तुलसी घिमिरे निर्देशित ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘दक्षिणा’, ‘चिनो’, ‘दर्पणछायाँ’ लगायत थुप्रै फिल्मले नेपाली दर्शकको मन जितेका छन् । नेपाली फिल्मप्रेमीका मनमस्तिष्कमा घिमिरेले आफ्नै संसार बनाइदिएका छन् । उमेरले ६५ औँ वसन्त पार गरेका घिमिरेले जीवनपर्यन्त नेपाली फिल्ममा रहने बताउँदै आएका छन् । फागुनमा उनी ‘दर्पणछायाँ–२’ लिएर दर्शकमाझ आउँदैछन् । उक्त फिल्ममार्फत उनका दुई छोरी भावना र पञ्चमी नेपाली फिल्ममा प्रवेश गर्दैछन् ।
उनले निर्देशन गरेको ‘दर्पणछायाँ–२’ मा जेठी छोरी भावनाले कला निर्देशकको जिम्मेवारी सम्हालेकी छिन् भने कान्छी पञ्चमीले सहनिर्देशकको । पुत्रीद्वयले मुम्बईमा रहेर फिल्म निर्माण र निर्देशन कला सिकेका छन् । फाइन आर्ट पढेकी भावना कला निर्देशनमा बढी दख्खल राख्छिन् भने मास मिडिया पढेकी पञ्चमी फिल्म मेकिङमा ।
दार्जिलिङमा ‘दर्पणछायाँ–२’ को सुटिङका क्रममा निर्देशक घिमिरे र उनका दुई छोरीलाई भेटेर डिबी खड्काले अन्तरंग कुराकानी गरेका छन् ।
तपाईंको दर्पणमा छोरीहरूको छायाँ देखिन थालेको हो ?
तुलसीः हो । हामी जुन बाटोमा थियौँ, छोरीहरू पनि त्यही बाटोमा हिँड्न आइपुगेका छन् । यस हिसाबले मेरो दर्पणमा उनीहरूको छायाँ देखिन थालेको भन्न मिल्छ ।
भावना र पञ्चमी, तपाईंहरू बाउको बिँडो थाम्न तयार भएको संकेत हो यो ?
भावनाः हो ।
पञ्चमीः हाम्रो कोसिस त्यही हुनेछ ।
के कुराले तान्यो फिल्म क्षेत्रमा ? बुबाको नामले वा आफ्नै रहरले ?
भावनाः सानैदेखि फिल्म निर्माणकै वातावरणमा हुर्कियौँ । यसले हामीलाई छोडेन । जे गर्दा पनि यससँग जोडियौँ । त्यसैले सानैदेखि भोलि गएर यही क्षेत्रसँग जोडिनुपर्छ भन्ने लागिरह्यो ।
पञ्चमीः हामीलाई आमाबाबासँगै कहिले काम गर्ने भन्ने लागिरहन्थ्यो सानैदेखि । दिदीबहिनी एकदमै कुरा गथ्र्याैं, हामी पनि त्यसरी कहिले काम गर्ने भनेर । बल्ल त्यो इच्छा पूरा भयो ।
तपाईंसँग भएको निर्देशन कला छोरीहरूमा कत्तिको सरेको रहेछ ?
हामीले फिल्म निर्माण सदा ‘कम्प्रमाइज’मा ग¥यौँ । तर, अहिले यिनीहरू त्यति नै लगानीमा पनि ‘कम्प्रमाइज’ नगरी बनाउनुपर्छ भन्नेमा आइपुगेका छन् । यसपालिको सुटिङमा देखेँ, मैले ‘ओके’ गरेका दृश्यलाई उनीहरूले क्यान्सिल गरे । मलाई भनिरहे– ‘यो दृश्यलाई त्यसरीभन्दा यसरी राम्रो गर्न सकिन्छ ।’ उनीहरूको यो शैलीबाट सुटिङ युनिटका अन्य सदस्य इरिटेटेड पनि भए । फिल्म निर्देशनप्रतिको रुचि मबाटै सरे पनि मैलेभन्दा धेरै सिक्न पाए यिनीहरूले । त्यसैले राम्रो गर्न सक्छन् ।
आफूलाई लागेका कुरामा ‘कम्प्रमाइज’ गर्न नचाहने पुस्तासँग काम गर्दा केही दुःख पाइयो ?
कतिपय बेला त मलाई पनि इरिटेसन भयो । यतिले त चल्छ हौ, भन्दा यिनीहरूले ‘हुँदैन’ भन्थे । फेरि नृत्य निर्देशनका लागि आएको अर्काे भाइ थियो, मिङ्मा डी लेप्चा । जो मुम्बईमै काम गर्छ । स्टार प्लस टीभीको ‘डान्स प्लस’को फाइनलिस्ट हो ऊ । उसलाई पनि उस्तै ‘पर्फेक्सन’ चाहिने । सुटिङ क्रममा राति २–३ बजिसक्थ्यो । ‘अब त काम चल्छ नानी हो, प्याकअप गरौँ’ भन्दा मानेनन् । बिहानसम्म गरिरहे । अहिले एडिटिङमा हेर्दा खुशी लागिरहेको छ । हामीले कति कुरामा भूल गर्दा रहेछौँ । यिनीहरू नै ठीक रहेछन् ।
बुबाले झर्काे मान्दा आ...होस् भन्ने लाग्दैन ?
पञ्चमीः सेटमा इरिटेटेड भए पनि पछि सबै खुशी हुन्छन् भन्ने हामीलाई थाहा थियो नि त ।
भावनाः हामीले त्यसरी काम गरिरहेका थियौँ कि भोलि यो हाम्रो मेहनतको नतिजा हो भनेर गर्व गर्न सकियोस् । सुटिङका क्रममा स–साना कुरामा दुःख पाइएको महसुस गरेका कलाकार र प्राविधकले फिल्म रिलिजपछि ठीक गरिएछ भनेर स्विकार्नेछन् । अर्काे कुरा, दर्शकले फिल्म एकपल्ट हेर्दैन, मन परेपछि घरीघरी हेर्छ । एउटा सानो गल्ती जतिपल्ट हेर्छ, त्यति दोहोरिन्छ । यसकारण एउटा गल्ती धेरै भइदिन्छ पछि । त्यसैले हामी कमजोरी सक्दो छाड्न चाहन्थ्यौँ ।
फिल्म क्षेत्रसँग जोडिएका प्रायः अभिभावकका छोराछोरी पर्दामा देखिन चाहन्छन् । तपाईंहरूले त पर्दापछाडिको भूमिका रोज्नुभयो । पर्दाको मोह छैन ?
पञ्चमीः मोह त छ । बाबाले राम्रो क्यारेक्टर लेखिदिनुभयो भने त्यो भूमिका निर्वाह पनि गर्छु । किनभने, सानैदेखि देखिरहेको कुरा गर्ने मन हुन्छ । तर, निर्देशन अझ धेरै मन पर्छ । किनकि, यो क्रियटिभ पार्ट हो ।
भावनाः क्यारेक्टर पायो भने गर्छाैं । तर, हिरोइन हुनु छैन ।
फाइन आर्ट पढ्नुभयो । त्यसपछि मुम्बई पुगेर फिल्ममा कला निर्देशन कसरी गर्ने भनेर सिक्नुभयो । कलामा विशेष रुचि छ हो ?
भावनाः मलाई सानैदेखि पेन्टिङ खूब मन पथ्र्याे । कक्षा १२ पुग्दासम्म मैले सोचेकी थिइनँ, यसैमा करिअर बनाउँछु भन्ने । कमर्स पढ्न खोजेकी थिएँ । तर, बाबाले आफ्नो रुचि भएको क्षेत्र रोज भन्नुभयो । फाइन आर्ट पढिसकेपछि म मुम्बई गएँ । मसँग फाइन आर्टको डिग्री भएकाले आर्ट डिरेक्सनमा सजिलो हुन्छ भनेर गरेँ । तर, त्यहाँ मैले सबथोक सिकेँ ।
मास मिडिया पढ्नु्को कारण फिल्ममै आउनु थियो ?
पञ्चमीः मैले प्लस टूसम्म काठमाडौँमै पढेँ । मेरो पढाइ तेज देखेर सबैले डाक्टर वा इन्जिनियर बन्नुपर्छ भन्नुहुन्थ्यो । मैले एकपल्ट एमबीबीएस पढ्ने सोचिसकेकी थिएँ । बाबाममीसँग कुरा गरेँ । बाबाले सोध्नुभयो– ‘पूरा जीवन डाक्टर बनेर खुशी खुशी बाँच्न सक्छौ कि सक्दैनौ ?’ मलाई लाग्यो, त्यो त म सक्दिनँ । त्यसपछि बाबाले ‘सक्छौ भने मास मिडिया पढ’ भन्नुभयो । जे मन थियो, त्यही गर्न पाएँ । मैले बाबाआमाका कारण सही निर्णय लिन पाएँ ।
‘दर्पणछायाँ–२’ बाट भावना र पञ्चमीले मात्रै होइन, हिरो पुष्पल खड्का, हिरोइन सहारा कार्कीलगायत धेरै जनाले नेपाली फिल्म क्षेत्रमा पहिलो पाइला सार्दैछन् । सबै सम्भावनायुक्त मानिएका पनि छन् । एकैपल्ट यति धेरैको करिअर दाउमा लगाए जस्तो लाग्दैन ?
त्यति जोखिमपूर्ण लाग्दैन । हामीले फिल्म क्षेत्रमा काम थाल्दा पायोनियरिङ काम ग¥यौँ । हामी १ बाट सुरु गरेर २० सम्म पुगेका छौँ अहिले । यिनीहरूले २० बाट सुरु गरेका छन्, ८० सम्म पुग्न सक्छन् । हामीले उनीहरूलाई फिल्म क्षेत्रका उकालीओराली सबै बताइसकेपछि आएका हुन् । राम्रो गरेका छन् । टर्निङ प्वाइन्ट हुन सक्छ । सत्य के हो भने यो क्षेत्रमा आइसकेपछि फेरि अर्काे क्षेत्रतिर फर्किने सम्भावना कम रहन्छ वा फर्किंदा ढिलो भइसक्छ । यो युवा ग्रुप छ नि, यिनीहरूलाई वाच गर्न मज्जा आइरहेको छ । यिनीहरूको काम खोज्ने स्टाइल रमाइलो लाग्यो । त्यसैमा हाम्रो अनुभव मिसिएको छ । त्यसैले यो राम्रो बनेको छ ।
भावना र पञ्चमीले मुम्बईमा सिकेको के–के दिँदै हुनुहुन्छ यसपालि ?
भावनाः हामीले मुम्बई जे सिकेका थियौँ, त्यो सबै दिँदैछौँ ।
पञ्चमीः मुम्बईमा धेरै कुरा सिकेर पनि एउटा कुरा सिकेनछौँ, त्यो हो– प्यासन । त्यहाँ प्यासन छैन, प्रोफेसनालिजम छ । त्यहाँ आ–आफ्नो काम मात्रै गर्छन्, सबैले । यहाँ त ‘फिल इन द ब्लयांक्स’ हुनुपर्ने रहेछ । मिलेर गर्दा रहेछन् काम । त्यो नयाँ सिकियो ।
नेपालभन्दा ठूलो बजार बलिउड नै हो । त्यहीँ केही गर्न सोच छैन ?
भावनाः प्राविधिक हौँ हामी । हामीले हिन्दी र नेपाली भनेर छुट्याएर सिकेका छैनौँ । त्यसैले त्यहाँ काम गर्ने सम्भावना छ । अहिले हाम्रो फेमिली प्रोजेक्ट चलिरहेको छ । यसका लागि यहाँ गरिरहेका छौँ । यो सकिएपछि फेरि त्यहाँ जान्छौँ । फेरि यता काम परे आउँछौँ ।
यो फिल्ममा काम गर्दा ‘जेनेरेसन ग्याप’को समस्या चाहिँ कत्तिको देखियो ?
पञ्चमीः त्यो त देखियो । तर, बुवाको सकारात्मक पाटो के हो भने उहाँ सधैँ सिक्न खोज्नुहुन्छ । हामी उहाँको सोचमाथि हाबी हुँदा इगोका रूपमा लिनुहुन्न । एकछिन सोच्नुहुन्छ । कतिपय बेला बढी जान्ने भएको लाग्दो हो, रिसाउनु पनि हुन्छ । तर कन्भिन्स्ड पनि हुनुहुन्छ चाँडो ।
बाउ र छोरीको पुस्तामा के–के फेरिएको देखियो ?
तुलसीः रोमान्टिक सिन गर्दाखेरि मैले जसरी यसअघि गर्थें, त्यसरी नै गर्न खोजेँ । तर, उनीहरूले त्यही कुरालाई फरक तरिकाले प्रस्तुत गरे । संवादमात्रै होइन, लुकले पनि रोमान्स देखाउन सकिन्छ भनेर देखाइदिए । हेरिबस्दा पनि संवादमा बोलिने शब्दभन्दा गहिरो अर्थ देखिन्छ भन्ने महसुस गराए । म संवादमा बढी जोड दिन्थेँ भने उनीहरू साइलेन्ट ट्रिटमेन्टमा बढी ध्यान दिन्थे । उनीहरूले दर्शक अहिले निकै जान्नेछन् र त्यसरी अघि बढ्नुपर्छ भने ।
पञ्चमीः बाबा कथामा ध्यान दिनुहुन्छ । तर, अहिले कथा होइन, कन्सेप्टले चल्छ फिल्म । अहिलेका दर्शक कन्सेप्ट चाहन्छन् ।
छोरीहरू बलियो बैसाखी भएर आएपछि ऊर्जा जागेको होला, निर्देशन करिअरमा अझै लामो दौडमा जान सक्छु भन्ने ?
तुलसीः एउटा अंग चलुञ्जेलसम्म यो क्षेत्रमा काम गर्छु भन्ने थियो । शरीर थाके पनि, दिमाग नथाकेसम्म काम गर्न सक्छु अब ।
पञ्चमीः मलाई लाग्छ, यत्रो उमेरमा यति कडा मेहनत गर्ने मान्छे भेटिँदैन ।
तुलसी घिमिरेको छोरी हुनुका फाइदा त अनेक छन् । बेफाइदा केही महसुस गरियो ?
भावनाः तुलसी घिमिरेको छोरी हुनु लक हो । तर, कहिलेकाहीँ खिस्रिक्क पार्छ । किनभने, मान्छेले हाम्रो क्षमतालाई नजरअन्दाज गरेर तुलसी घिमिरेको छोरी भएका कारणले चुरीफुरी गरेको सोच्छन् । हामीले छोरी भएका कारण होइन, आफैँसँग केही भएकाले यहाँ छौँ भन्ने प्रमाणित गर्न मुश्किल छ । एक दिन गर्नेछौँ ।
पञ्चमीः यो सुटिङमा पनि भोगियो अलिअलि । पाका टेक्निसियनहरूले सानै देख्नुभएको छ । अहिले पनि उहाँहरूले फुच्ची त हुन् भनेर ट्रिट गर्नुहुन्छ । उहाँहरू पनि सही हुनुहुन्छ । हामीले के जानेका वा गरेका छौँ, देख्नुभएको छैन । तर, हामीलाई चाहिँ केही सिकेर, केही जानेर आएको हो भन्ने लाग्थ्यो । त्यसैले सुरुमा त एउटै फिल्मका चारचार वटा निर्देशकसम्म भने कतिले ।
त्यही प्रश्न दोहो¥याऊँ । तपाईंहरूले के–के गर्नुभएको छ त ?
भावनाः म मुम्बई पुगेर फिल्म मेकिङ सिक्नुअघि सोधियो, के गर्नु छ तिमीलाई ? मैले भने निर्देशन गर्नु छ । के गरेर आएकी छौ ? भनेर सोध्दा फाइन आर्ट भनेपछि आर्ट डिरेक्सन सिक्न सुझाव दिइयो । प्रोडक्सन र आर्ट सिकेँ । मैले पुपा भन्ने कम्पनी ज्वाइन गरेँ । त्यहाँ ठूला बजेटका विज्ञापन बनाइन्थे । त्यस क्रममा रिलायन्स स्टुडियो, फिल्म सिटी लगायतमा पुगेर काम गरेँ । बालाजीजस्तो ब्यानरसँग पनि कला निर्देशकका रूपमा एउटा प्रोजेक्ट गरियो । रमाइलो भइरहेको थियो । सिक्दै थिएँ । बाबाले आफैँ फिल्म बनाउन लागेको भनेर फोन गर्नुभयो, यता आएँ ।
पञ्चमीः मैले तीन वर्ष मुम्बईमा रहेर मास मिडिया पढेँ । यसक्रममा पनि धेरै थोक सिकेँ र गरेँ । त्यहाँ विभिन्न फेस्टिभल हुन्थे । त्यहाँ म डकुमेन्ट्री बनाएर सहभागी हुन्थेँ । आर्ट फिल्म बनाइन्थ्यो । हाम्रो एउटा ग्रुप थियो यस्तो गर्ने । क्षितिज फिल्म फेस्टिभलमा हाम्रो डकुमेन्ट्री फस्र्ट आएको थियो । ‘बाजीराव मस्तानी’को ‘दिवानी मस्तानी’ गीतका सिनेमाटोग्राफर जज हुनुहुन्थ्यो त्यो बेला । उहाँले हाम्रो कामको प्रशंसा गर्नुभयो । एनजीओ लगायतका लागि डकुमेन्ट्री बनाएँ । मलाई कन्सेप्ट बनाउन मन पर्छ । यही कुरामा बाबालाई झर्काे लगाउँछु ।
छोरीहरूले तपाईंको अपेक्षाभन्दा कम सिकेछन् कि बढी ?
धेरै सिकेछन् । टेक्नोलोजी सिके तर कल्चर र इमोसन सिक्न बाँकी छ । सिक्नुपर्छ । सोच र इमोसन पहिले नै थियो । यो पुस्ताले ‘थट’ खोज्दै छ । त्यो भेट्यो भने फिल्मले नयाँ भेराइटी पाउँछ ।
संस्कृति र भावना सिक्न बाँकी छ रे त ?
पञ्चमीः नेपाली कल्चर निकै भास्ट छ । अहिले नेपाली फिल्मले त्यो विविधता समेट्न खोज्दैछ । पछिल्लो नेपाली फिल्म ‘पशुपतिप्रसाद’ हेरेँ । भव्य लाग्यो । पहिले नेपाली फिल्म राम्रा बन्थे तर बीचमा बिग्रियो । अहिले फेरि हामी नेपाली फिल्ममा छौँ भनेर गर्व गर्ने दिन आएछ ।
बुबासँग के–के कुरा मिल्छ ?
भावनाः सोच मिल्दैन । अरू कुरा त मिल्छ ।
पञ्चमीः खानेकुरामा चाहिँ दिदी र बाबा मिल्नुहुन्छ । घरको खाना र भेज मन पराउनुहुन्छ उहाँहरू । म अलि मिल्दिनँ यसमा ।
दुरुस्तै मिल्ने त टोपी मात्रै हो कि ?
भावनाः म त सानैदेखि बाबाको टोपी चोरेर लाउँथेँ । खूब मन पथ्र्याे जेलो क्याप ।
पञ्चमीः मलाई सानैदेखि लगाउने रहर थियो । भर्खरै लगाउन पाएँ ।
Leave A Comment