रोबोटले समस्या निम्त्याउँदै

सोमबार, ०३ माघ २०७३, ०१ : ११ शुक्रवार , Kathmandu
रोबोटले समस्या निम्त्याउँदै

रोबोटले मानिसको दैनिकीमा नराम्रो प्रभाव पार्न थाल्यो भन्दा तपाईंलाई आश्चर्य लाग्ला । तर, विकसित मुलुकमा यसले सर्वसाधारणको जागिर खोस्न थालिसक्यो । होटलहरूमा अतिथिलाई स्वागत गर्नेदेखि रिसेप्सनमा अरूका प्रश्नको उत्तर दिने काम पनि यसैले सम्हालिसकेको छ ।
वैज्ञानिक त जागिरभन्दा अगाडि बढेर रोबोटसँगको यौन सम्बन्ध कस्तो हुने होला भन्ने कुरामा पनि चासो दिन थालिसके । कुनै दिन कसैले रोबोटसँग बिहे ग¥यो भने आश्चर्य नमाने हुन्छ भनी वैज्ञानिकले चेताइसकेका छन् ।
केही साताअघि लन्डनको गोल्डस्मिथ विश्वविद्यालयमा आयोजित एउटा सम्मेलनमा रोबोट र यौन सम्बन्धबारे चर्कै बहस हुन पुग्यो । विषय थियो, ‘लभ एन्ड सेक्स विद रोबोट्स’ र यो विषयमा छलफल चलाउन नमिल्ने भनी मलेसियाली सरकारले रोक लगाएको थियो । मलेसियाली सरकारले प्रतिबन्ध लगाएपछि हतार–हतार कार्यक्रम लन्डन सारियो र त्यहीँ छलफल आयोजना गरियो ।
कार्यक्रममा केही विवादित प्रश्न पनि उठे । आयोजनामा कुनै यौनसम्बन्धी उद्योगले भाग लिएको थिएन, न सेक्स रोबोटलाई प्रदर्शनका लागि राखिएको थियो ।
रियल डल्स क्यालिफोर्नियाको सेक्स खेलौना बनाउन प्रमुख कम्पनी हो । उसले कृत्रिम सेक्स डल बनाएर बजारमा बेच्ने तयारी गरिरहेको छ । यस्तो अवस्थामा डाक्टर डेभिड लेवीजस्ता व्यक्तिका तर्क सत्य साबित हुनेछ ।
लामो समयदेखि मानिसजस्तै देखिने बुद्धिमान रोबोट्सको युग सुरु हुने हल्ला चलिरहेको छ । डेभिड लेवीले छलफल कार्यक्रममा रोबोट र मानिसबीच यौनसम्बन्धपछि स्वीकार हुन सक्ने भनी टिप्पणी गरेका थिए ।
उनले भने, ‘आउँदो दस वर्षभित्र यस्तो सफ्टवेयर तयार हुनेछ, जसको सहयोगले रोबोटमा एउटा अन्तरंग साथीका सबै किसिमका गुण हुनेछन् । त्यही गुणले मानिसले उसलाई प्रेम गर्नेछ भने रोबोटले पनि मानिसप्रति विश्वास, सम्मान र सहनशीलताजस्ता कुरा अपनाउनेछ ।’
घरमा सधैँ झैझगडा रुचाउने व्यक्तिले त्यस्तै किसिमको रोबोट घर ल्याएर दैनिक रूपमा घरमा झगडा मच्चाउन पनि सकिने उनले बताए । हुन त रोबोटलाई सेक्स पार्टनर बनाउने विषयमा ‘नैतिकता’जस्ता कुरा पनि बाधा बन्न सक्ने सम्भावना छ ।
डाक्टर डेभिड लेवीले चाहिँ कानुनले त्यस्ता रोबोटलाई मानिसकै दर्जा दिनुपर्ने धारणा राखे । त्यसो त यस्तो घटना हुने सम्भावनामा अझै कैयौँ वर्ष लाग्ने केहीको धारणा छ । तर, यतिबेला नै यसबारे खोजखबर नहुने हो र यसका लागि हामी मानसिक रूपमा तयार नहुने हो भने पछि यी कुराले मानिसको दिमाग खराब गर्ने पक्का छ ।
यसै गरी रोबोटको अधिकारका कुरा पनि आएका छन् । तर, डाक्टर डेभिड भने रोबोट मानिसका लागि भएकाले रोबोटको अधिकारका लागि सोचिहाल्नुपर्ने अवस्था नआएको बताउँछन् ।
गोल्डस्मिथ विश्वविद्यालयका वरिष्ठ लेक्चरर केट डेभलिनको भनाइमा ‘लभ एन्ड सेक्स विद रोबोट्स’माथि भएको छलफलले सेक्स रोबोटको उद्यम भोलिका दिनमा कसरी अघि बढ्छ र यससँग जोडिएका नैतिक मुद्दा कस्ता किसिमका हुनेछन् भन्ने विषय सतहमा ल्याएको बताइन् । उनको भनाइ छ, ‘हाम्रा वरिपरि चेतनशील मेसिन भए भने हामीले उनीहरूको चेतनशीलता कस्तो छ भन्ने कसरी थाहा पाउँछाँै ? उनीहरूप्रति हाम्रो जिम्मेवारी के र कस्तो हुनेछ भन्नेबारेमा हामीले अहिलेदेखि नै सोच्नुपर्ने बेला आएको छ ।’
अब हुँदाहुँदा हामीले उनीहरूको अधिकारबारे पनि सचेत हुनुपर्ने हुन्छ । सानातिना कुरामा उनीहरूको सहमति लिएर नै काम गराउनुपर्ने वा लिनुपर्ने हुन्छ । भनेपछि, मानव अधिकार त्यो बेला गौण हुनेछ भने मेसिनका अधिकारबारे पनि हामीले सचेत हुनुपर्ने बेला आउँदै छ !
–बीबीसीबाट

 

Leave A Comment