रंगमञ्चबाटै महायात्रा

बिहिबार, २१ पुष २०७३, १० : ३४ शुक्रवार , Kathmandu
रंगमञ्चबाटै महायात्रा

–सामीप्यराज तिमल्सेना
उनले जीवनभर अनेक भावका अभिनय गरे । र, अन्त्यमा आफ्नै मृत्युको अभिनय । तत्क्षण त्यो अभिनय यथार्थमा बदलियो र उनको चोला फुत्त उडेर अनन्तमा बिलायो ।
कस्तो दुःखद संयोग ! रंगकर्मी विष्णुभक्त फुयाँल मंगलवार राजधानीमा नाटक खेल्दाखेल्दै अस्ताए । ७९ वर्षका उनी जमलस्थित राष्ट्रिय नाचघरमा ‘महर्षी याज्ञवल्क्य’ नाटक खेल्दै थिए । संवाद बोल्दाबोल्दै बेहोस भएका उनी फेरि बौरिएनन् ।
राजा जनकको राजसभामा ब्रह्मवेत्ताहरूको शास्त्रार्थ चलिरहेको छ । शास्त्रार्थ गर्दागर्दै शाकल्य ऋषि याज्ञवल्क्यसँग शास्त्रार्थमा हार्छन् । र, हारको पीडा खप्न नसकेर बेहोस हुन पुग्छन् । ऋषि बेहोस भएको देखेर राजा जनकले सेवकहरूलाई राजवैद्य बोलाउन आदेश दिन्छन् । अनि, छेवैमा रहेका मन्त्रीलाई आफू नजिक बोलाउँछन् ।
मन्त्रीजी यता आउनोस् त ?
मन्त्री नजिकै आउँछन् र राजाको आडमा बस्छन् । राजाबाट के आदेश हुनेहोला भनेर जिज्ञासु बनेका मन्त्री त्यतिबेला छक्क पर्छन् जब राजा जनक केही बोल्नुको साटो मन्त्रीको काखमा बेहोस हुन्छन् ।
 राष्ट्रिय नाचघरमा आइतवारबाट मञ्चन भइरहेको नाटक ‘महर्षी याज्ञवल्क्य’को दृश्य थियो यो । र, राजा जनकको रूपमा अभिनय गरिरहेका थिए, फुयाँल  । उनले मन्त्रीलाई बोलाएर के आदेश देलान् भन्ने सबैमा जिज्ञासा थियो ।  तर, मन्त्रीजी यता आउनोस् नै उनको जीवनको अन्तिम संवाद बन्यो । मन्त्री नजिकै आए पनि उनले मन्त्रीलाई आदेश दिन सकेनन् ।  
मञ्चबाट उदाएर विष्णुभक्त फुयाँल बनेका उनी मञ्चमै अस्ताए ।
दर्शकदीर्घाको पहिलो बेन्चमा बसेर नाटक हेरिरहेका सोही नाटकका निर्देशक बद्री अधिकारीलाई अहिले पनि विष्णुभक्तको त्यो अन्तिम दृश्य नाटकभन्दा बढी लागेको छैन । सुरुमा त उनलाई पनि अचानक फुयाँलले के ‘इम्प्रोभाइज’ गरेछन् भन्ने लागेको थियो  तर, केहीबेरसम्म पनि हलचल नगरेपछि अधिकारी आफैँ मञ्चमा उत्रिए । धडकन चलिरहेको थियो । तर, बोलाउँदा आवाज नआएपछि उनले नै दर्शकदीर्घातिर फर्केर कलाकार बिरामी भएका कारण नाटक रद्द भएको सूचना दिए ।
‘दर्शकलले मञ्चमा चलिरहेको दृश्य नाटक हैन रहेछ भन्ने बल्ल चाल पाए,’ अधिकारीले भने, ‘पछिसम्म पनि दर्शक विष्णुजीको महाप्रस्थान नाटक नै भन्ठानेर हेरिरहनु भएको थियो । तर, उहाँको यो यात्रा नाटकभन्दा कम थिएन । जीवनमा यस्तो दिन पनि देख्नुपर्ला भन्ने कल्पना पनि गरेको थिइनँ ।’
अधिकारीले फुयाँलको बारम्बार भन्ने गरेको कुरा पनि दोहो¥याए । अधिकारीका अनुसार फुयाँल बारम्बार आफू नजिकका नाट्यकर्मीसँग नाटक गर्दागर्दै मर्न पाए हुन्थ्यो भनिरहन्थे ।
‘माग्यो भने पुग्दो रहेछ भन्ने कुराको सबैभन्दा ठूलो दृष्टान्त उहाँ नै लाग्यो,’ अधिकारीले भने, ‘जे माग्नुभएको थियो त्यही पाउनुभयो ।’
जमलस्थित राष्ट्रिय नाचघरमा बद्री अधिकारीले करिब तीन महिनाको रिहर्सलपछि आइतवारबाट ‘महर्षि याज्ञवल्क्य’ नाटकको मञ्चन थालेका थिए । सत्यमोहन जोशी लिखित नाटकले ऋषि याज्ञवल्क्यको एक खण्डको जीवनलाई पर्दामा उतार्ने जमर्को गरेको थियो । आइतवार र सोमवार नाटकमा राजा जनकको भूमिकामा देखिएका फुयाँलले मंगलवार भने पूरा नाटक देखाउन पाएनन् । नाटक सकिन आधा घण्टा बाँकी हुँदा नै नाटकको दृश्यमा झैँ बेहोस भए । केहीबेर मञ्चमै ब्युँताउने प्रयास असफल भएपछि नाटककै अन्य कलाकारले उनलाई नजिकैको वीर अस्पताल पु¥याए । तर, त्यसको आधा घण्टापछि डाक्टरले उनलाई मृत घोषित गरे ।
‘पाँच बजेतिर ढल्नु भएको थियो । छ बज्दासम्म डाक्टरले उहाँलाई मृत घोषित ग¥यो,’ अधिकारीले भने । वीर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले अस्पताल ल्याइपु¥याउँदा फुयाँल बेहोस अवस्थामा भएको बताए । ‘ब्लडप्रेसर ठीक थिएन । अक्सिजन सेचुरेसन घटिसकेको थियो,’ उनले भने, ‘स्टोक नै मृत्युको मुख्य कारण हुन सक्छ ।’ फुयाँल सुगरका बिरामी थिए ।
उनको अप्रत्याशित मृत्युसँगै सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिनेको ओइरो लागेको छ । उनीसँग काम गरेका हरेकले उनको कामको सम्झना गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘नाटक गर्दागर्दै मर्न पाऊँ भन्नुहुन्थ्यो । दैवको लीला त्यस्तै भयो’ कलाकार दीपकराज गिरीले भने, ‘सधैँ सबैलाई हँसाइ राख्नुहुन्थ्यो । उमेर ढल्के पनि उहाँको जोशमा कहिल्यै कमी आएन ।’ हास्य टेलीसिरियल ‘तितोसत्य’मा फुयाँल ‘ओ माई लभ’ भन्दै ‘फ्लर्ट’ गर्ने वृद्धको भूमिकामा देखिएका थिए ।
उनलाई नजिकबाट चिन्नेहरू कलाप्रति समर्पित व्यक्तिको रूपमा चिन्थे । आफूले पाएको भूमिकालाई हदैसम्म न्याय गर्ने प्रयास गर्ने गरेको उनीसँग काम गरेकाहरू बताउँछन् । ‘आइतवार पहिलो सो भएपछि पनि उहाँले ‘मैले तपाईंले सोचेजति गरेँ कि गरिनँ ?’ भनेर सोध्नुभएको थियो । मैले तपाईंले राम्रो गर्नु भएको छ भन्दा पनि ‘नयाँ पुस्ताको जत्तिको गर्न सकिनँ भने भन्नु है’ भनेर भन्नु भएको थियो,’ निर्देशक बद्री अधिकारीले दुई दिनअघिको घटना सुनाउँदै भने, ‘सत्यमोहन दाइले सोमवार नाटक हेरेर राम्रो गर्नु भयो भनेर बधाई दिएपछि बल्ल उहाँको चित्त बुझेको थियो ।
फुयाँललाई ‘न्यायप्रेमी’ र ‘घनचक्कर’ नाटकमा निर्देशन गरेका सुनिल पोखरेल भने उनलाई राम्रो कलाकारसँगै असल मानिसको रूपमा पनि सम्झन्छन् ।
‘उहाँ जति राम्रो कलाकार हुनुहुन्थ्यो त्यत्ति नै असल मानिस । ८० वर्षको उमेरमा पनि उहाँको सक्रियता लोभ लाग्दो थियो । नयाँ पुस्ताले उहाँबाट सिक्ने कुरा धेरै छन्,’ पोखरेलले भने ।  
त्यस्तै कलाकारको रूपमा अन्त्यन्तै मेहनती र सबैको प्रेरणाको स्रोत भएको अर्का रंगकर्मी भोला सापकोटाले बताए । ‘नाटकमा सँगै काम ग¥यौँ, उहाँ अत्यन्तै सहयोगी र मेहनती हुनुहुन्थ्यो,’ सापकोटाले भने, ’नेपाली रंगक्षेत्रले अभिभावक गुमाएको छ ।’ बौद्ध महांकाल घर भएका उनका तीन सन्तान छन् । उनले विभिन्न नाटक, फिल्म र टेलिसिरियलमा अभिनय गरेका छन् । पाँच दशकयता रंगकर्ममा सक्रिय उनी नाटक पनि लेख्ने गर्थे । उनको जन्म सन् १९९४ भदौ २३ मा  भक्तपुरमा भएको हो । २०१९ सालमा पहिलो पल्ट नेवारी नाटक ‘कर्मया भोग’मा अभिनय गरेका उनले ‘शहीदको सपना’ नामको नाटकसंग्रह पनि प्रकाशित गरेका छन् । उनले यसै वर्ष मात्र नेपाल सरकारबाट नाटक विधाको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए ।
फुयाँल एमाले पार्टीबाट राजनीतिमा पनि सक्रिय थिए । फुयाँल कामनपा वडा नं ६ को वडाध्यक्षसमेत भएका थिए । त्यसै गरी फुयाँलले एमालेको भातृ संगठन जिफन्टमा पनि सक्रिय रहेर काम गरेका थिए ।

Leave A Comment