माघ १३ देखि क्यान इन्फोटेक मेला

शनिबार, ०८ माघ २०७३, ११ : २८ शुक्रवार , Kathmandu
माघ १३ देखि क्यान इन्फोटेक मेला

क्यान महासंघले क्यान इन्फोटेकको २३औँ संस्करण आयोजना गर्ने भएको छ । क्यानका अध्यक्ष विनोद ढकालका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा क्यान मेला लाग्नेछ । ‘सुविसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विद सामसुङ’ नाममा हुने मेलामा मुख्य प्रदर्शनी हलभित्र ३७ वटा ठूला र हलबाहिर पाँच वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहने छन् । त्यस्तै, ट्रसमा १ सय ४४, ओपन स्पेस १४ र फुुड स्टल १० गरी २ सय २२ स्टल रहनेछन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायत रहने अध्यक्ष ढकालले जानकारी दिए । मुख्य प्रदर्शन हलभित्र शतप्रतिशत स्टल बुकिङ भइसकेको र ट्रसमा ९० प्रतिशत स्टल बुकिङ भइसकेको उनले बताए ।
यस पटक चार लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा आयोजकको रहेको छ । मेला अवलोकन गर्न सर्वसाधारणलाई प्रवेश शुल्क एक सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १६ का दिनलाई बिजनेस डेको रूपमा घोषणा गरिएको छ ।
यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिएको क्यान अध्यक्ष विनोद ढकालले बताए । जसअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित उच्च गतिको इन्टरनेट प्रमुख आकर्षण बन्ने जनाइएको छ । टेलिफोन तथा मोबाइल फोन कम्पनीहरूले पनि आकर्षक अफर लिएर आउँदैछन् ।
बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीमा पनि विशेष सहुलियतका साथ प्रदर्शनीमा उपलब्ध हुने बताइएको छ । नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याबलेट तथा अन्य उपकरण प्रदर्शनीमा उपलब्ध हुनेछन् । क्यान इन्फोटेकको टिकट अनलाइनमार्फत पनि खरिद गर्न सकिन्छ । अनलाइनबाट टिकट खरिद गर्दा २० प्रतिशत छुट प्रदान गरिने ढकालले बताए ।
आईसीटी कन्फरेन्स हुने
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ति अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि आयोजना गरिँदै आएको क्यान आईसीटी कन्फेरेन्स यो वर्ष माघ १६ र १७ गते सोल्टी क्राउन प्लाजामा हुनेछ । ‘इन्र्फमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी फर सस्टेनेबल डेभलपमेन्ट’ विषयमा दुई दिने १७ औँ अन्तर्राष्ट्रिय आईसीटी कन्फरेन्स हुनेछ । सम्मेलनमा स्मार्ट सिटी, भिलेज कम्युनिटी, स्मार्ट एग्रीकल्चर, स्मार्ट हेल्थ र स्मार्ट एजुकेसन विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट कार्यपत्र पेश गरिनेछन् । 

Leave A Comment