भन्ने फ्यान, बन्ने एसी

सोमबार, १८ पुष २०७३, १० : ०३ डिबी खड्का , Kathmandu
भन्ने फ्यान, बन्ने एसी

केही समयअघि शुक्रवारको नियमित स्तम्भ ‘अन्तरंग’ का लागि कुराकानी गर्ने क्रममा मैले उनलाई एउटा प्रश्न फ्यानबारे सोधेको थिएँ । उनी ‘‘फ्यान’ भन्ने तर मौका पर्दा ‘एसी’ बन्नेहरूको कुरै नगरौँ’ भनेर छड्किएकी थिइन् । मैले त्यो बेला थप करबल गरिनँ । किनभने, यो प्रश्नपछि उनको उज्यालो अनुहारमा एकाएक तनावको छाया मडारिन थालेको थियो ।
उनको त्यो एक वाक्यले मेरो मनमस्तिष्कलाई यसरी छोयो कि जबजब उनीसँग भेट हुन्थ्यो, दिमागले  ‘एसी’वाला प्रसंग सम्झाइहाल्थ्यो । धेरै दिन दिमागमा हुलेरै राखेँ, त्यो प्रसंग । तर, सदाका लागि सकिनँ । केही दिनअघि मात्रै मैले उप्काएँ फेरि । ठट्टा गरेँ, ‘मौसम फ्यानको होइन, एसीको छ । तपाईंका एसीबारे कुराकानी गर्न मन लाग्यो’ उनले आनाकानी गरिन्, ‘त्यस्तो कुरा मिडियामा के बोल्नु ?’ मैले ती गायिका र उनका ‘एसी’हरूको नाम र हुलिया गोप्य राख्ने गरी कुरा गर्न चाहेको बताएँ । अझ घुमाउरो रूपमा यस्ता कुरा मिडियामा आइदिँदा मान्छेहरू सचेत हुने भनेर फकाएँ ।
ती फ्यानहरूलाई उनले एसी किन भनिन् ? पहिलो जिज्ञासा यही थियो । उनले यसमा मौलिक परिभाषा बनाएकी रहिछन्– फ्यान भन्नाले जाडोचिसो जुन मौसम भए पनि उस्तै रहने अर्थात् हावा दिइरहने । एसी अर्थात् एअर कन्डिसनर, मौसमअनुसार परिवर्तन हुने । जाडोमा तातो बनाउन र गर्मीमा चिसो बनाउन प्रयोग गरिने । उनले अहिलेका फ्यान समयअनुसार बदलिने बताइन् । भनिन्, ‘कति त मौका पाउँदा चौका हान्न खोज्ने हुन्छन् । मौसमअनुकूल आफूलाई परिवर्तित गरिहाल्छन् । ती फ्यान हुन सक्दैनन्, एसी हुन् ।’
यो निष्कर्षमा उनी यत्तिकै पुगेकी रहिनछिन् । केही फ्यानको एसी अवतारले उनले दिनुसम्म दुःख दिएको रहेछ । त्यसैले अचेल उनलाई कसैले ‘म त तपाईंको फ्यान हो’ भन्यो भने सशंकित हुन्छिन् । उनी भन्छिन्, ‘फ्यानसँग रिसाउनु पनि भएन । ती भएनन् भने हाम्रा गीत कसले सुनिदिने ?’
उनी आफैँ पनि ठूली फ्यान हुन्, भारतीय गायिका श्रेया घोषालकी  । उनको कोठासम्मको पहुँच हुनेले श्रेयाका तस्बिर टाँसिएको देखेको हुनुपर्छ । उनले सुनेकी थिइन् कुनैबेला रगतले चिठी लेखेर पठाउनेसम्मका हुन्थे रे ! उनको फेसबुक फ्यान पेजमा लाइक गर्ने लाखौँ र एसएमएस गर्ने सयौँमध्ये उनलाई कसैले त्यसरी पठाएका छैनन् ।
ती जमाना गइगए । समय र प्रविधिले दूरी घटाइदियो । अहिले एउटा फ्यानले चाहियो भने मन पर्ने सेलिब्रिटीलाई भेट्न त्यति मुश्किल छैन । यी गायिकाका केही फ्यानसँग भेट भएको छ । तीमध्ये केहीले फ्यान भन्ने शब्दप्रति नै घृणा जगाएर गए ।
प्रसंग युरोपतिर बसाइ भएको फ्यानबाट झिकिन् । उनका अनुसार दोस्रो गीत चर्चित भएपछि सम्पर्कमा आएका थिए ती, फ्यान । गीत सुनेर फेसबुकमा दिएको लामो प्रतिक्रियाले उनको मन छोएको थियो । निरन्तर सम्पर्क भइरह्यो । नेपाल आउँदा भेटेर सँगै खानपिन गर्नेसम्मको पहुँच बन्यो, यी सेलिब्रिटी र ती फ्यानबीच । एकपल्ट उनी बसेकै देशमा कार्यक्रम हुने भयो । उनलाई ती फ्यानले कार्यक्रम सकिएपछि केही ठाउँ घुमाउने प्रस्ताव गरे । ‘सुरुमा अस्वीकार गरेँ । तर, उसले सब बन्दोबस्त गरिसकेँ भनेर जिद्दी ग¥यो । मैले मन दुखाइनँ, सँगै घुमियो केही ठाउँ,’ उनले भनिन् । बेलुका बस्ने भनिएको ठाउँ साह्रै रमणीय थियो । ती फ्याले उनलाई ‘यहाँ एकरात बिताउने सपना हुन्छ मान्छेको’ भन्थे । तर, उनलाई त्यो ठाउँ सपनामा पनि देख्नु नपरोस् जस्तो लाग्छ अचेल । त्यो साँझ सम्झिइन्, ‘त्यो देशका सांस्कृतिक झलकहरू कलाकारले देखाए । उसले ड्रिंक्सको अफर ग¥यो । मैले वाइन पिउने गरेकीले समस्या भएन । पिएपछि निद्राले समात्छ मलाई । त्यो रात पनि एकछिनपछि मलाई निद्राले झपक्कै छोप्यो । बेडरुममा गएँ । सुत्ने तर्खर गर्दै थिएँ । ऊ पनि आयो । मैले निद्रा लागेकाले आफ्नै कोठामा सुत्न आग्रह गरेँ । त्यसपछि उसले जे शब्द बोल्यो, त्यस्तो व्यवहार होला भन्ने कल्पना उनले सपनामा समेत कल्पना गरेकी थिइनँ ।’ उनका अनुसार ती फ्यानको आशय थियो, ‘स्वाङ नपार..., तिमीहरू के हौ हाम्लाई था’छैन’ ।
उनी त्यो रातभरि रोएर जागा बसिन् । बिहान हुनेबित्तिकै उक्त होटेलवालालाई सहजीकरण गरिदिन आग्रह गरेर अरू साथीको सम्पर्कमा पुगिन् ।
त्यसअघि नेपालमै बस्ने एउटा फ्यानको फुइँ लगाउने बानीले उनलाई बदनाम गराइसकेको थियो । पोखरानिवासी ती फ्यान उनका गीत गुनगुनाएको अडियो रेकर्ड भाइबरमा खूब पठाउँथे । सबै गीत सुन्ने र गाउने गरेको थाहा पाएपछि फ्यानका खातिर एकदिन सम्मान व्यक्त गरिन्, ‘थ्यांक्यू’ भनेर । उनका अनुसार ती फ्यानले भन्थे, ‘तपाईंको गीत नसुनी निद्रै पर्दैन ।’ उनलाई लाग्थ्यो– वाह ! मेरा फ्यान । उनलाई पनि श्रेया घोषालको गीत नसुनी निद्रै पर्दैनथ्यो कुनैबेला । ती फ्यानले एकदिन अनुनय गरे, ‘सधैँ मोबाइलमा तपाईंको गीत सुनेर सुत्छु । आज लाइभ गीत गाइदिनुस न प्लिज’  यतिविधि गर्ने फ्यानको त्यति इच्छा पूरा किन नगर्दिनु भन्ने लाग्यो उनलाई । गाइदिइन् र पछि यो क्रम केही दिनको अन्तरालमा दोहोरिन थाल्यो । एकपल्ट उनले साथीभाइको जमघट भएको बेला गीत गाइदिन गाउन अफर गरेछन् । उनले दुईलाइन गाइदिइन् । जब त्यो गतिविधि उनकै परिचित एक व्यक्तिले भिडियो खिचेर देखाइदिए, अनि पो छाँगाबाट खसेझैँ भइछन् । उक्त भिडियोमा साथीभाइसँग ती फ्यान फुइँ लगाउँदै थिए, ‘त्यो गायिका त मैले जे भन्यो त्यही मान्छे । अहिल्यै गीत गाउन लगाइदिउँ । फोन लगाए । गीत गाउन लगाए । पोखरा आई भने बस्ने मसँगै त हो नि !’ त्यसपछि त उनी त्यस्ता फ्यानबाट पनि ‘चेत बाबा काशी’ भइन् ।
काम गीत गाउने भएपछि सबैले शंका गरेर जिन्दगी चल्ने कुरै भएन । यसरी विश्वास टुटाउँदै गए पनि फ्यानप्रतिको विश्वास सम्पूर्ण रूपमा टुटेको थिएन, उनको । यही क्रममा उपत्यका बाहिरको एउटा सानोतिनो शहरका व्यापारी उनका फ्यान देखिए । उद्योग वाणिज्य संघतिरको पदाधिकारी पनि रहेछन् । उनको शहरतिर कार्यक्रम गर्न जाने कलाकारलाई खाईपिई गराएर पठाउने रहेछन् । आफू कलाको निकै सम्मान गर्ने भएकाले त्यस्तो गर्ने गरेको उनको सार्वजनिक दाबी अहिलेसम्म कायम छ भन्छिन् यी गायिका । त्यो दिन उनी र दुईजना अरू पुरुष कलाकार थिए उनको मेजमानी ग्रहण गर्ने । पुरुष कलाकारले अन्यत्रको पनि निम्तो भएको भन्दै एक पेग ह्विस्की ठोक्काएर टाप कसिइहाले । रहिन् उनी मात्रै । त्यसपछि ह्विस्कीको नशासँगै उनका नजर पनि ती गायिकाप्रति नशालु हुन थाले । बिस्तारै ती फ्यानको हैसियत एसीमा झर्न थाल्यो । ‘सँगै बस्छु भनेर म बसेकै सोफामा आए । मलाई अप्ठ्यारो लाग्दै थियो पचाएँ । एकछिनपछि उनको हात मेरो संवेदनशील अंगतर्फ लम्किदै गएको देखेँ । मैले आफूलाई थाम्न सकिनँ, एक चडक्न गालामा लगाएर हिँडेँ ।’
उनलाई त्यसपछि त फ्यान भन्नेहरूसँग खुलेर बोल्न पनि डर लाग्छ । उनलाई लामो समयदेखि पछ्याइरहेका धेरैले भन्छन्– ‘अचेल बदलिनुभयो’ । कतिले ‘हजुरको लभ परे जस्तो छ, ब्वाइफ्रेन्डले कडा निगरानीमा राख्या हो ?’ भन्छन् ।  उनी भन्छिन्, ‘के उत्तर दिनु ? मुसुक्क हाँसेको इमोजी पठाउँछु । मिलाएर बुझ्छन् ।’

Leave A Comment