाली फिल्मको बजार विस्तार गरेको भन्दै दुबईको कन्सेप्ट भिजन फिल्म्स प्रोडक्सन एन्ड डिस्ट्रिब्युसनका सालिक सुवेदी, राजन अधिकारी र सुवाससिंह ठकुरी (अनिश)लाई चलचित्र प्राविधिक संघले विशेष सम्मान प्रदान गर्‍यो।

Leave A Comment