सर्वनाममा थारु किशोरीको सपना

बिहिबार, २१ पुष २०७३, १० : १५ शुक्रवार , Kathmandu
सर्वनाममा थारु किशोरीको सपना

मदन चौधरी
थारुहरूको नयाँ वर्ष माघी नजिकिँदै छ । माघीमा पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ । गाउँका किशोरीहरू मजुरासँगै मादलको तालमा सखिया नाच्छन् । गाउँमा त्यस्ता पनि परिवार छन्, जसका छोरीहरू सखिया नाच्नबाट वञ्चित छन् । आर्थिक दुरावस्थाले गाँजिएका ती परिवारका छोरीसँग नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा उनीहरूले आफ्नो नाच्ने चाहना मनमै दबाएर राखेका हुन्छन् । थारु समाजको त्यही दृष्टान्तलाई कथाकार सुशील चौधरी र निर्देशक प्रणव आकाशले देखाउन खोजेका छन्, नाटक ‘भुरभुरा’ मार्फत ।
नाटककी मुख्य पात्र गुल्पी (अञ्जु चौधरी) गरिब परिवारमा जन्मिएकी हुन्छिन् । अरू किशोरीजस्तै उनका सपना पनि साथीसँगीसँग सखिया नाच्ने हुन्छ । तर, माघी आउँदासमेत उनले मजुरा र भुरभुरा जुटाउन सक्दिनन् । आफ्नै टोलमा संगीहरू मादलको तालमा सखिया नाचिरहँदा गुल्पी भने ओछ्यानमा पटक–पटक भक्कानिन्छिन्, सुत्न सक्दिनन् । गुल्पी नहुँदा उनका संगीले पनि खल्लो महसुस गर्छन् ।
गुल्पीका बुडी सरिता चौधरी अर्थात् हजुरआमाले उनको दुःख बुझ्छिन् । उनले छोरा जलवीर (नन्दु चौधरी) र बुहारी टेंग्नीलाई डाकेर यसबारे सल्लाह गर्छिन् । नातिनीको इच्छा पूरा गर्न आमा र हजुरआमाले आफ्नो गहना बेच्छन् । हजुरआमा र आमा कुनामा बसेर रोइरहेको दृश्यले थारु समाजको यथार्थलाई देखाउँछ । यता गुल्पी भने सपना पूरा भएकोमा दंग पर्छिन् । सपना पूरा भएको रात गुल्पीले एक्लै मजुरा बजाएर गीत गाएको दृश्यले ती थारु परिवारको अवस्थालाई बयान गर्छ जो आर्थिक अवस्था कमजोर भएका कारणले नै आफ्ना छोरी कमलरी राख्न बाध्य छन् ।
थारु समाज देखाउन नाटकमा कलाकारहरूले त्यहीअनुसारका पहिरन लगाएका छन् । स्टेजमा थारु गाउँ र घर नै बनाइएको छ । बठिनिया अर्थात् किशोरीहरूले माछा मारेको दृश्यले थारु समुदायमा माछाप्रतिको लगावलाई झल्काउँछ ।
लेखक चौधरीले भुरभुरा रहरको अर्थ पनि किशोरकिशोरीको रहर भएको बताए । ‘मुजुरामा हालिएको रिबन, जुन हावाको झोकामा हल्लिन्छन् । किशोरीहरूले पनि त्यही भावना राख्छन् । त्यो भुरभुरा उड्नु र किशोरीको भावना उड्नु एउटै कुरा हो,’ उनले भने, ‘कथा सत्य घटनामा आधारित छ । गाउँघरमा यस्ता धेरै घटना छन् । तिनै घटनालाई मैले आर्थिक समस्या र सांस्कृतिक उत्पीडनसँग जोडेर कथा तयार पारेको छु ।’
निर्देशक प्रणवले नाटकमा ५० वर्षअघिको पश्चिमी थारु समाजलाई देखाउन खोजेको बताए । नाटक दंगौराभाषी लवजमा देखाइएको छ । ‘५० वर्षअघिको थारु समाजलाई नाटकमा उतार्ने प्रयास गरेको छु,’ उनले भने, ‘जसका लागि महिनौँ थारु गाउँका बुढापाकासँग त्यस बेलाको भाषा, संस्कृतिबारे अध्ययन गरेँ ।’

Leave A Comment