नेकपा माओवादी केन्द्र निकटका चलचित्रकर्मीहरूको संस्था अखिल नेपाल चलचित्रकर्मी संघले पुष २७ देखि माघ २ सम्म धरानमा प्रथम इन्टरनेसनल फिल्म फेस्टिभल अफ नेपाल (इफोन) आयोजना ग¥यो ।
नाम अन्तर्राष्ट्रिय भए पनि आयोजकको फितलो व्यवस्थापनले कार्यक्रम स्थानीय स्तरमा हुने सामान्य कार्यक्रमभन्दा खासै फरक भएन । फेस्टिभलका पाँचै दिन नियालेपछि देखिएका यी केही दृश्य त्यसकै प्रमाण हुन् ।
दर्शकको खडेरी
‘अन्तर्राष्ट्रिय’ भनिए पनि फेस्टिभलमा स्थानीय दर्शक समेत न्यून थिए । जम्मा तीन सय सिट भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा आयोजना गरिएको फेस्टिभल उद्घाटनका दिन हल आधा पनि भरिएन । ती दर्शक पनि फिल्म हेर्नभन्दा शिक्षामन्त्री धनीराम पौडेललाई भेट्न आएका थिए । उनीहरू पार्टी कार्यकर्ता थिए ।
प्रमुख अतिथिका रूपमा निम्त्याइएका मन्त्री पौडेलको पर्खाइमा उद्घाटन चार घण्टा ढिलो भयो । मन्त्री नआएपछि जुरी टिममा रहेका अभिनेता राजेश हमालले क्ल्याप हानेर कार्यक्रम उद्घाटन गरे । आयोजकले खराब मौसमका कारण प्लेन नउडेकाले मन्त्री आउन नसकेको जानकारी गराएपछि बिहानदेखि मन्त्रीको प्रतीक्षामा बसेकाहरू पनि हलबाट बाहिरिए । दर्शकको संख्या झनै घट्यो ।
फेस्टिभलको दोस्रो र तेस्रो दिन त दर्शकको खडेरी नै प¥यो । तेस्रो दिनको पहिलो सोमा १५ जना दर्शक थिए । ती पनि अधिकांश काठमाडौँबाट आएका फिल्मकर्मी, सञ्चारकर्मी र आयोजकहरू नै थिए । ‘अन्तर्राष्ट्रिय’ फेस्टिभलमा स्थानीय दर्शक नआएपछि चौथो दिन भने विराटनगरका कलेजबाट विद्यार्थीहरू ल्याइयो । त्यस दिन मात्र हो, तीन सय सिट भएको अडिटोरियम हल पूरै भरिएको ।
केपीलाई ‘वेदरको च्यालेन्ज’
उद्घाटनकै दिन दर्शक पनि नहुनु, मन्त्री पनि नआउनु आयोजकका निम्ति ठूलै तनाव हो । ‘कास्टिङ मै झुर’ भएको फेस्टिभलका मुख्य संयोजक केपी पाठकले भने दिक्क मानेर बसेका दर्शकलाई पनि हँसाइदिए । उनले कार्यक्रम ढिलो हुनुमा व्यंग्य गर्दै मौसमलाई दोष दिए । ‘वेदरले च्यालेन्ज ग¥यो, मन्त्रीज्यू आउन सक्नुभएन, हलमा हेर्छु दर्शकहरू आउन सकेनन्, यो पनि वेदरकै च्यालेन्ज हो,’ उनले आफ्नै कार्यक्रममा व्यंग्य प्रहार गरे, ‘हाम्रो आयोजक समिति पनि ठूलै थियो । सबै सदस्यहरू आइदिएका भए हल भरिन्थ्यो । हाम्रो पार्टीका स्थानीय कमिटी सदस्यहरू मात्र आए पनि हल भरिन्थ्यो । यो पनि वेदरकै च्यालेञ्ज होला ।’
प्रमुख अतिथि नआउँदा कार्यक्रमको निर्धारित तालिका खलबलियो । मन्त्री भेटेर फर्किन हतारिएकाहरू चार घण्टासम्म फिल्म हेर्दै बस्नुपर्दा खिन्न थिए । केपीले ‘वेदरले च्यालेन्ज’ गरेको प्रसंग निकालेपछि सबै हाँसे । सामान्यतः दिउँसै रक्सी पिउन बहाना खोज्नेहरू बीच ‘वेदरले च्यालेन्ज’ गरेको शब्द बढी चल्तीमा छ । त्यसैले पनि होला दर्शकहरू मज्जैले हाँसे । फेस्टिभलभर यसको चर्चा भइरह्यो ।
राजेश हमाल २२ वर्ष !
पछिल्लो समय विभिन्न कार्यक्रममा अभिनेता राजेश हमाल आफू कलिलै भएको चर्चा गर्छन् । धरानमा भएको फेस्टिभलमा फिल्मसम्बन्धी अन्तरक्रिया कार्यक्रममा दर्शकले सोधे, ‘राजेश दाइ, तपाईंले पहिला जुन पायो त्यही फिल्म नखेल्नु भएको भए नेपाली फिल्मको स्तर अलि माथि उठ्थ्यो कि ? अब तपाईंका राम्रा फिल्म कहिले हेर्न पाईन्छ ?’
राजेशले जवाफका क्रममा आफूले अभिनय सुरु गर्दा थोरै मात्र फिल्म निर्माण हुने भएकाले रोजाइको अवसर नभएको र आफूले छानेर मात्र खेल्दा नयाँ निर्माता, निर्देशक नआउने भएकाले फिल्मको विकासका लागि पनि अफर आएका फिल्ममा काम गर्नुपरेको सुनाए । त्यसपछि ठट्यौली पारामा भने, ‘राजेश हमालको उमेर भर्खर त २२ वर्ष पुगेको छ, किन चिन्ता ?’ पछाडिबाट दर्शकले सोधे, ‘५ र २ बाइस कि ६ र २ बाइस हो, राजेश दाइ ?’ राजेशले सुने कि सुनेनन् जवाफ पनि दिएनन् । तीन दिन धरान बसेका उनले फेस्टिभलमा आउने दर्शक र विद्यार्थीहरूसँग फोटो खिचेर रमाइलो गरे । कहिले विद्यार्थीसँगै बसेर फोटो खिच्ने हमाल कहिले आफैँ विद्यार्थीहरूसँग सेल्फी खिचिरहेका हुन्थे ।
मन्त्री आउँदा भीड
फेस्टिभलको अन्तिम दिनको बिहान पनि दर्शक संख्या न्यून थियो । हलमा ३०÷४० जना दर्शकमात्र देखिन्थे । अन्तिम दिनको अन्तिम सो भइरहेको बेला भने हलभित्र भीडभाड गर्दै मान्छेहरू पस्न थाले । फेस्टिभलभर कहिल्यै नदेखिएका स्थानीयहरू पनि लामबद्ध भएर हलमा प्रवेश गरिरहेका थिए । एकछिनमा थाहा भयो, ती सबै फेस्टिभलका असली दर्शक थिएनन् । ती त सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीलाई भेट्न आएका कार्यकर्ता थिए ।
आयोजकले मन्त्रीको स्वागतका लागि पहिल्यै प्रवेशद्वारमै रंगोली बनाएर रातो कार्पेट बिछ्याएको थियो । मन्त्री कार्की आइपुग्नेबित्तिकै उनका कार्यकर्ताले उनी हिँड्ने कार्पेटमा फूल छरेर भव्य स्वागत गरे । त्यसपछि मन्त्रीसँग कुरा गरे, फोटो खिचे । फेस्टिभलतर्फ भने उनीहरूको खासै ध्यान थिएन । कार्यक्रममा मन्त्री आइसक्दा पनि आयोजकहरू भने भर्खर ब्यानर टाँग्दै थिए ।
फेस्टिभलमा विकासको माग
फेस्टिभलको स्थानीय संयोजक दीपक श्रेष्ठ फेस्टिभल हुनुभन्दा एक साताअघिदेखि नै तनावमा देखिन्थे । आफ्नै पार्टीका स्थानीय कमिटीबाट सोचेअनुरूप सहयोग नपाएपछि एक्लै दौडिएका उनी भन्दै थिए, ‘यो नै मेरो अन्तिम कार्यक्रम होला जस्तो छ ।’
फेस्टिभलभरि निकै दौडधूप गरेका श्रेष्ठ उद्घाटनका बेला मन्त्री नआए पनि समापनमा मन्त्री कार्की आउँदा खुशी देखिए । अतिथिलाई स्वागत गर्ने जिम्मा पाएका श्रेष्ठले स्वागत मन्तव्यकै मौकामा मन्त्रीसमक्ष विकासका माग राखे । ‘धरानमा हवाई मैदानको कुरा धेरै अघिदेखि उठेको हो तर अहिलेसम्म बन्न सकेन, यहाँ हवाई मैदान भएको भए वेदरले जति च्यालेन्ज गरे पनि फरक पर्ने थिएन, उद्घाटनमा मन्त्री आउन सक्नुहुन्थ्यो ।’ स्थानीय समेत रहेका श्रेष्ठले थपे, ‘धरान रंगशालामा अस्ति राष्ट्रिय खेलकुदमा कुनै प्रतियोगिता भएन । धरानका थाउजेन्ड बिग बुद्ध निर्माण हुन लागेको विरोध भयो । धरान विकासमा पछाडि परेको छ । मन्त्रीज्यूले सरकारमा कुरा उठाउनुप¥यो ।’ श्रेष्ठको मागमा ताली बज्यो । मन्त्रीले पनि बोल्ने क्रममा भने, ‘म पूर्वकै मान्छे, पहिलादेखि धरान आउजाउ छ । विश्वका जुन शहर पुगे पनि धरान जस्तो आनन्द लाग्दैन । धरानका लागि केही गर्नुपर्छ भन्ने सोचेको छु ।’
‘तथाकथित जनयुद्ध’
फेस्टिभलको आयोजक थियो, नेकपा माओवादी केन्द्रको भ्रातृ संगठनका रूपमा रहेको अखिल नेपाल चलचित्रकर्मी संघ । एक दशकसम्म सशस्त्र युद्ध लडेको माओवादीले आफ्नो युद्धलाई ‘जनयुद्ध’ भन्ने गरेको छ ।
मीनबहादुर भामको फिल्म ‘कालो पोथी’ को अन्तिममा ‘सो–कल्ड सिभिल वार’ अर्थात् तथाकथित जनयुद्ध भन्ने शब्दावली छ । फिल्म हेरिसकेपछि निर्देशक भामलाई स्थानीय डकुमेन्ट्री मेकर तथा सञ्चारकर्मी जसकुमार राइले प्रश्न गरे, ‘माओवादीले अहिलेसम्म जनयुद्ध भन्ने गरेको छ तर तपाईंले यहाँ तथाकथित जनयुद्ध भन्नुभयो । तपाईं सहमत हुनुहुन्न ?’ भामले तुरुन्तै जवाफ दिए, ‘जनयुद्ध भन्नका लागि कम्तीमा ५१ प्रतिशत जनताले सरकारविरुद्ध युद्ध गर्नुपथ्र्यो । माओवादी युद्धमा त्यस्तो अवस्था थिएन । त्यसैले तथाकथित जनयुद्ध नै हो ।’
तर, संयोग नै मान्नुपर्छ, माओवादीले आयोजना गरेको फेस्टिभलमा उसको युद्धलाई तथाकथित जनयुद्धका रूपमा प्रस्तुत गर्ने फिल्म ‘कालो पोथी’ उत्कृष्ट फिल्म घोषणा भयो । फिल्मले फेस्टिभलको सबैभन्दा महŒवपूर्ण एक हजार डलरको गौतम बुद्ध अवार्ड पायो ।
‘ऋणैऋणमा फेस्टिभल’
फेस्टिभल सकिनेबित्तिकै मुख्य संयोजक केपी पाठकलाई फेस्टिभलको आयव्ययबारे सोद्धा उनले अन्कनाउँदै भने, ‘बजेट त ३० लाखको हो तर कतैबाट पैसा आएको छैन । ऋणैऋणमा सकियो फेस्टिभल । कहिले, कति उठ्ने हो ? थाहा छैन ।’
माओवादी नेतृत्वको सरकार, माओवादीकै भागमा परेको सूचना तथा सञ्चार मन्त्रालय, उसैको भ्रातृ संगठनको आयोजनामा भएको फेस्टिभलको प्रयोजकमा नेपाल टेलिकमदेखि विभिन्न सरकारी, निजी बैंकहरूसम्म थिए । स्थानीय स्तरबाट पनि केही प्रायोजक खोजिएका थिए । नेपाली पानोरमातर्फ सर्ट फिल्मका लागि दिइने नगद २० हजार रुपैयाँको चतुरमान राजवंशी अवार्ड बेपत्ता माओवादी नेता राजवंशीको सम्झनामा पार्टीकै कोचिला मुक्ति मोर्चाले दिएको थियो । बेस्ट डकुमेन्ट्रीका लागि दिइने ३० हजार रुपैयाँको रामप्रसाद राई अवार्ड किरात राष्ट्रिय मोर्चाले, नेपाली फिचर फिल्मलाई दिइने ५० हजार रुपैयाँको श्रीजंगा अवार्ड लिम्बुवान मुक्ति मोर्चाले दिएका थिए । त्यस्तै, अन्तर्राष्ट्रिय क्याटगोरीको सर्ट फिल्मका लागि तीन सय डलरको रारा अवार्ड बराह ज्वेलरीले, डकुमेन्ट्रीका लागि पाँच सय डलरको माउन्ट एभरेस्ट अवार्ड पनि प्रायोजकले नै नगद दिएका थिए भने फिचर फिल्मलाई दिइने एक हजार डलरको गौतम बुद्ध अवार्डका लागि बौद्धनाथ विकास समितिले नगद उपलब्ध गराएका थिए । आयोजक समितिकै एक सदस्यले भने, ‘कति पैसा आयो, कति खर्च भयो ? हामीलाई हिसाब केही थाहा छैन । केपीजी र दीपकजीलाई मात्र थाहा छ । हाम्रो आफ्नै खर्च भइरहेको छ ।’
ब्रोसरदेखि नै लथालिंग
फेस्टिभल हुनुभन्दा तीन महिनाअघिदेखि नै चहलपहल सुरु भएको थियो । त्यसपछि मुख्य संयोजक पाठक आएर धरानमा विभिन्न क्षेत्रसँग छलफल चलाए, विभिन्न समिति गठन गरे । त्यसपछि स्थानीय संयोजक दीपक श्रेष्ठ आएर अर्को समिति बनाए ।
तर, फेस्टिभल सुरु हुने बेलामा दौडिनेमा केपी पाठक र दीपक श्रेष्ठ मात्र देखिन्थे । स्थानीय स्तरमा गठन भएका समितिहरूलाई संयोजकहरूले सम्पर्क नै नगरेको समितिमा सदस्य राखिएकाहरूले गुनासो गरे । केपीले गठन गरेको समितिका सदस्य रहेको दीपेन्द्र निरौलाले सुनाए, ‘पहिला फेस्टिभलमा सहयोग गर्नुपर्छ भनेर बैठकमा बोलाए, समितिमा राखे तर फेस्टिभल हुने बेलामा न कसैले सम्पर्क गरे, न कुनै कामको जिम्मा दिए । धरानमा हुने फेस्टिभलमा मज्जाले खटेर सहयोग गर्ने मन थियो ।’
आयोजकको लथालिंग ताल फेस्टिभलको ब्रोसर, बुकलेटदेखि नै देखिन्थ्यो । फेस्टिभलको ब्रोसरमा फिल्मको नामदेखि फिल्मबारे लेखिएका परिचयमै गल्ती थिए । ब्रोसर र बुकलेटका कभरपेजमा अंग्रेजी शब्द ‘अर्गनाइज्ड’को हिज्जे नै गलत छ । बुकलेटको पहिलो भित्री पृष्ठमा छापिएको संयोजकको मन्तव्यमा अंग्रेजी शब्द ‘चेयरम्यान म्यासेज’ लेख्न खोजिएको होला तर ‘चेयरम्यान मसाज’ लेखिएको छ । त्यसपछिको पेजमा ‘इन्टरनेसनल’, ‘सेक्रेटरिएट’को स्पेलिङ नै गलत छ । खोज्दै जाँदा बुकलेटभरि यस्ता गल्तीहरूको चाङ भेटिन्छ । मन्त्रीदेखि सम्पूर्ण अतिथि र दर्शकलाई बाँडिएका बुकलेट र ब्रोसरमै यस्ता गल्ती भेटिँदा आयोजकको लापरबाही वा असक्षमता प्रष्टिएको छ । तर संयोजक पाठक भने पहिलो फेस्टिभल सम्पन्न भएकोमा प्रफुल्ल र ढुक्क छन् । भन्छन्, ‘एक महिनाअघिसम्म पनि होला कि नहोला भन्ने थियो, भयो । अब हरेक वर्ष विभिन्न प्रदेशमा फेस्टिभल हुन्छ ।’
Leave A Comment