भूकम्पपछि पहिलो पटक धादिङ महोत्सवमा प्रहसनका लागि मञ्चमा देखिएका धुर्मुस–सुन्तलीले पुनर्निर्माणमा सरकारको ढिलासुस्तीप्रति व्यंग्य गरेका छन् ।
पुस ७ देखि १७ गतेसम्म सञ्चालन भएको पाँचौँ धादिङ महोत्सवमा गत शुक्रवार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भूकम्पले घरबास गुमाएका जनता अझै टहरोमा बसिरहँदा सरकारले पुनर्निर्माणमा ढिलाइ गरिरहेकोप्रति व्यंग्य गरे ।
पुनर्निर्माण कार्यमा जनताले सरकार छ भन्ने महसुस गर्न नसकेकोप्रति व्यंग्य गर्दै भने, ‘जनताका लागि पो सरकार छैन, ठूलठूला नेताका लागि सरकार छ । महँगा गाडी चढ्ने र तारे होटलमा पार्टी गर्नेलाई सरकार छ । ठूला मान्छेलाई त टाउको दुख्यो भने पनि सरकार छ ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काममा ढिलासुस्ती गरेको र देखिने गरी खासै प्रगति नभएको भन्दै उनीहरूले प्राधिकरणको नामै ‘राष्ट्रिय पुनर्निर्माण बन्ध्याकरण’ राख्नुपर्ने भन्दै व्यंग्य गरे ।
‘अब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नाम संशोधन गर्नुपर्छ अनि नामअनुसारको काम हुन्छ । त्यसैले अब प्राधिकरण होइन बन्ध्याकरण सुहाउँछ,’ व्यंग्य गर्दै धुर्मुसले भने ।
प्रहसनमार्फत उनीहरूले सबै जनतालाई पुनर्निर्माणको महाअभियानमा लाग्न आग्रह गरे । उनीहरूले अहिले पीडित जनताको भावनामाथि इन्जिनियरले पनि राजनीति गरेर खेलवाड गरिरहेको बताए ।
धुर्मुस–सुन्तलीलाई नेपाल सरकारले सरसफाई अभियानका लागि सद्भावना दूत नियुक्त गरेको छ । उनीहरूले प्रहसनमार्फत जिल्ला–जिल्लाबाट उद्योग वाणिज्य संघको अगुवाइमा सरसफाईका लागि नयाँ योजना बनाएर अघि बढ्न आग्रह गरे ।
विनाशकारी भूकम्पपछि एकीकृत बस्ती निर्माणमा खटिएका धुर्मुस–सुन्तलीले भूकम्पपछि पहिलो पटक धादिङ महोत्सवको स्टेजमा प्रस्तुति दिएको जानकारी गराए । सरकारले पुनर्निर्माणका काममा ढिलासुस्ती गरिरहेका बेला दुई एकीकृत बस्ती निर्माण गरेका धुर्मुस–सुन्तली चर्चामा छन् ।
एघार दिनसम्म सञ्चालन भएको महोत्सव करिब १ लाख ५० हजारले अवलोकन गरेको जानकारी आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघले दिएको छ ।
Leave A Comment