मण्डलामा ‘अन्धो युग’

शुक्रबार, २२ पुष २०७३, ११ : १० शुक्रवार , Kathmandu
मण्डलामा ‘अन्धो युग’

मण्डला थिएटरमा महाभारत युद्धमा आधारित नाटक ‘अन्धो युग’ मञ्चन भइरहेको छ । एउटा पुरानो कालखण्डलाई नयाँ दर्शकसामु नाटकमा उतार्न आफूलाई निकै गाह्रो भएको निर्देशक दीपक बराल बताउँछन् । ‘छन्दमा लेखिएको कथा शुद्ध नेपाली बनाउनै गाह्रो,’ बरालले भने, ‘कतिपय शब्दको नेपाली अर्थ नभेट्दा अर्को समस्या ।’
पुरातन ढाँचा वा आधुनिक ढाँचा रोज्ने कठिनाइकै बीच उनले पुरानै ढाँचा रोजे । नाटकको नाम ‘अन्धोयुग’ राख्न पनि निकै छलफल र बहस गरेको बराल सुनाउँछन् । नयाँ कलाकारलाई छ महिना तालिम र तीन महिना कार्यशाला गरेर नाटकमा उतारेका हुन् । ‘महाभारत पूरै पढ्न लगाएँ । को पात्रको कस्तो भूमिका भनेर मिहीन रूपमा अध्ययन गराएँ,’ उनले भने । वियोगको पीडा एकैचोटि मञ्चमा उतार्नुभन्दा बिस्तारै घटनाक्रम जोडेर दर्शकलाई बताउने प्रयास आफूले गरेको उनको भनाइ छ । साहित्यकार राजेन्द्र सलभको अनुवाद रहेको नाटकलाई पुनर्लेखनसहित बरालले निर्देशन गरेका हुन् । मञ्चमा आयान खड्का, सुप्रिमा श्रेष्ठ, किरण श्रेष्ठ, मिलन कार्की, विक्रम श्रेष्ठ, पुष्कर कार्की, सुदीप खतिवडा, किरण श्रेष्ठ, बाराता लिम्बू, सुवास नेपाल, अनिल कार्की, विकास पन्त, कुन्दन चौधरी र त्रिचन्द्र राई छन् ।
पुस ८ गतेबाट सुरु भएको नाटकको माघ २ गतेसम्म मञ्चन हुनेछ ।

Leave A Comment