आजको चलचित्र लेखक सोच्दो हो, कसो गर्दा दर्शकलाई हँसाउन सकिन्छ । निर्देशक वा कलाकार पनि हँसाउने ठाउँकै खोजी गर्दा हुन् । विज्ञापनमा ‘चिसो भनेकै कोकाकोला’ भने झैँ अचेल चलचित्रमा ‘राम्रो भनेकै हास्य रस’ भएको छ ।
जब चलचित्रकर्मीको मुख्य ध्यान कसरी हँसाउने भन्नेमा मात्रै केन्द्रित हुन्छ, तब साँचो अभिव्यक्तिबाट ऊ क्रमशः टाढा हुन थाल्छ । हास्यात्मक भाव पैदा गर्ने उटपट्याङवाला दृश्यहरूले उसलाई आनन्द दिन थाल्छन् । कुन विषयमा के कुरा भन्न ऊ चलचित्र बनाउन खोज्दै थियो, हँसाउने लोभले तान्दै लगेपछि ऊ अन्तै पुग्छ । यसरी हास्यको खोजीमा चहार्दै जाँदा दुनियाँलाई देखाउन चाहेको मूल विषयबाटै ऊ विमुख हुन्छ । यसको अर्थ जुन विषयमा दर्शकसँग संवाद गर्नका लागि, अनुभव साट्नका लागि वा अभिव्यक्तिका लागि ऊ चलचित्र बनाउन चाहन्थ्यो, चलचित्र तयार भइसक्दा त्यही मूल काम चाहिँ छुट्छ ।
त्यस्ता चलचित्रकर्मी थोरै होलान् जसले हास्य र गाम्भीर्य दुवैलाई साथसाथै प्रस्तुत गर्ने क्षमता राख्छन् । प्रायः चलचित्रमा हास्य समात्न खोज्दा गाम्भीर्य भाग्ने गरेको छ । गाम्भीर्यको अभावमा चलचित्र कलात्मक कार्य नभएर रमिता बन्न पुगेका छन् । उत्ताउलो बैँस र अबुझपना नै हास्य रस उत्पादन गर्ने मसला बनेका छन् । यस्ता चलचित्रले दर्शकलाई जिस्काउन वा उत्तेजित गर्न त सक्लान् तर दर्शकसँग अर्थपूर्ण संवाद गर्न सक्दैनन् ।
चलचित्रमा होस् वा अन्यत्र पनि, सफलतापूर्वक संवाद गर्नका लागि केही शर्त हुन्छन् । पहिलो शर्त हो, संवादमा सन्देश आदानप्रदान गर्नेका बीचमा विश्वासको वातावरण हुनुपर्छ । सहभागीलाई के विश्वास हुनुपर्छ भने उसका सन्देश अर्थपूर्ण हुन सक्छन्, आफ्नो जीवनमा केही काम लाग्ने पनि हुन सक्छन् । चलचित्र काम लाग्ने हुनु भनेको दर्शकको आत्मिक वा सौन्दर्यात्मक आवश्यकतालाई पूरा गर्न सहयोगी हुनु हो । त्यो सम्भावना छैन भने दर्शकले निर्देशकको कुरा सुन्न रुचि देखाउँदैन र संवाद पनि हुँदैन ।
संवादका लागि आवश्यक दोस्रो शर्त हो, रुचिक्षेत्रमा एकरूपता । जुनसुकै ठाउँको किन नहोस्, शिक्षकसँग शिक्षक वा वकिलसँग वकिलको भेट हुँदाको संवाद जति अर्थपूर्ण हुन सक्छ, रुचि फरक भएको व्यक्तिका बीचमा त्यो हुँदैन । प्रेम सम्बन्धका बारेमा धेरै चलचित्र बन्नुको एउटा अर्थ के पनि हो भने जोसुकै व्यक्तिसँग पनि प्रेमका बारेमा खास अनुभव हुन्छन् । प्रेममा रुचि नै नभएका मानिसहरू संसारमा सायदै होलान् ।
राम्रो जीवन बाँच्नका लागि प्रयास गरिरहेका र अनेक बाधासँग जुधिरहेका व्यक्तिहरू कहाँ छैनन् होला ? सुन्दर भविष्यको सपना देख्नेहरू कहाँ नहोलान् ? यी आम मानिसका त्यस्ता रुचिक्षेत्र हुन्, जसले धेरैभन्दा धेरै मानिससँग संवाद गर्न सक्छ ।
तेस्रो शर्त हो, सोद्देश्यता । विना उद्देश्य संवाद हुँदैन । हरेक समाजमा समस्या छन्, अभाव र अपर्याप्तता छन् । रामराज्य जसलाई भनिन्छ, संसारमा त्यो छैन । त्यसैले चलचित्र होस् वा अन्य कलाकृति, त्यसको एउटा मुख्य उद्देश्य हुन्छ, आलोचनात्मक चेतनाको विकास गर्नु । कमजोरीहरू पहिचान गर्नु र त्यसलाई परिवर्तन गर्न दर्शकसँग संवाद गर्नु । कसैसँग हाँसो मजाक गरेर वा कसैलाई उपहासको विषय बनाएर मात्रै यस प्रकारको संवाद हुन सक्दैन ।
चौथो शर्त हो, सत्यवादिता । झुटो कुरा गर्नेसँग संवाद हुँदैन । चलचित्रमा भए नभएका कुरा देखाउने वा झुटा कुरा पनि देखाउने र त्यही नै हो भन्ने गर्दा दर्शकको बौद्धिकतामाथि अत्याचार हुन्छ । कसैलाई विरोधै गर्नुपर्दा पनि त्यसलाई त्यही जस्तो बनाएर मात्रै विरोध गर्नुपर्छ । पुलिसलाई पहिले पुलिस जस्तै बनाउनुपर्छ र मात्रै विरोध गर्न मिल्छ । दलितलाई दलित जस्तै बनाएर मात्रै बहस चलाउनुपर्छ । मधेशीलाई मधेशी जस्तै वा कामदारलाई कामदार जस्तै बनाएर पेस गरेपछि बल्ल तिनका कमजोरी वा शक्ति के हुन्, कुन पाटो देखाउन खोजेको हो, त्यसमा तर्कपूर्ण ढंगले चलचित्रले आफ्नो मत राख्न सक्दछ ।
पाँचौ शर्त हो, विनिमय । विचार वा भावनाको आदानप्रदान । निर्देशकले दर्शकको विचार वा भावनालाई सोही चलचित्रमा सम्बोधन गर्न त सक्दैन तर उसले दर्शकलाई बोल्ने ठाउँहरू छोडिदिनुपर्छ । दर्शकलाई सोच्ने र बहस गर्ने ठाउँहरू दिनुपर्छ । एउटैले मात्रै सासै नफेरी बोलिरहने र अर्काले होमा हो मिलाउँदै जाने सोचियो भने सार्थक संवाद सम्भव हुँदैन ।
कुनै चलचित्रमा दृश्यहरू यति छिटोछिटो बदलिन्छन् कि उक्त दृश्यका बारेमा विचार गर्ने त कुरै छोडौँ, अडिएर एकछिन हेर्न पनि भ्याइँदैन । दिमागलाई उत्तेजित बनाइरहने पाश्र्व संगीत, त्यसमाथि अनेक प्रकारका ध्वनि प्रभाव र प्रकाशको चटक, जुम इन र आउटको तिरिमिरी । वास्तवमा यो दर्शकमाथि गरिएको अत्याचार नै हो । आँखालाई नयाँ नयाँ दृश्य समात्नैको हतारो, मनमा अडिँदैन । निर्देशकले जे जे फाल्छ, समात्दै जाऊ । बुझ्नु पर्दैन, हेर्दै जाऊ । कुनै दृश्यमाथि आलोचनात्मक भएर सोच्ने फुर्सद निर्देशकले कहाँ दिन्छ ? आफ्नो प्रभाव लाद्नका लागि निर्देशक जोडतोडले लागेको छ । जिम्मेवार चलचित्रकर्मीले आफ्ना दर्शकसँग संवाद गर्ने तरिका यो होइन ।
चलचित्र माध्यम त्यति अत्याचारी र अधिनायकवादी हुँदैन, जति देखाउने गरिएको छ । जीवन जगतका साना मसिना कुराहरूलाई पनि राम्ररी देखाउन सक्ने शक्ति चलचित्रमा छ । मानवीय व्यवहारलाई सबैभन्दा नजिकबाट र सबैभन्दा विश्वसनीय ढंगबाट प्रस्तुत गर्ने सामथ्र्य पनि यसैसँग छ । प्रकृतिका अनेक रहस्यहरूको भित्रसम्म पुगेर वास्तविक जीवनमा कहिल्यै अनुभव गर्न नपाएका सत्यहरूसँग साक्षात्कार गराउने क्षमता यससँग छ । भ्रमण गर्दा प्राप्त हुने प्रत्यक्ष अनुभवलाई समेत चलचित्रबाट प्राप्त गर्न सकिन्छ तर यस्ता मूल्यहरू हाम्रा चलचित्रहरूमा खै ?
चलचित्रले दर्शकसँग संवाद गर्ने विधि एउटै मात्रै ठीक र यही मात्रै ठीक भन्ने हुँदैन । संवादका विधि अनेक हुन सक्छन् । जर्मन सौन्दर्यशास्त्री बर्टोल्ट ब्रेख्तले भनेका थिए, ‘सत्यलाई लुकाउने हजारौँ तरिका भए जस्तै सत्यलाई अभिव्यक्त गर्ने तरिका पनि हजारौँ हुन सक्छन् ।’ सत्यलाई अभिव्यक्त गर्ने तरिका अनेक हुन सक्छन् तर कुनै न कुनै प्रकारको सत्यलाई अभिव्यक्त गर्ने ध्येय चाहिँ चलचित्रकर्मीमा हुनैपर्छ ।
हाँसोलाई हामी अनावश्यक तरिकाले महŒव दिन थालेका छौँ । चलचित्र भनेकै कमेडी हो भन्ने जस्तो बनाउँदैछौँ । यसले हाम्रो अभिव्यक्ति क्षमतालाई मात्रै होइन, हाम्रो सौन्दर्यबोधलाई पनि निरन्तर कमजोर र साँघुरो बनाउँदैछ ।
Leave A Comment