माइक्रोसफ्टले किन्यो लिंक्डइन

शनिबार, ११ असार २०७३, १२ : ५६ शुक्रवार , Kathmandu
माइक्रोसफ्टले किन्यो लिंक्डइन

कम्प्युटर अपरेटिङ सिस्टम निर्माता माइक्रोसफ्टले सामाजिक सञ्जाल लिंक्डइन किन्ने भएको छ । विशेष गरी कर्पोरेट जगतका कर्मचारीबीच लोकप्रिय सामाजिक सञ्जाल लिंक्डइनको सम्पूर्ण सेयर माइक्रोसफ्टले खरिद गर्ने भएको हो ।
यस सम्बन्ध्मा गत सोमवार दुवै कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । माइक्रोसफ्टले लिंक्डइनको प्रतिसेयर १ सय ९६ डलरका दरले किन्न लागेको हो । जसअनुसार लिंक्डइनको मूल्य २६ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ ।
माइक्रोसफ्टले अक्वायर गरेपछि पनि लिंक्डइनको स्वन्तत्र अस्तित्व भने समाप्त हुने छैन । यसका प्रमुख कार्यकारी अधिकृत जेफ वीनर कम्पनीको सीईओकै रूपमा रहनेछन् भने उनले अब माइक्रोसफ्टका सीईओ सत्य नादेलालाई रिपोर्टिङ गर्नेछन् । यसअघि फेसबुकले ह्वाट्सएप र इन्स्टाग्रामलाई पनि यही मोडलमा खरिद गरेको थियो ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नादेलाले आफ्ना कर्मचारीलाई इमेल लेख्दै विश्वकै ठूलो प्रोफेसनल नेटवर्क लिंक्डइन र ठूलो सफ्टवेयर उत्पादक माइक्रोसफ्टबीच भएको यो सहकार्यले अर्को अध्याय सिर्जना गर्ने बताएका छन् ।

 

Leave A Comment