एसएलसीको रिजल्ट आउँदा

शनिबार, ११ असार २०७३, १२ : १६ अनिल यादव , Kathmandu
एसएलसीको रिजल्ट आउँदा

एसएलसीको रिजल्ट थाहा पाउनेबित्तिकै कस्तो महसुस भएको थियो ? केही कलाकारले त्यो क्षण शुक्रवारसँग साटेका छन्ः

केकी अधिकारी, अभिनेत्री
०६१ सालतिर बाल सिर्जनालय, जोरपाटी, काठमाडौँबाट हो मैले एसएलसी दिएको । मेरो सेन्डअपमा राम्रै पर्सन्टेज आएको थियो । त्यही भएर अपेक्षा एकदम धेरै थियो । भोलिपल्ट बिहान रिजल्ट आउने भनेपछि रातभर निन्दै्र लागेन । खाना पनि रुचेको थिएन । सोचेजस्तो माक्र्स आउला कि नआउला भन्ने चिन्ताले सताएको थियो । भोलिपल्ट बिहान होस्टेल इनचार्जले सबैको रिजल्ट गएर हेर्नुभयो । स्कुलबाटै पहिलो पटक डिस्टिंक्सन ल्याउने युवती म नै भएछु । त्यो सुन्नासाथ भुइँमा खुट्टा थिएन । खुशीको कुनै सीमा नै थिएन । नोटिस बोर्डमा टाँसिएको मेरो नाम र पाएको त्यो सम्मान अझै पनि सम्झन्छु ।  
प्रमोद खरेल, गायक
एसएसली रिजल्टको दिन म काठमाडौँमै थिएँ । गोरखापत्र किनेर कप्दैकप्दै पल्टाएँ । स्कुलको फस्ट ब्वाय भएकाले फस्ट डिभिजनमा ढुक्क थिएँ । तर, फस्ट डिभिजनमा सिम्बोल नम्बर नै देखिनँ । चिसो मुटु गर्दै सेकेन्ड डिभिजन हेरँे । त्यहाँ पनि छैन । थर्ड त हेर्दै हेरिनँ । फेरि, फस्टमै हेरँे । मेरो ४०५३८ डी सिम्बोल नम्बर त त्यही पो रै’छ । खुशी भएर आमाबुबालाई फोन गरँे । उहाँहरूको ठूलो सपना पूरा गरेजस्तो महसुस भयो । हर्षले आँसु आयो । झापामा आमाबुबा पनि उस्तै । मैले झापा, पृथ्वीनगरको हिमाली सेकेन्डरी स्कुलमा पढेको हुँ । २०५१ सालमा एसएलसी दिएको हुँ । राम्रो प्रतिशतमा कक्षा टप पनि गरेछु । सम्झदा नि आनन्द आउँछ ।

नाजिर हुसेन, अभिनेता
०६३ सालतिर मैले श्रीनेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय दुमरवाना, बाराबाट एसएलसी दिएको हुँ । त्यतिबेला म एकदमै बिरामी थिएँ । ज्वरो आएको थियो । जीउभरि ठेला थियो । कहिलेकाहीँ त बेहोश पनि हुन्थेँ । दुःखले परीक्षा दिएको थिएँ । रिजल्ट आउने दिन मुटु निकै ढुकढुक भएको थियो । दिदीले काठमाडौँबाट ‘सेकेन्ड डिभिजनमा पास भइछस्’ भनेर खबर सुनाउनुभयो । एकछिन त ‘वाह’ भयो । तर, म पूर्ण सन्तुष्ट भने भइनँ । बिरामी भएका कारण मैले सोचेजस्तो अंक ल्याउन सकिनँ । कक्षा ८ सम्म म स्कुलको सेकेन्ड ब्वाय थिएँ ।

बादल लिम्बू, गायक
मैले २०६७ सालमा झापा, बिर्तामोडको कन्काई इंग्लिस बोर्डिङ स्कुलबाट एसएलसी दिएको हुँ । ‘एसएलसी भनेको आइरन गेट हो । स्कुलको नाक राख्नुपर्छ है’ भन्नुहुन्थ्यो सरहरूले । त्यसैले एसएलसीको बेला त २४ घण्टामा दुईतीन घण्टा मात्र सुतियो । हामी मिल्ने साथीहरू एकै ठाउँमा भेला भएर पढ्थ्यौँ । म एसएलसी दिएर काठमाडौँ आएँ । रिजल्ट आउने दिन पनि म यतै थिएँ । कति पर्सन्टेज आउँला भनेर एकदमै उत्साहित थिएँ । मोबाइलमा एसएमएसबाट रिजल्ट हेर्दा त फस्र्ट डिभिजन भएछु । बधाईको त ओइरा लाग्यो । बधाई खाँदाखाँदा हैरान भएँ । त्यो पल म कहिल्यै बिर्सिन्न । जीवनकै अविस्मरणीय पलमध्ये पर्छ एसएलसी रिजल्ट ।

मेलिना राई, गायिका
मैले काठमाडौँ, जोरपाटीको अरुण ज्योति विद्या मन्दिरबाट ०६४ सालमा एसएलसी दिएको थिएँ । ०६५ मा रिजल्ट आएको हो । रिजल्ट आएको दिन म बुबासँग स्टुडियोमा गीत रेकर्डिङ गर्न पुगेकी थिएँ । पास हुन्छु भन्नेमा ढुक्क थिएँ । तर, पनि मनमा एकखालको डर हुँदोरहेछ । बुबाले त्यही पत्रिका किनेर ल्याउनुभयो । अनि, सिम्बोल नम्बर खोजेको सुरुमा त देख्दै देखिनँ । कतै मेरो पेपर हराएर चेक हुन पाएन र फेल भए कि ? कतै अंक जोड्दा मिस्टेक भयो कि ? जस्ता कुरा मनमा खेल्न थाले । पछि फस्ट डिभिजनमा मेरो नम्बर देखेँ । धेरै खुशी भएँ । स्टुडियोमा रेकेर्डिस्ट र एकजना अंकल हुनुहुन्थ्यो । बुबाले तत्काल लड्डु किनेर ल्याउनुभयो । सुरुमा उहाँलाई खुवाए अनि अरूलाई पनि बाँडे ।

 

Leave A Comment