नोकियाको कमब्याक

बुधबार, ०५ माघ २०७३, १२ : ५९ शुक्रवार , Kathmandu
नोकियाको कमब्याक

कुनै समय नोकिया ब्रान्डको मोबाइल विश्वभर यति लोकप्रिय थियो कि प्रयोगकर्ता नोकियाको मोबाइल छाडेर अन्य बोक्ने मन गर्दैनथे । विशेष गरी ब्याट्री लाइफका कारण पनि यो फोन लोकप्रिय भएको थियो ।
फिनल्यान्डको एचएमडी कम्पनीको उत्पादन नोकिया मोबाइलले स्मार्टफोनको प्रयोग सुरु भएपछि आफूलाई परिष्कृत गर्न नसक्दा अन्य कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सकेन र टाट पल्टियो । पछि माइक्रोसफ्टले यसलाई खरिद गरेको थियो ।
तर, नोकियाको उत्पादन र बजारीकरणको विशेष अधिकार रहेको एचएमडी ग्लोबलले चीनबाट नोकियाको नयाँ उत्पादन ‘नोकिया सिक्स’ मोडल सार्वजनिक गरेको छ ।
एचएमडी ग्लोबलको पहिलो स्मार्टफोन चीनको स्थानीय नेटवर्किङ कम्पनी ‘जेडी डट कम’को माध्यमबाट नोकिया सिक्स मोडलको स्मार्टफोन उपलब्ध हुनेछ । यसको मूल्य १६०० चिनियाँ युआन (करिब २५ हजार रुपैयाँ) निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार उनीहरूले अर्को मोडल एच वानको पनि यसै वर्षभित्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यद्यपि, अहिलेसम्म यो मोबाइल चीन बाहिरका मुलुकमा उपलब्ध हुने नहुनेबारे केही खुलाइएको छैन ।
नोकिया सिक्स एन्ड्रोइडको ७.० भर्सनमा उपलब्ध छ भने यसमा दुई वटा सिम प्रयोग गर्न सकिन्छ । मोबाइलको ५.५ इन्च पूर्ण एचडी स्क्रिन छ भने २.५ डिग्री कर्भ ग्लास र कर्निङ गुरिल्ला ग्लास ३ प्रोटेक्सन सुविधा छ ।
यो मोबाइल फोन ४ जीबी ¥याम र अक्टा कोर क्वाल्कोम स्न्यापड्रागन ४३० प्रोसेसरद्वारा सञ्चालित छ । ६४ जीबी इन्टरनल मेमोरी रहेको यो मोबाइलमा १२८ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिनेछ । नोकिया सिक्समा १६ मेगाफिक्सेल ब्याक र ८ मेगापिक्सेल फ्रन्ट क्यामरा छ । दुवैतर्फ फ्ल्यास लाइटको सुविधा छ ।
एचएमडी ग्लोबलले सन् २०१७ भित्र पाँच मोडलको नोकिया स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको छ । नोकियाको दोस्रो मोडल एमडब्ल्युसी २०१७ आउने सम्भावना छ । यो मोडलको फोन बार्सिलोनामा आगामी फेब्रुअरीमा हुने मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिने तयारी भइरहेको बीबीसीले जनाएको छ । तर, त्यसका फिचरबारे भने केही खुलाइएको छैन ।

 

Leave A Comment