फेसन सेन्स या ब्लन्डर

आइतबार, १७ पुष २०७३, ११ : ०४ शुक्रवार , Kathmandu
फेसन सेन्स या ब्लन्डर

साम्राज्ञीराज्यलक्ष्मी शाह पछिल्लो समय सहीभन्दा गलत कारणले चर्चामा छिन् । भर्खर करिअर सुरु गर्नेले ब्वाइफ्रेन्ड भए पनि लुकाउँछन् । तर, साम्राज्ञीले आफैँ ब्वाइफ्रेन्ड सार्वजनिक गरिदिइन् । ब्वाइफ्रेन्डसँगका अन्तरंग तस्बिर सार्वजनिक हुँदा पनि प्रष्टीकरण दिएकी छैनन् । धेरै शुभचिन्तकले साम्राज्ञीको यो कदमलाई आत्मघाती ठानेका छन् । त्यस्तै, हालै दुबईमा भएको नेफ्टा अवार्डमा पनि साम्राज्ञीको ड्रेसले धेरैको मन अमिलो बनाइदिएको छ । एक त पारदर्शी कपडा त्यसमाथि बेढंगको बसाइ । फेरि त के थियो, उनका तस्बिरले सामाजिक सञ्जाल रंगिन बेर लागेन ।
साम्राज्ञी पछिल्लो पुस्ताकी रोल मोडल हुन् । पर्दाभित्र जेजस्तो चरित्र निर्वाह गरे पनि सार्वजनिक ठाउँमा जाँदा उनले आफ्नो भूमिका र दायित्व अनुभूत गर्नुपर्छ । तर, उनले यसलाई ख्याल गरेको देखिँदैन । केही महिनाअघि पनि साम्राज्ञीको यस्तै ड्रेसले धेरैलाई शंकालु बनाएको थियो । कलाकार संघले बाँडेको अवार्ड विजेतालाई उतिबेलाका प्रधानमन्त्रीले भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । विजेता सबै कलाकार शालीन डे«समा थिए । तर, साम्राज्ञी भने सेतो पारदर्शी ड्रेसमा नाइटोमा मुन्द्रा भिरेर प्रधानमन्त्रीलाई भेट्न पुगेकी थिइन् । साम्राज्ञीको सो पहिरनलाई देखेर धेरैका आँखा चौडा भएका थिए । तर, नेफ्टा अवार्डमा उस्तै पहिरन प्रदर्शन गरेर साम्राज्ञीले फेसन गर्ने चक्करमा ब्लन्डर गरेकी छिन् । एक पटकको गल्ती क्षम्य हुन्छ तर उस्तै गल्ती बारम्बार गर्नु बेवकुफी । र, मनोरञ्जन उद्योग यस्तो ठाउँ हो, जहाँ एक सही निर्णयले मानिस रातारात शिखरमा पुग्छ भने एक गलत निर्णयले फेदीमा । साम्राज्ञीले आफूलाई कहाँ राख्ने ? यस्तै कुरामा देखाउने सचेततामा भर पर्छ ।

Leave A Comment