फिल्म पाइरेसी : निकटबाटै हुन्छ घात

शुक्रबार, ०७ माघ २०७३, १२ : ५४ शुक्रवार
फिल्म पाइरेसी : निकटबाटै हुन्छ घात

भदौमा रिलिज भएको फिल्म ‘६क्का पञ्जा’ गत हप्ता युट्युबबाट अफिसियली रिलिज भयो । यसको कुनै तयारी थिएन । अकस्मात् रिलिज गरिएको हो । कारण– अनधिकृत रूपमा फिल्म बाहिरिनु । 

गत वर्ष यसै गरी फिल्म ‘प्रेमगीत’ बाध्यतावश युटुयुबमा चाँडै सार्वजनिक गर्नुपर्यो। कारण– रिलिजको ५१ दिन मनाएको भोलिपल्टै फिल्म पाइरेसी हुनु । 

०७२ सालको अन्त्यतिर रिलिज भएका अन्य दुई फिल्म ‘पशुपतिप्रसाद’ र ‘ड्रिम्स’ पनि त्यसै गरी बाध्यताको चपेटामा परे । कारण उही– फिल्मको पाइरेसी । 

आफ्नैले गर्छन् घात 
दुई हप्ताअघि फिल्म ‘६क्का पञ्जा’ युनिटलाई खबर आयो– ‘अमेरिकामा त तपाईंको फिल्म हातहातमै हेर्न थाले ।’ त्यसपछि दीपकराज गिरी, दीपाश्री निरौलालगायत फिल्मको टोली न्याय माग्दै महानगरीय प्रहरी अपराध महाशाखा पुग्यो । छानबिन सुरु भयो । खोतल्दै जाँदा थाहा भयो, स्वदेशमै शोका लागि भनेर कलाकार आरपी भट्टराईलाई फिल्मको सीडी दिइएको रहेछ । त्यतिबेला आरपीको दुई हप्ताअघि निधन भइसकेको थियो । ‘आरपीकै छोराले साथीलाई फिल्म हेर्न दिएको रहेछ । फेरि, त्यो साथीले अर्कोलाई दिएछ,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘त्यसरी एकले अर्कालाई गर्दै फिल्म पाइरेसी भएछ । फिल्म हेरेका चार जना युवालाई हामीले समातेका थियौँ । नियतवश कसैले पनि फिल्म पाइरेसी नगरेको र लिक गर्ने मुख्य मान्छेकै निधन भइसकेकाले कारबाही प्रक्रिया अघि बढाइएन । दीपकराज गिरी पनि पढिरहेका केटाहरूको भविष्य बिगार्ने मनस्थितिमा रहनुभएन । त्यसैले सामान्य सोधपूछ गरियो र आइन्दा त्यस्तो नगर्न सुझाउँदै उनीहरूलाई छोडियो ।’ ती चारमध्ये एक थिए– कृष्ण सुवेदी जसले काठमाडौँस्थित साथीसँग बस्दै आएको कोठामै आत्महत्या गरे । प्रहरीले छाडेपछि घर (नवलपरासी) गएका उनले राजधानी फर्केको भोलिपल्टै आत्महत्या गरेका हुन् । ‘कृष्णले गुगल ड्राइभमा फिल्म राखेर सेयर गरेको देखिन्थ्यो । तर, स्विकारेका थिएनन्,’ एसएसपी खनालले भने, ‘यद्यपि, सबै युवाहरूलाई छाडिसकिएको थियो । मिलापत्र भएको एक सातापछि कृष्णले आत्महत्या गरेको पाइयो ।’  

पछिल्लो समय नेपाली फिल्म पाइरेसीका खबर लगातार सुनिन थालेका छन् । तर, पाइरेसीमा पैसा कमाउने उद्देश्यसहित गिरोह नै लागेको जस्तो देखिँदैन । यसमा सहमत छन्, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई । ‘कुनै गिरोहले भन्दा पनि दर्शकबाटै अन्जानमा गरिएको गल्ती जस्तो देखिन्छ,’ उनी भन्छन्, ‘साथीले–साथीलाई देखाउने चाहनाअनुरूप फिल्म आउट भइरहेको छ । ‘ड्रिम्स’ र ‘६क्का पञ्जा’ दुवै यसरी नै भएको देखिन्छ ।’ एसएसपी खनालको भनाइ पनि त्यस्तै छ, ‘पाइरेसीमा गिरोह नै लागेको देखिँदैन । आफ्नै टिमबाट फिल्म लिक भइरहेको छ । ’ 

आफूले पहिलोपल्ट निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ पाइरेसी भइहाल्ला कि भन्ने डरले अभिनेता भुवन केसीले बेलैमा युट्युब र ओभरसिज राइट्स लिएको कम्पनी हाइलाइट्स नेपाललाई फिल्म बुझाएका रहेछन् । तर, भइदियो त्यहीबाट फिल्म लिक । त्यहीँ कार्यरत कर्मचारी विधान गुरुङले अर्कोलाई फिल्म हेर्न दिएछन् । एकले अर्कालाई गर्दे ‘रोटेसन’ भइरहेको फिल्म प्रवेश गौलीले भने युट्युबमै हालिदिएछन् । र, फिल्म दर्शकको हातहातमा पुग्यो । 

समीक्षक र दर्शक दुवैबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘पशुपतिप्रसाद’ पनि रिलिजको दुई महिना नपुग्दै पाइरेसीको शिकार भएको थियो । ‘छानबिन गर्दैै जाँदा आफ्नै टिमभित्रबाट लिक भएको देखियो,’ फिल्मका निर्देशक दीपेन्द्र के. खनालले भने, ‘फाइल ह्यान्डलिङमा हामी नै चुक्यौँ जस्तो लागेर कसैलाई केही गरेनौँ । मैले बुझेसम्म अहिलेसम्म जति फिल्म पाइरेसी भएका छन्, ती सबै निर्माताको कमजोरीले भइरहेका छन्, आफ्नै टिमबाट भइरहेका छन् ।’ यता व्यावसायिक रूपमा हिट मानिएको फिल्म ‘प्रेमगीत’का निर्माता सन्तोष सेनले पनि आफ्नै टिमको कमीकमजोरीबाट फिल्म पाइरेसी भएको बताए । 

के हो फिल्म पाइरेसी ? 
नेपालमा कतिपय दर्शकलाई पाइरेसी भनेकै थाहा छैन । चलचित्र विकास बोर्डका अध्यक्ष राई भन्छन्, ‘अवैध रूपमा फिल्म लिक गर्नु र त्यसलाई हेर्नु दुवै अपराध हो भन्ने सचेतनाको कमीले पनि पाइरेसी भइरहेको छ ।’ प्रिन्ट, भिडियो, डीभीडी, इलेक्ट्रोनिक फाइललगायत जुनसुकै माध्यममार्फत अवैध रूपमा फिल्मको कपी, बिक्री र वितरण गर्नुलाई विश्वभर फिल्म पाइरेसी मानिन्छ । प्रविधिको चरम विकाससँगै पछिल्लो समय अनलाइनमार्फत यसरी अवैध रूपमा फिल्म सार्वजनिक गर्ने गरिन्छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्, ‘कुनै पनि किसिमको पाइरेसी आफैँमा चोरी हो । र, चोरी गरिएको फिल्म हेर्नु यसको समर्थन गर्नु हो ।’ 

कानुनमा के छ ? 
प्रतिलिपि अधिकार ऐन, २०५९ ले रचनाका धनीहरूलाई आर्थिक तथा नैतिक अधिकार प्राप्त हुने व्यवस्था गरेको छ । ‘कुनै पनि साहित्यिक, सांगीतिक तथा कलात्मक रचना, चलचित्र, कम्प्युटर सफ्टवेयर आदिको उत्पादन, पुनःउत्पादन, प्रकाशन, प्रसारण, बिक्रीवितरण तथा डाउनलोड गर्न रचयिता वा प्रतिलिपि अधिकार धनीको स्वीकृति लिनुपर्ने हुन्छ,’ पाइरेसीसम्बन्धी मुद्दामा काम गरेका अधिवक्ता गुणराज आचार्य भन्छन्, ‘स्वीकृतिबिना गरिएको उल्लेखित काम गैरकानुनी ठहर्नेे र १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना एवं छ महिनादेखि एक वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । यस्तो कार्यमा प्रयोग भएको मालवस्तु जफत हुने र प्रतिलिपि अधिकार धनीलाई जति भएको त्यति क्षतिपूर्ति भराउन सक्ने व्यवस्थासमेत छ ।’ अधिवक्ता आचार्य पाइरेसी भएको खण्डमा अदालत जान सकिन्छ भन्ने कुरा एकदमै कमलाई मात्र थाहा भएको अनुमान लाउँछन् । ‘नत्र मुद्दाको चाङ हुनुपथ्र्यो । तर, अभ्यासमा एकदमै कम पाइन्छ,’ उनले भने । यता चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी फिल्म पाइरेसी भएको खण्डमा दुइटा मुद्दा चलाउन सकिने बताउँछन् । ‘मेरो फिल्म ‘कोहिनुर’ पाइरेसीताका प्रहरीकोमा पुग्दा कुन विषयमा मुद्दा चलाउने भन्ने नखुलेपछि हामी सर्वोच्च अदालत पुगेका थियौं,’ उनले भने, ‘त्यसपछि सर्वोच्चले पाइरेसी र साइबर क्राइम गरी दुइटा मुद्दा चलाउन सकिने बतायो । अझै ‘कोहिनुर’ पाइरेसीका दोषी पत्ता लागेका छैनन् । ’ 

कसले कति क्षतिपूर्ति पायो ? 

पाइरेसी भएका फिल्मका खबर त बाहिर आइ नै रहेका छन् । तर, पाइरेसीका मुख्य दोषी पक्राउ परे/परेनन् ? निर्माताले कति क्षतिपूर्ति पाए ? यसको कुनै खबर सुनिँदैन । स्रोत भन्छ, ‘पाइरेसी भएपछि अहिलेसम्म सबैभन्दा धेरै क्षतिपूर्ति पाएको फिल्म भनेको ‘ड्रिम्स’ हो । केस प्रहरीकोमा पुुगिसकेपछि कानुनतः भन्दा पनि आपसी समझदारीमा भुवन केसीले २५ लाख रुपैयाँ क्षतिपूर्ति पाएका थिए ।’ यद्यपि, हाइलाइट्स नेपालका सञ्चालक ओम गुरुङले आपसी समझदारीलाई गुपचुप नै राख्न चाहे । भन्छन्, ‘यसबारे केही बोल्न चाहन्नँ ।’ 

‘ड्रिम्स’ पाइरेसीको उजुरी महानगरीय प्रहरी परिसर, काठमाडौँमा पुगेपछि प्रतिलिपि अधिकार उल्लघंनसम्बन्धी मुद्दा पनि चलेको थियो । आरोपीका पक्षबाट अधिवत्ता गुणराज आचार्यले मुद्दा लडेका थिएँ । मुद्दाको फैसला मंसिरतिर भएको अधिवक्ता आचार्यले बताए । आरोपीलाई ललितपुर जिल्ला अदालतले ५० हजार रुपियाँ जरिवाना तिराएको आचार्यले जानकारी दिए । 

अहिलेसम्म ‘बाटोमुनिको फूल’, ‘कोहिनुर’, ‘६ एकान ६’, ‘झोला’, ‘पशुपतिप्रसाद’ लगायत थुप्रै फिल्म पाइरेसीको खबर सुनिएता पनि कसैले क्षतिपूर्ति पाएको भने सुनिएन । कतिपयले त कारबाही प्रक्रिया नै अघि बढाउन चाहेनन् । मोबाइल पसलबाट फिल्म ‘प्रेमगीत’ बेच्दै गरेको अवस्थामा काठमाडौँस्थित कोटेश्वर प्रहरीले सात जनालाई पक्राउ गरेको थियो । ‘आइबक्स सर्भर नामक कम्पनीबाट फिल्म लिक भएको पनि थाहा भयो,’ प्रेमगीत निर्माता सन्तोष सेनले भने, ‘मलाई थाहा नदिइकन निर्देशक सुदर्शन थापाले त्यहाँ फिल्म दिनुभएको रहेछ । न्यायका लागि धेरै ठाउँ गुहारियो, धेरै धाइयो । एक लाख रुपैयाँ जरिवाना दिलाउन पनि अनेक प्रमाण जुटाउनुपर्ने रहेछ भन्ने थाहा पाएपछि केसलाई त्यत्तिकै छाडिदियौँ ।’

निर्मातालाई घाटैघाटा 
बर्सेनि नेपालमा ५० भन्दा बढी फिल्म रिलिज हुन्छन् । मुश्किलले पाँच–सात वटा फिल्मले राम्रो व्यापार गरेको खबर सुन्नमा आउँछ । फ्लप फिल्म पनि पाइरेसीका शिकार त हुन्छन् । तर, तिनको खबर बाहिर आउँदैन । एउटा उदाहरण हो– ‘छेस्को’ । व्यावसायिक रूपमा असफल यो फिल्मको पनि पाइरेसी भएको हो । तर, कसैले त्यति चासो दिइएको पाइएन । विदेशमा प्रदर्शन हुन बाँकी रहँदारहँदै पाइरेसी भएका फिल्मको चाहिँ चर्चा हुने गरेको छ ।  पछिल्लो समय नेपाली फिल्म निर्माताको राम्रो आम्दानीको स्रोत बनिरहेको छ –विदेश । तर, विदेशमा प्रदर्शन हुन नपाउँदै फिल्म पाइरेसी भएपछि निर्मातालाई लाखौँ घाटा भइरहेको छ । जतिबेला फिल्म ‘पशुपतिप्रसाद’ पाइरेसी भयो त्यतिबेला थुप्रै देशमा फिल्म प्रदर्शनको तयारी थियो । तर, फिल्म पाइरेसी भएपछि निर्मातालाई करिब ४५ लाख रुपैयाँ घाटा भयो । ‘विदेशमा आधा शोजति बाँकी थियो । अमेरिकाको त टिकट नै छापिइसकेको थियो,’ निर्देशक दीपेन्द्र के. खनालले भने, ‘अमेरिका, युके, युरोपलगायत देशमा शो बाँकी थियो । फिल्म पाइरेसी भएपछि हामीले लिइसकेको करिब ४५ लाख रुपैयाँ फिर्ता गर्नुप¥यो । अर्काको पैसा फिल्म पाइरेसी भएपछि पैसा राख्ने कुरा पनि भएन ।’ यता निर्माता सन्तोष सेनका अनुसार ‘प्रेमगीत’ पाइरेसी हुँदा १३ वटा जति देशमा फिल्म शोका लागि सम्झौतासमेत भइसकेको थियो । ‘कतै पूरा, कतै एड्भान्स गरेर ३५ लाख रुपैयाँजति लिइसकेको थिएँ,’ उनले भने, ‘पाइरेसी भएपछि प्रदर्शन हुन बाँकी रहेका देशमा शो हुन सकेन । लगभग १८ लाख रुपैयाँ फिर्ता गर्नुप¥यो ।’ अहिले ‘६क्का पञ्जा’ पाइरेसी हुँदा घाटा निर्मातालाई होइन, यसको ओभरसिज राइट्स लिएका हाइलाइट्स नेपालका ओम गुरुङलाई भएको छ । ‘थुप्रै देशमा फिल्म सोका लागि सम्झौता भइसकेको थियो,’ गुरुङले भने, ‘२२ लाख रुपैयाँजति त रकम नै लिइसकेको थियो । अब ती सबै देशका आयोजकलाई अर्को फिल्म दिएर घाटा मिलाउँछु भनेको छु ।’

‘अब सचेत भइयो’  
‘पशुपतिप्रसाद’ पाइरेसी भएपछि यसका निर्देशक दीपेन्द्र के. खनाल निकै सचेत भएका छन् । उनको अर्को फिल्म ‘चपली हाइट–२’ बजारमा रिलिज भइसक्यो । तर, पाइरेसी भएको छैन । ‘अब सचेत भइयो,’ उनी भन्छन्, ‘फिल्मको सम्पादकलाई सम्पूर्ण जिम्मेवारी दिन थालेका छौँ ।  सेन्सर बोर्ड लानेदेखि सबै काम एउटै व्यक्तिको नियन्त्रण भएपछि पाइरेसी भएमा जिम्मेवार पनि ऊ नै हुन्छ ।’ उनका अनुसार पैसाको लोभमा सर्भरबाट नचल्ने स–सानो हलमा निर्माताहरूले ओपन फाइलमार्फत फिल्म चलाउनाले पनि पाइरेसी हुने सम्भावना बढेको छ । ‘हामीले सर्भरबाट नचल्ने हलमा चपली हाइट २ नै लगाएनौँ,’ उनी भन्छन्, ‘त्यसैले कही पनि पाइरेसी भएको छैन । म आफैँ निर्माता भएका फिल्मको पनि मसँग कपी छैन । घरमा पनि युट्युबमा रिलिज भएपछि मात्र देखाउँछु । सबैले यस्तो गर्ने हो भने पाइरेसी हुने सम्भावना कम हुन्छ ।’ हाल ‘प्रेमगीत–२’ बनाइरहेका निर्माता सन्तोष सेन पनि पाइरेसीले पाठ सिकाएको बताउँछन् । ‘अब सर्भरबाट चल्ने हलमा मात्र फिल्म लगाउँछु,’ उनी भन्छन्,  ‘हामीभित्रको फिल्म बाहिर जानुमा त सबैभन्दा पहिला हामीभित्रकै मान्छेबाट सार्वजनिक हुनुपर्छ । त्यसैले अब चाहिँ विश्वासिलो टिम बनाएर मात्र रिलिज गर्ने तयारीमा छु ।’

झुटले गाह्रो पार्छ 

हरेक साता फिल्म रिलिज हुन्छन् । फिल्म रिलिज भइसकेपछि हलमा चलुन/नचलुन, बजारमा विभिन्न अफवाह फैलिन्छन् । ‘मेरो फिल्मले यति कमायो, उति कमायो’ भन्दै निर्माताहरू अनेक प्रतिक्रिया दिने गर्छन् । कहिलेकाहीँ झुटले गाह्रो पनि पार्न सक्छ । स्रोतका अनुसार अभिनेता भुवन केसीलाई पाइरेसीको मुद्दा चलेका बेला ‘एक हप्तामा चार करोड उठ्यो’ भनेर दिएको अन्तरवार्ताले नै गाह्रो पा¥यो । ‘पाइरेसी गरेको ठहरिएमा आरोपीले क्षतिपूर्ति रकम तिर्नुपथ्र्यो,’ पाइरेसीको आरोप लागेका मानिसको पक्षबाट मुद्दा लडेका अधिवक्ता गुणराज आचार्यले भने, ‘भुवनजीले चलचित्र विकास बोर्डमा आफ्नो फिल्मको अनुमानित लागत ५० लाख रुपैयाँ लेख्नुभएको रहेछ । अदालतमा ९० लाख भन्नुभयो । हाइलाइट्स नेपालले युट्युब राइट्सबापत १३ लाख रुपैयाँ दिएको रहेछ । कुल गरेर १ करोड ३ लाख ५० हजार क्षतिपूर्ति माग्नुभएको थियो । तर, उहाँकै अन्तरवार्ताका अनुसार उहाँको फिल्मले एक हप्तामा चार करोड कमाएको देखियो, त्यसपछि कमाएको त हिसाबै भएन । फिल्म त नाफामा गइसकेको थियो । मैले त्यसकै प्रमाण पेश गरे । त्यसैले अदालतबाट क्षतिपूर्ति पाउने कुरा भएन । ५० हजार जरिवाना तिराएर केसको सुनुवाइ भयो ।’ 
 

Leave A Comment