कुर्सी सरकारको, काम पार्टीको

शनिबार, १६ पुष २०७३, ०९ : ५५ शुक्रवार , Kathmandu
कुर्सी सरकारको, काम पार्टीको

राजकुमार राईले चलचित्र विकास बोर्डको अध्यक्ष भएर कुनै ठूलो तीर मार्न सकेका छैनन् । यद्यपि, फिल्मकर्मीलाई सबैभन्दा बढी अपेक्षा उनैबाट थियो । किनभने, उनको पहिचान निर्माताको थियो, राजनीतिक पार्टीको कार्यकर्ताको होइन । उनीभन्दा अगाडि त्यस्ता मानिस बोर्ड अध्यक्ष थिए, जो पार्टीको गोजीबाट फुत्त निस्किएर आएका थिए । त्यसैले फिल्म उद्योगले उनीबाट अपेक्षा राख्नु गलत पनि थिएन । तर, पदमा पुगेपछि राईको ध्यान फिल्मभन्दा पनि पार्टी राजनीतिमा पहुँच बनाउनमा केन्द्रित छ । यसका लागि उनले सबैभन्दा सजिलो उपाय ठम्याएका छन्–  कलाकारलाई कांग्रेस प्रवेश गराउने ।
गत हप्ता उनले १० जना कलाकारलाई कांग्रेस प्रवेश गराएको जस लिए । उनी आफैँले फेसबुकमा तस्बिर राखेर यसलाई व्यापक बनाउन कुनै कसर बाँकी छाडेनन् । तर, उनले नेपाली फिल्म उद्योगका लागि केही गर्लान् भन्ने आशा गरेका फिल्मकर्मीलाई राईको यस्तो कदमले थप निराश बनाएको छ । उनीहरूले प्रश्न गर्न थालेका छन्– ‘सरकारले दिएको कुर्सीमा बसेर यसरी हाकाहाकी पार्टीको काम गर्न पाइन्छ ?’ भन्नेहरू भनिरहेका छन्– ‘यसो गर्न पाइन्छ । नुनको सोझो गर्न पाइन्छ । किनकि, राईजीलाई विकास बोर्डको कुर्सी पनि कांग्रेसले नै दिएको त हो नि ।’

Leave A Comment