केही वर्षयता मनोरञ्जन उद्योगका सार्वजनिक कार्यक्रम मलाई उच्चाटलाग्दा लाग्छन् । त्यही मञ्च, तिनै अनुहार, तिनै गसिप, तिनै कुरा कटाइ... रसरंगी पेशामा आबद्ध भएकाहरूका तिनै रसहीन हाउभाउ, तिनै अहंकारजन्य चुरीफुरी, तिनै कुण्ठा र तिनै यावत् यावत् गतिविधि । यस्ता कार्यक्रममा त्यति अभिरुचि लिन छाडेपछि कलाकारहरूको हालखबरबाट पनि बेखबर भइँदो रहेछ । गहिरो दोस्ती नभएकाहरूसँग काम नपरी सम्पर्क गरिँदो रहेनछ ।
यो इन्डस्ट्रीमा अनेकौँ घुम्ती छन् । अनि अनेकौँ पात्र । यस्तै एउटा घुम्तीमा भेटिएकी एक पात्र थिइन्, उनी । मेरो कुनै बखत दोस्ती थियो उनीसँग । तर, गहिरो भएन । हालसालै रिपोर्टिङका क्रममा एउटा कार्यक्रममा पुगेपछि अनायास सम्झनामा आइन् उनी ।
रंग क्षेत्रमा लामो समयदेखि रिपोर्टिङ गरिरहेका एक मित्रलाई सोधेँ, उनका बारेमा ।
‘दुबईमा नाच्न गएको दुई महिना भइसक्यो !’
उनले ताजा खबर सुनाए । म्युजिक भिडियो र फिल्मबाट आउने अफर घटेपछि जीविकोपार्जनकै लागि नृत्यांगना (आम बोलीमा नर्तकी) का रूपमा दुबई पुगेको बेलीविस्तार लगाए उनैले ।
मैले पत्याइनँ । किनभने, मैले उनलाई अन्तिमपल्ट भेटेको दरबारमार्गमा हो । दरबारमार्गको ‘प्राइम लोकेसन’मै रहेको आफ्नो रेस्टुरेन्टमा कफी खान बोलाएकी थिइन् उनले । जुन रेस्टुरेन्ट उनको आफ्नै भएको धेरै दिन भएको थिएन । तर, त्यो रेस्टुरेन्ट अर्कैको हुँदा पनि म कफी पिउन पटक–पटक पुगिसकेको थिएँ । मैले बधाई दिएँ । मोडलिङ र फिल्म क्षेत्रमा संघर्ष गर्दै गरेकी एउटी युवतीले घर चलाउने विकल्प खोज्नुलाई निकै सकारात्मक रूपमा लिनुपर्छ । मैले उनको प्रगतिको प्रशंसा गरेको थिएँ, शुभकामना दिएको थिएँ ।
दरबारमार्ग नेपालभित्रको अर्काे एउटा छुट्टै नेपाल हो । समृद्धि, शक्ति र आडम्बरको प्रतीक हो, दरबारमार्ग । जहाँको रेस्टुरेन्टमा बसेर कफी पिउनु ‘स्ट्याटस सिम्बोल’ हुन्छ । यस्तो ठाउँमा रेस्टुरेन्टको मालिक्नी हुनु भनेको चानचुने उपलब्धिको कुरा थिएन, त्यो पनि एउटा संघर्षशील कलाकारका निम्ति ।
०००
उनको विगतसँग धेरथोर परिचित थिएँ । उनले मोडलिङ गर्न भनेर काठमाडौँमा राखेको पहिलो पाइलादेखि नै साथ दिन मान्छे मेरा परिचित थिए । एउटा मोडेल वा हिरोइनका लागि चाहिने सौन्दर्य प्रशस्त थियो उनीसँग तर त्यो बाहेक केही पनि थिएन उनीसँग, त्यो बेला । यी यावत् अभावका बाबजुद सौन्दर्यकै आडमा इन्डस्ट्रीमा एउटा स्थान बनाइरहेकी थिइन् उनी । यही क्रममा सँगै आफ्नै व्यवसाय समेत चलाउने लक्ष्य लिएकी थिइन् । जसले उनको करिअरमा ठूलो आडभरोसा दिन सक्थ्यो ।
त्यो व्यवसायका लागि लगानी कहाँबाट आयो भन्नेबारे उनकै परिचितहरूले विभिन्न कथा–उपकथा–सहकथा सुनाएका थिए, कसैले सीधा भाषामा, कसैले घुमाउरो भाषामा । त्यसमध्ये एउटा कथा उनीसँग असाध्यै निकट व्यक्तिले सुनाएकाले केही विश्वसनीय लागेको थियो । उनी आफ्नै कमाइले रेस्टुरेन्ट मालिक्नी बन्ने स्थिति बनिनसकेकाले पनि एउटा कथामा विश्वास गर्नुपथ्र्याे । निकटस्थले भनेको कथाअनुसार उनलाई म्युजिक भिडियोमा देखेपछि एकजना पैसावाल मान्छे हत्ते हालेर उनको पछि लागेका थिए । उनलाई फकाउन अनेकथोक गरे । त्यही क्रममा व्यवसायका लागि उनले लगानी गरिदिएका थिए । ती व्यक्तिबाट उनले धेरथोक पाइन् । उनले पनि यिनीबाट आफूले अपेक्षा गरेका धेरथोक हासिल गरे । लेनदेनको दुनियाँमा सायद उनीहरू स्वाभाविक भूमिकामा थिए ।
ती व्यक्तिबाट उनले धेरथोक पाए पनि प्रेमको अभाव महसुस गरिरहिन् । तर, एक समयसम्म यी दुवैले ‘विन–विन’को स्थितिमा एकअर्कालाई उपयोग गरिरहे । (उपयोग शब्द र त्यसको ध्वनिसँग जोडिएको क्रूरता जति अप्रिय लागे पनि संसार चलि त यसरी नै रहेको छ ।)
जीविकोपार्जनको तनाव यताबाट समाप्त भएपछि उनी जीवनको अर्काे घुम्तीमा प्रवेश गरिन् । जुन घुम्तीमा ठोक्किन आइपुगे, फिल्म क्षेत्रलाई सपना बनाइरहेका एक युवा । आकर्षक ज्यानका धनी ती युवाको प्रेममा उनी यति एकोहोरिइन् कि जे गर्न पनि तयार थिइन् । उता फिल्ममा स्थापित हुन ज्यान फालेर लागेका ती युवाले यिनलाई ‘लाइन’ दिए तर उनी त्यति आसक्त थिएनन्, जति यी थिइन् ।
केही समयसम्म उनीहरूको गुप्त प्रेम चलिरह्यो । उनीसँग आर्थिक ‘ब्याकअप’ बलियो रहेको चाल पाएपछि केटाको त्यतातिर आँखा परेको थियो । त्यसपछि प्रेमको नाटक गरेका रहेछन् भन्ने भेद खुल्न समय लागेन ।
किनभने, उनले ‘डिमान्ड’ बढाउँदै गए । उनले पूरा गर्दै गइन् । उनलाई लाग्यो– हामी दुई एक हुने भएपछि सम्पत्ति त जता भए नि के फरक पर्छ र ? सबथोक गुमाउन तयार थिइन् तर उनलाई गुमाउन उनी एक सेकेन्डको सपनामा पनि तयार थिइनन् । उनका निम्ति ती युवकबिनाको न संसार सम्भव थियो, न जीवन । त्यति आसक्त थिइन्, त्यति प्रेमान्ध थिइन् उनी । मानौँ, ‘लभ इज ब्लाइन्ड’ भन्ने अंग्रेजी उखानको सत्य साबित गर्नकै निम्ति उनी प्रेममा थिइन् ।
ती युवाको प्रेममा उनले आफ्नै ‘ज्यानको सम्पत्ति’ पनि बढाएकी थिइन् । ती बढाएका ज्यानका सम्पत्ति हुन्, वक्ष । ती युवाले उनलाई रूपमा सुन्दर भए पनि वक्षको सानो आकारमा ‘कमेन्ट’ गरिदिएछन् । ती युवाका लागि आफूलाई सोह्रै आना ‘सम्पूर्ण सुन्दर प्रेमिका’ बनाउन उनले भारत पुगेर स्तनमा सिलिकन राखेर आइन् । तर, डाक्टरको सल्लाहअनुसार सिलिकनवाला स्तनको देखभाल गर्न सकिनन् । उनको स्तनमा सिलिकन राख्दा बनाइएको घाउ बिग्रेछ । त्यसपछि यससम्बन्धी चिकित्सक खोज्ने क्रममा मलाई सम्पर्क गरेकी थिइन् । मैले उनलाई नेपालमै रहेका विज्ञ चिकित्सकसँग भेटाइदिएको थिएँ । चिकित्सकका अनुसार सिलाइएको टाँचा फुत्किएको थियो उनको । उपचार गरेर निको पारिन् त्यसलाई ।
जसरी यिनको प्रेममा परेर एक व्यक्तिले उनलाई सम्पन्न बनाइदिएका थिए, त्यसै गरी ती युवाको प्रेममा परेर यिनले आफूसँग भएको सबथोक रित्याइन् ।
र, एक दिन ती युवाले एकोहोरो रूपमा ब्रेकअपको घोषणा गरिदिए । (यो त हुनु नै थियो । यो सम्भावना उनले पो देख्न सकेकी थिइनन् । देखून् पनि कसरी ? प्रेमको बाक्लो पट्टी जो थियो बाँधिएको आँखामा ।)
प्रेम वियोगपछि एकपल्ट उनीसँग मेरो भेट भएको थियो । आफू सम्पूर्ण रूपमा सकिएको आशय प्रकट गरेकी थिइन् । केटाबाट धोका पाएको कुरा उल्लेख गरेकी थिइन् । तर, केटा र यिनीबीच रहेको माथिको प्रसंग चाहिँ निकै पछि यिनकै निकटस्थले भनेपछि मात्रै थाहा पाएँ ।
जिन्दगीलाई उनी यति नकारात्मक र निराशावादी दृष्टिकोणले हेरिरहेकी थिइन् कि कुनै दिन समाचारको दुःखद हेडलाइन बन्लिन् कि भनेर म डराएको थिएँ । आफू सम्पूर्ण रूपमा सकिएको ठान्नेले आफूलाई सिध्याउन के बेर ?
त्यतिबेला मेरो एकमात्र ध्येय थियो– उनको निराशालाई घातक तहमा पुग्न नदिने । त्यसका लागि अरू त के गर्न सक्थेँ र ? ‘संसार यस्तै हो’ भन्ने प्रमाणित गर्न संसारभरिका प्रेम र धोकाका अनेकन् कथा सुनाएको थिएँ । जीवनमा यस्ता आरोह–अवरोह भइरहन्छन् भन्ने उनलाई महसुस गराउन मलाई हम्मे–हम्मे भएको थियो । तर, उनका केही साथी र मेरो प्रयत्न खेर गएन । उनी जिन्दगीसँग लड्न तयार भइन् ।
त्यसपछि मेरो उनीसँग भेटघाट पातलिँदै गयो र अन्ततः केही समययता ठप्पै भयो ।
०००
उनी जीवन चलाउने उपक्रममा दुबई पुगेको थाहा पाएपछि मैले दरबारमार्गको रेस्टुरेन्टकी मालिक्नी कसरी यो अवस्थामा आइपुगिन् भनेर सोधखोज गरेँ । यही क्रममा भेटियो, उनको एकोहोरो प्रेमदेखि वियोगसम्मको कहानी ।
र, त्यही एउटा प्रेमले उनको ‘पिकअप’ लिँदै गरेको कला क्षेत्रको करिअर ओरालो लाग्यो । बलियो भइसकेको आर्थिक अवस्था कमजोर बन्यो र अहिले जीविकोपार्जनका लागि विदेशका डान्स रेस्टुरेन्टमा नृत्य गर्नुपर्ने अवस्था रहेको सुन्दा मन अमिलो भयो ।
कहाँ दरबारमार्गकी मालिक्नी, कहाँ दुबईकी नर्तकी !
मसँग उनलाई दिन मित्रवत् सहानुभूतिबाहेक अरू के छ र ?
Leave A Comment