‘दुःख बिर्सेर हाँस्नु भनेको कलाकार हुनु हो’

शनिबार, ११ असार २०७३, १२ : ०६ शुक्रवार
‘दुःख बिर्सेर हाँस्नु भनेको कलाकार हुनु हो’

चार वर्षअघि फिल्म ‘अन्दाज’बाट नेपाली फिल्ममा डेब्यू भएका हुन्, अभिनेता सविन श्रेष्ठ । रेखा थापाले निर्माण गरेका प्रायः फिल्ममा उनले अभिनय गरेका छन् । फिट अभिनेतामा गनिने सविन अभिनीत फिल्म ‘नमस्ते नेपाल’ प्रदर्शनको तयारीमा छ । उनीसँग डिबी खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानीः


तपाईंको रूपरङ त दिनदिनै फेरिँदै छ । शरीरका लागि निकै मेहनत गर्नुहुन्छ जस्तो छ नि ?
बिहान दुई घण्टा नियमित जिम गर्छु । पानी र फलफूल बढी खान्छु । डाइटमा ध्यान दिइरहेको छु अचेल । यस्तो ग¥यो भने मेरो मात्र होइन सबैको शरीर तन्दुरुस्त र स्वस्थ हुन्छ ।

नेपाली फिल्ममा ज्यान बनाएको हिरोमध्ये पर्नुहुन्छ तपार्इं । ज्यान बनाउनका लागि दिनमा कति समय दिनुहुन्छ, कति खर्च गर्नुहुन्छ ?
ज्यान मात्र होइन जुनसुकै चिज बनाउन पनि टाइम त लाग्छ । खाएर मात्र ज्यान बन्दैन । कति मात्रामा खाने र कुन समयमा खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । कसरत कति मात्रामा गर्ने भन्ने पनि हो । म न्यूनतम दुई घण्टा आफ्नो शरीरलाई दिन्छु । खर्च भनेको त डाइटिङमै हुने हो ।

बडी बनाउँछु भनेर लागेको कति वर्ष भयो त ?
स्कुल पढ्दताकाको चाहना थियो– जिम जाने अनि तन्दुरुस्त र स्वस्थ रहने ।  जिम जान थालेको त सात वर्ष भयो । कामले गर्दा बीचमा समय दिन पाइनँ । अहिले फेरि निरन्तर दिइरहेको छु ।  

बडी कसको जस्तो होस् भनेर लाग्नुभएको थियो ?
हरेक मान्छेको बडी फरकफरक हुन्छ । अरूबाट प्रभावित भएर फलानोजस्तो बनाउँछु भन्ने हुँदैन ।
 
शरीर बनाउँदाका दुःख पनि त होलान् नि ?
लामो समयसम्म १०–२० केजीको फलाम उचाल्नुपर्छ, दुःख त भइहाल्छ नि । सुरुसुरुमा चारपाँच दिनसम्म थलै परियो । हातखुट्टा केही चलाउन नसकिने भइयो । बिस्तारै मज्जा आउन थाल्यो । अहिले त नदुखिञ्जेल जिम गरेन भने मज्जै आउँदैन ।

सानोमा त तपाईं निकै दुब्लो हुनुहुन्थ्यो  रे !
हो नि । २०–२२ वर्षको उमेरमा म साह्रै दुब्लो थिएँ । खानपिनमा पनि ध्यान दिन्थेन । दुइटा हातले कम्मर समाउन सक्थेँ । जिम स्टार्ट गरेदेखि तन्दुरुस्त भएकोे हुँ ।

फिल्म क्षेत्रमा लागिसकेपछि बडी बनाउनतिर लाग्नुभएको हो ?
होइन । एसएलसी दिने बित्तिकै मैले जिम जोइन गरेँ । म फिल्म लाइनमा आएको त त्यही चारपाँच वर्ष त भयो । यो लाइनमा आउनुको पछाडिको स्टोरी त छुट्टै छ ।

त्यही स्टोरी सुनौँ न त ।
अभिनेता सुमन सिंह मेरो पहिलादेखिकै साथी हो । एकदिन ऊसँग मेरो पुतलीसडकमा भेट भयो । हामीले एकअर्काको हालखबर सोध्यौँ । उसले ‘काठमाण्डु’ नामक सिरियल गर्दै रहेछ । ‘जंगे’ रोलका लागि कलाकार आवश्यक छ, गर्छस् ? भनेर मलाई प्रस्ताव ग¥यो । मैले ‘ह्या, मलाई यस्तो मन पर्दैन’ भनेर हिँडेको थिएँ । उसले ‘भोलि आइज्’ भनेको थियो । भोलिपल्ट युनिसेफको अफिसमा उसले मलाई नितेशराज पन्तसँग भेटायो । उहाँले मलाई एक्टिङ गर भन्नुभयो । मैले गरँे । उहाँ प्रभावित हुनुभयो र सिरियल खेल्न थालियो । त्यसै गरी फिल्ममा पनि ख्यालख्यालमै हिरो भइयो । निर्देशक उज्जवल घिमिरे दाइलाई म पहिलेदेखि नै चिन्थेँ । एक दिन फेसबुक चलाइरहँदा अनलाइनमा उहाँसँग भेट भयो । कुराकानीको क्रममा उहाँले ‘भोलि के छ तिम्रो’ भनेर सोध्नुभयो । ‘त्यस्तो केही छैन’ भने । उहाँले मलाई निर्माता छविराज ओझाको अफिसमा बोलाउनुभयो । म गएँ । ‘सिम्पल सिम्पल कान्छीको’ बोलको गीत सुनाउनुभयो । मैले ‘राम्रो छ, हिट हुन्छ’ भनेर प्रतिक्रिया दिएँ । त्यसपछि उहाँले मलाई छवि दाइसँग भेटाउनुभयो । अनि, उज्जवल दाइले छवि दाइसँग ‘मैले खोजेको फिल्मको हिरो उही हो’ भन्दै चिनाउनुभयो । र, फिल्म साइन गरेर पठाउनुभयो । यसरी म यो क्षेत्रमा लागेँ ।


फिल्मका लागि के–के गरियो त ?
फिल्ममा मेरो एक्सन रोल छ भनिएको थियो । त्यसैले फाइट डाइरेक्टर सम्राट बस्नेतसँग रंगशालामा डेढ महिना तेक्वान्दो सिकियो ।

अभिनेत्री रेखा थापाको प्रायः फिल्ममा तपाईं खेल्नुहुन्छ । यसरी सधैँ तपाईं नै उहाँको रोजाइमा पर्नुको कारण के हो ?
उहाँको र मेरो ट्युनिङ मिल्छ । यो क्षेत्रमा लागिसकेपछि फिल्मका लागि समय दिनसक्नुपर्छ । म दिइरहेको हुन्छु । अर्को कुरा, उहाँका  फिल्मको क्यारेक्टर मलाई ‘म्याच’ गर्ने खालको हुन्छ । त्यही भएर उहाँले मलाई लिनुहुन्छ जस्तो लाग्छ ।

रेखा थापाको स्टारडमकै कारण फिल्म चल्ने अवस्था पनि छ । त्यसैले फिल्म हिट हुँदाहुँदै पनि तपाईं छायाँमा पर्नुभा’को हो कि ?
मलाई त्यस्तो लाग्दैन । फिल्म समग्रमा हिट हुनुपर्छ । त्यसपछि सबै कलाकार हिट हुन्छन् जस्तो लाग्छ ।  

युवतीहरू तपार्इं भनेपछि मरिहत्ते गर्छन् रे भन्ने व्यापक हल्ला छ नि ?
त्यो त राम्रो कुरा हो नि । होइन र ?

खास गरी फिल्म क्षेत्रमा भर्खरभखरै आएका र आउन खोज्नेहरू तपार्इंसँग नजिकिन खोज्छन् रे !
त्यस्तो त होइन । मलाई मात्र होइन, सबै हिरोलाई मन पराउँछन् नि ।
युवती प्रशंसक कति छन् त्यो सुनाउनुस् न त ?
नढाँटी भन्नुपर्दा मेरा केटा फ्यान बढी छन् ।

गफै दिनुभए जस्तो छ ?
साँच्चै भनेको । कसरी जिम गर्ने र कसरी यस्तो बडी बनाउने ? भनेर सोध्ने केटाहरू धेरै भेटेको छु ।

एकदमै कम बोल्ने अभिनेताको सूचीमा तपाईंको नाम पनि छ नि ?

अँ, त्यो त म पनि सुन्छु । होला पनि । मैले बोलेको कुराले कसैलाई ठेस नपु¥याओस् भन्ने लाग्छ । त्यसैले कम बोल्छु । मलाई लाग्छ– म बोल्ने होइनँ, जे बोल्छ मेरो फिल्मले बोल्छ ।  

कहिलेकाहीँ कम बोलेकै कारण आफू यो क्षेत्रमा पछाडि परेजस्तो महसुस हुन्छ ?
हो । त्यस्तो मलाई पनि लाग्छ । यही कारणले प्रायः मसँग अन्तरवार्ता लिन र बोल्न हिचकिचाउँछन् मान्छेहरू । पहिलेपहिले त जवाफ दिइसकेपछि सोधेको प्रश्न पनि बिर्सिसक्थेँ । त्यतिसम्म ‘अनकन्सियस’ हुन्थेँ । बिस्तारै बोल्न सिक्दै छु ।

तपाईंको अभिनेत्री अनु शाहसँग गुपचुपमै प्रेम भयो र गुपचुपमै ब्रेकअप भयो भन्ने हल्ला छ नि ?
गुपचुपमै भएको भए समाचार कसरी आउँथ्यो त ?

ओपन्ली भएको हो त त्यसोभए ?
खासमा केही पनि होइन । हामी एकदमै मिल्ने साथी हौँ । हामीकहाँ केटासँग हिँड्दा केही भन्दैनन् केटी हिरोइनसँग हिँड्नासाथ गर्लफ्रेन्ड भनिदिन्छन् ।

अहिले कोसँग प्रेममा हुनुहुन्छ त ?
अहिले सिंगल छु ।

कति भयो सिंगल भएको ?
खोइ त्यो त बिर्सिएँ । जे होस् अहिले म सिंगल छु ।

भनेपछि त तपार्इंको जवाफ नै शंकास्पद छ !
खासमा सिंगल भन्ने कि डबल भन्ने दुविधा भयो । किनभने, आज सिंगल भनूँ भोलि कुनै भिडियो या फिल्मको सुटिङमा कुनै मोडल वा अभिनेत्रीसँग कफी खाएको कसैले देख्ला । अनि, अफेयरको हल्ला चल्ला । मलाई अहिले न बिहे गर्ने सोच छ न प्रेम गर्ने । अहिले आफ्नो नयाँ प्रोजेक्टतिरै व्यस्त छु ।

कस्तो प्रोजेक्ट ?
आफैँ ‘हिरो रिटन्र्स’ भन्ने फिल्म बनाउँदै छु । त्यसमै व्यस्त छु । फिल्ममा कमेडी, प्रेम र एक्सन सबै हुनेछ ।

सविन श्रेष्ठ भनेपछि फिल्ममा एक्सन चाहिँ हुनैपर्छ है ?
दर्शकले त्यही रूपमा रुचाइरहेका छन् नि त । मलाई दर्शकले सुरुमा एक्सन हिरोको रूपमा देखे त्यस्तै रुचाइरहेका छन् ।  

एक्सन सिन गर्दा एक्सिडेन्ट पनि थुप्रै भएका होलान् ।
धेरै पटक एक्सिडेन्ट भा’को छ । ‘अन्दाज’ फिल्मको सुटिङताका जीवन लुइँटेल र मेरो फाइट पनि जोखिमपूर्ण थियो । चोट लागेको थियो । ‘रावण’मा बाँसले हात काटेको दाग त अझै छ । कम्मर सर्किएको थियो त्यतिबेला । तर, पनि एक्सन गर्दा मज्जा लाग्छ । म एक्सनलाई इन्जोय गर्छु ।

पर्दामा निर्वाह गर्न मन लागेको त्यस्तो कुनै भूमिका छ ?
सौगात मल्ल, दयाहाङ राई र कर्मा शाक्यको फिल्म नछुटाई हेर्छु । उहाँहरूले फिल्ममा निर्वाह गरेको ‘क्यारेक्टर’लाई हेर्दा मैले पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । उहाँहरूको ‘क्यारेक्टर’प्रति लोभिन्छु ।

भनेपछि तपाईं एक्सनबाट मात्र सन्तुष्ट हुनुहुन्न रहेछ ?
त्यस्तो पनि होइन ।

कहिलेकाहीँ आफू अभिनयमा ‘भर्सटायल’ हुन नसकेको महसुस हुन्छ ?
त्यस्तो त लाग्दैन । पहिले सविनलाई डान्स नै आउँदैन भन्थे । मैले ‘घण्टी बज्यो’ मा नाचेपछि त्यस्तो भन्नेहरू चुप लागे । ‘आधी बाटो’, ‘भाग सानी भाग’मा अभिनय गरेपछि एक्टिङ पनि गर्दो रहेछ भन्न थाले । मलाई लाग्छ मैले स्क्रप्ट मात्र त्यस्तो नपाएको हुँ । नत्र कोसिस गरे भने अन्य भूमिकामा पनि काम गर्न सक्छु भन्ने लाग्छ ।

तपाईंले ‘अभिनयमा ख्यालख्यालमै आइपुगेँ’ भन्नुभयो । केमा करिअर बनाउन चाहनुहुन्थ्यो ?
आफ्नो करिअरबारे त्यति धेरै चाहिँ सोच्नै पाइनँ । एसएलसी सकिने बित्तिकै सिरियलतिर लागेँ । तर, मेरो एउटा सानैदेखिको चाहना चाहिँ व्यवसायी बन्ने थियो । त्यसैले अब फिल्मको निर्माता पनि हुँदै छु ।

तपाईंलाई आफू सेलिब्रिटी भएको पहिलो पटक कहिले महसुस भयो ?
मलाई अहिले पनि आफू सेलिब्रिटी भएको महसुस भएकै छैन । आफूलाई हिरो पनि भन्दिनँ म कलाकार मात्र भन्छु ।

‘अन्दाज’देखि ‘नमस्ते नेपाल’सम्म आइपुग्दा तपाईंको अनुभवमा कलाकार हुनु भनेको के रहेछ त ?
मेरो अनुभवमा दुःखलाई बिर्सेर हाँस्नु भनेको कलाकार हुनु हो । यो मैले फिल्म ‘भाग् सानी भाग्’ सुटिङताका महसुस गरेँ । मेरो बुबालाई ब्रेन ह्यामरेज भएर अस्पतालमा भर्ना गर्नुपरेको थियो । उहाँलाई अस्पतालमा राखेर म काम गर्न गएको थिएँ । मेरो विचारमा कलाकारले बाहिर जस्तो दुःख भए पनि दर्शकका लागि हाँसीहाँसी अभिनय गर्नुपर्छ ।  

 

 

Leave A Comment