पाउँले प्रख्यात साँगा

सोमबार, ०३ माघ २०७३, ०१ : १५ सृजना खड्का , Kathmandu
पाउँले प्रख्यात साँगा

काभ्रेपलाञ्चोकको साँगा बसस्टपबाट उकालो लागेपछि लहरै बेच्न राखिएको पाउँ र अचारले सबैलाई लोभ्याउँछ । प्लास्टिकको बाटामा राखिएका कागती, आँप, इमली, छोकडा, लप्सी आदिका पाउँ र सिसीमा राखिएका मेथी, करेला, गाजर र मुलाको अचार पसलैपिच्छे लहरै बिक्रीका लागि राखिएका हुन्छन् । उपत्यकावासी हुन् वा बाहिरी जिल्लाबाट घुम्न आउने यात्रु, सबैको रोजाइमा साँगाको पाउँ पर्छ । साँगामा उत्पादित पाउँ देशका विभिन्न ठाउँमा पुग्ने गर्छ । साथै, विदेश जानेहरूले समेत यहाँबाट पाउँ र अचार किनेर लैजान्छन् गर्छन् । जोरपाटीकी जमुना थापा केही दिनमा जापान जाँदै छिन् । ‘भक्तपुरको साँगामा मीठो पाउँ पाइन्छ भनेर यहाँ आएकी हुँ,’ उनले भनिन् ।
पाउँ उद्योगले व्यवसायीको जीवनस्तर उकास्नुको साथै स्थानीय महिलाहरूलाई रोजगारीसमेत दिएको छ । बिहान १० बजेदेखि ५ बजेसम्म प्याकिङ, कटिङ र पाउँसम्बन्धी अन्य काम गर्दा उनीहरूले १० देखि १२ हजारसम्म कमाउने गरेका छन् । एक वर्षयता पाउँ बनाउने काम गरिरहेकी राधिका खत्रीले यही कामले आफ्नो घरखर्च चलाइरहेको बताइन् । ‘घरमा दिनभरि बस्नुको सट्टा काम पनि भयो, आम्दानी पनि भयो,’ उनले भनिन् । राधिकाजस्तै आत्मनिर्भर बन्न खोज्ने धेरै महिलाहरू पाउँ बनाउँदै गरेको ठाउँमा भेटिन्छन् ।
    
साँगाकी सानुमाया श्रेष्ठ आफ्नो परिवारको पुख्र्यौली पेशा नै पाउँ बनाउने भएको बताउँछिन् । ३५ वर्षदेखि उनको परिवारले यसै पेशालाई निरन्तरता दिँदै आएको छ । हप्ताको दुई दिन शनिवार र सोमवार अन्य दिनको तुलनामा बढी व्यापार हुने सानुमायाको भनाइ छ । ‘दिनको पाँच सयदेखि पाँच हजारसम्मको व्यापार हुन्छ । हाम्रो खाने भाँडो भनेको यही पाउँ हो,’ उनले भनिन् ।
नेपालमा पाउँको माग बढी भएको बताउने लक्ष्मी पाउँ उद्योगकी निर्मला श्रेष्ठ पनि आफ्नो पेशाबाट सन्तुष्ट छिन् । कक्षा १२ सम्म पढेकी उनी अरूको जागिर खानुभन्दा आफ्नै व्यापार–व्यवसाय गर्दा फाइदा हुने बताउँछिन् । ‘परिवारका सबैले पाउँ बनाउनेदेखि बेच्नसम्मको काम गर्ने गरेका छौँ । पाउँ बनाउने काम एक्लैले आँटेर हुँदैन,’ उनले भनिन् । उनीहरूको उद्योगमा अहिले २५ जना कामदार छन् । जसमा कलेजका विद्यार्थीदेखि गृहिणीसम्म छन् । सबैले आफूले सकेको काम गर्छन् । र, उनको पसलमा अहिले १४÷१५ थरीका झोल पाउँ र २०÷२२ थरीका सुक्खा पाउँ बिक्रीमा राखिएका छन् । त्यस्तै सय रुपैयाँदेखि दुई सयसम्म पर्ने अचारसमेत छन्, उनीहरूको पसलमा । लप्सी, इमली र आँपका पाउँ बढी बिक्री हुने निर्मला बताउँछिन् । ‘एक पटक बनाएको पाउँ नौ महिनासम्म खान योग्य हुन्छ,’ उनले भनिन् ।
सृजन पाउँ उद्योगकी अर्की व्यापारी इन्जु श्रेष्ठ पाउँ बनाउने काम देख्दा सजिलो भए पनि निकै झन्झटिलो भएको बताउँछिन् । लप्सी, चिनी र खुर्सानीलगायत पाउँ बनाउन आवश्यक अन्य सामग्रीहरूको मूल्य बढेसँगै पाउँ व्यापारीहरूलाई धेरै नाफा नहुने उनको भनाइ छ ।
पाउँको व्यापारले साँगाका स्थानीयलाई करोडपति बनाइसकेको स्थानीय सिद्धिलाल श्रेष्ठको दाबी छ ।  ‘यहाँका मानिसको मुख्य आयस्रोत नै पाउँ हो । घरमै बसी–बसी पैसा आउने भएकाले रोजगारीका लागि कतै भौतारिन पर्दैन । बरु, कलेज पढ्ने केटाकेटी बिहान कलेज गएर दिउँसो हाम्रोमा पाउँ बनाउन आउँछन् । उनीहरूले पनि रोजगारी पाएका छन्,’ श्रेष्ठले भने ।

 

Leave A Comment