दंग बेनिशा

शुक्रबार, १० असार २०७३, ०४ : २७ शुक्रवार , Kathmandu
दंग बेनिशा

अभिनेत्री बेनिशा हमाल आफ्नो अभिनयमा विविधता देखाउन खोज्दै छिन् । भर्खरै फिल्म ‘कालो पोथी’मा मुगुकी युवतीको भूमिका निर्वाह गरेर प्रशंसा बटुलेकी उनले एक बायोपिकमा काम गर्ने अवसर पाएकी छिन् । दृष्टिविहीन सृष्टि केसीको जीवनीमा आधारित रहेर बन्ने फिल्म ‘ब्लाइन्ड रक्स’मा उनी अनुबन्धित भएकी हुन् । फिल्ममा उनी सृष्टिकै भूमिका निर्वाह गर्न पाउदा दंग छिन् । आँखा चिलाउने समस्या देखिएपछि उपचार गर्न अस्पताल पुग्दा डाक्टरले गलत औषधि दिएपछि १६ वर्षको उमेरमा जलबिन्दु भई पूर्णः दृष्टिविहीन भएकी युवती हुन् सृष्टि । तर, उनी यतिबेला ‘आँखाको ज्योति त गुमेको हो नि, जिन्दगी त होइन नि’ भन्दै ‘मोटिभेसनल स्पिच’ दिँदै हिडिरहेकी छिन् । उदाहरण बनिरहेकी छिन्, प्रेरणाको स्रोत बनिरहेकी छिन् । ‘हरेक कलाकारको सपना हुन्छ, यस्तो खाले फिल्ममा काम गर्ने,’ बेनिशाले भनिन्, ‘मेरो पनि थियो । सृष्टिका भाषण र प्रवचनहरू युट्युबमा हेरेपछि मलाई थाहा भयो, उहाँ त इन्टरनेसनल हिरो हुनु हुँदो रहेछ । थाहा छैन फिल्ममा म उहाँ जत्तिकै प्रेरणादायी हुन सक्छु या सक्दिन । तर, सय होइन, १ सय १० प्रतिशत कोसिस गर्नेछु ।’ उनले आफूलाई सृष्टि चरित्रमा ढाल्न निर्देशकसँग चार महिनाको समय मागेको बताएकी छिन् । उनी वजन पनि घटाइरहेकी छिन् । सृष्टि बन्न पाउँदा दंग बेनिशालाई अब दर्शक दंग बनाउने चुनौती थपिएको छ ।

 

 

Leave A Comment