कलेजको पहिलो दिन

शुक्रबार, १० असार २०७३, ०४ : ३५ शुक्रवार , Kathmandu
कलेजको पहिलो दिन

एसएलसी पास भएपछि पहिलो पटक कलेज जाँदा कस्तो महसुस भएको थियो ? केही अभिनेत्रीले शुक्रवारसँग कलेजको पहिलो दिनलाई यसरी सम्झिएः

प्रियंका काकी
मैले ललितपुरको रातो बंगला स्कुलमा पढेकी हुँ । कलेज अर्थात् ओ लेभल मैले त्यहीँ पढेँ । एउटै संस्था भएकाले त्यस्तो फरक अनुभव त केही भएन । स्कुलमा नीलो प्यान्ट र नीलो चेक सर्ट लाउनुपथ्र्यो । ओ लेभलमा चाहिँ कालो र सेतो चेक सर्ट र कालो प्यान्ट लाउनुप¥यो । बिल्डिङ पनि अर्कै थियो । त्यहाँ जुनियर जान पाउँदैनथिए । आफूले जान नपाएको बिल्डिङमा सिनियर भएर जान पाउँदा रमाइलो अनुभव भएको थियो ।

वर्षा शिवाकोटी
एसएलसी पास गरेपछि २०६६ सालमा हो मैले कलेज ज्वाइन गरेको । ह्वाइट हाउस कलेजमा पढ्ने चाहना सानैदेखि थियो । त्यही एडमिसन गरँे । त्यसैले कलेजको पहिलो दिन कलेज पुग्नुअघिसम्म एकदमै उत्साहित थिए । कलेज भन्नेबित्तिकै ‘फ्रिडमको लेभल’बढी हुन्छ होला भन्ने सोचेकी थिएँ । तर, त्यहाँ त एकदम कडा रहेछ । नङ चेक हुँदोरहेछ । जुत्तामा पोलिस लगाएको÷नलगाएको पनि हेर्दा रैछन । स–सानो कुरा पनि चेक हुँदोरहेछ जुन मैले पहिलो दिनमै महसुस गरँे । कलेज र स्कुलमा त्यस्तो फरक चाहिँ पाइनँ । स्कुलमा पैसा लान मिल्दैनथ्यो । कलेजमा चाहिँ क्यान्टिनमा आफैँ तिरेर खान पाइयो । त्यो चाहिँ फरक हो । टिचरहरूले पढाउँदा ‘तिमीहरू ठूलो भइसकेका छौ’ भन्दै पढाउँदा नौलो महसुस भयो । मैले सोचेजति स्वतन्त्रता नदेख्दा चाहिँ अलि दुःख लागेको थियो । अर्को कुरा, अरू साथीहरू सबै ग्रुपग्रुप बनाएर कलेज आएका थिए । मेरो स्कुलबाट चाहिँ म एकजना मात्र रहेछु त्यो कलेज पढ्ने । त्यसैले पहिलो दिन अलिकति एक्लोपन महसुस भएको थिए । ‘एडजस्ट’ हुन टाइम लागेको थियो ।

नीता ढुगांना
हेटौडाको मकवानपुर बहुमुखी क्याम्पसमा भर्ना भएको थिएँ । कलेज भन्नेबित्तिकै ममा अर्कै किसिमको उत्साह थियो । तर, कलेज गएको पहिलो दिन नै म बिरामी परेँ । कक्षा नै नलिइकन फर्कनुपरेको थियो । क्लासमा पुगेर बसेको मात्र थिएँ, केही अप्ठ्यारो महसुस भयो । ज्वरो आएजस्तो भयो । अनि, साथीलाई लिन बोलाएँ र घर गएँ । टाइफाइड भएका कारण लगातार १० दिनसम्म कलेज जान पाइनँ । त्यसपछि जाँदा पनि धेरै पुराना साथीहरू पाएँ । कलेज पनि स्कुल जस्तै पो लागेको थियो । स्कुल लाइफका बेला त दिनभरि स्कुलमै भइन्थ्यो । कलेज त बिहान हुने, दिनभरि बोर पो हुनेरै’छ । सुरुसुरुमा त्यस्तै महसुस गरेँ । कलेजमा त पढाइभन्दा बढी गफ हुनेरै’छ जस्तो पनि लाग्यो । कलेज पुगेपछि आफू ठूलो भएजस्तो महसुस हुनेरै’छ ।  मलाई त अहिले सम्झिँदा पनि स्कुल लाइफ नै मज्जा लाग्छ ।

नम्रता श्रेष्ठ
म एकदमै उत्साहित थिएँ कलेजको पहिलो दिनमा । यति उत्साहित कि दुई दिनअघिनै कलेजको युनिफर्म रेडी बनाइसकेको थिएँ । कलेजको पहिलो दिनमा प्रायः धेरैले युनिफर्म लगाउँदैनन् । तर, म पहिलो दिन नै पूरा युनिफर्ममा गएको थिएँ । काठमाडौँको किस्ट कलेजमा साइन्स पढेको हुँ मैले । रमाइलो कुरा चाहिँ कलेजको पहिलो दिनमा साइन्स पढ्ने विद्यार्थीहरू युनिफर्ममा आएका थिएनन् तर, कमर्स पढ्नेहरू युनिफर्ममा आएका थिएँ । सँगसँगै म नर्भस पनि थिएँ । सँगै स्कुल पढेका साथी कि विदेश पढ्न गए कि अर्कै कलेजमा । म एक्लै थिए त्यहाँ पढ्ने । कलेजको पहिलो दिन कक्षामा आउनुभएको म्याडम मलाई एकदमै मन परेको थियो । तर, पछि थाहा भयो उहाँ हाम्रो सेक्सनको हुनुहुन्न रहेछ । त्यसपछि मैले रिक्वेस्ट गरेर सेक्सन नै चेन्ज गरेँ । कलेज पुगेपछि आफू अलि ठूलो भा’को जस्तो महसुस हुँदोरहेछ । कस्ता साथी भेटिएलान् ? भन्ने कौतहुलता थियो । स्कुल पढ्दा होस्टेलमा बसेकाले कलेजको पहिलो दिन केही स्वतन्त्र भएजस्तो पनि महसुस भयो ।

प्रस्तुतिः अनिल

 

 

Leave A Comment