डा. सुबोध रेग्मी, मूत्र रोग विशेषज्ञ
निजामती अस्पताल, नयाँ बानेश्वर, काठमाडौँ
पिसाब बनेर निष्कासन नहुञ्जेलसम्मका प्रक्रियामा संलग्न हुने अंगहरूको प्रणालीलाई मूत्र प्रणाली भनिन्छ । यससँग सम्बन्धित सबै रोगलाई पिसाबसम्बन्धी रोग भनेर बुझ्न सकिन्छ । पिसाबका रोगलाई विशेष प्रकारको रोग भनेर परिभाषित गर्न कठिन हुन्छ । किनभने, यसमा विभिन्न प्रकारका रोग भेटिन्छन् ।
उमेर र व्यक्तिको जीवनशैलीका कारण मूत्र प्रणालीसम्बन्धी रोग फरक–फरक खालका हुन्छन् । स–साना बालबालिकालाई जन्मजात प्रकृतिका रोग लाग्छन् भने उमेर बढ्दै गएपछि वंशाणुगत रोग कम तर अन्य संक्रमित रोगको खतरा ज्यादा हुन्छ । विभिन्न अंगमा हुने संक्रमण, पत्थरी र प्रोस्टेट ग्रन्थीको समस्या पनि प्रमुख हो । ‘बिनाइन हाइपरप्लेजिया अफ प्रोस्टेट’ लाई हामी उमेरअनुसारको प्रोस्टेट भन्छौँ ।
किन हुन्छ इन्फेक्सन ?
सामान्यतया मूत्र प्रणाली ब्याक्टेरियाबाट सुरक्षित क्षेत्रमा पर्छ । कुनै पनि ब्याक्टेरिया मूत्र प्रणालीका अंगहरूमा आइसकेपछि संख्या बढाउँदै जाँदा संक्रमण हुन्छ र विभिन्न लक्षण देखिन्छन् । तलबाट माथि सर्ने प्रकृतिका समस्या देखिन्छन् । मूत्र नलीबाट जीवाणुको आक्रमण बढ्दै गएर मूत्र थैलीसम्म संक्रमण हुन सक्छ । बढ्दै गएमा मिर्गौलासम्म पुग्छ । पुरुषको तुलनामा महिलामा मूत्र प्रणालीको संक्रमणको जोखिम उच्च हुन्छ । किनभने, पुरुषको मूत्र नलीको लम्बाई करिब २० सेन्टिमिटरको हाराहारीमा हुन्छ भने महिलामा करिब ४ सेन्टिमिटर हुन्छ । गुप्तांगको बनावटलाई हेर्दा पनि पुरुषको तुलनामा महिलाको मलद्वार र मूत्र नलीको दूरी नजिक भएको हुनाले संक्रमणको सम्भावना बढी हुन्छ ।
पुरुषमा प्रोस्टेट वा स्टोनको समस्या भएमा पनि निरन्तर संक्रमणको खतरा भने रहन्छ । पुरुषमा पनि यौन जीवनमा सक्रिय अवस्थामा ब्याक्टेरियाको जोखिम बढी हुन्छ । वृद्ध भएपछि प्रोस्टेटका कारण पिसाब थैलीमा ज्यादा पिसाब संकलन भएमा पनि संक्रमण हुन सक्छ । सामान्य एकदुई जीवाणु मूत्र प्रणालीमा आउँदैमा फरक पर्दैन । तर, प्रतिरोधी क्षमता घटेमा भने संख्या बढ्दै गएर जीवाणुहरूले आक्रमण गर्न थाल्छन् । इन्फेक्सन भएमा पिसाब फेर्दा पोल्न थाल्छ । पिसाब नियन्त्रणमा समस्या हुन्छ । छिनछिनमा पिसाब गर्न जान मन लाग्छ । संक्रमण बढेमा कहिलेकाहीँ ज्वरो आउने र कामज्वरो छुट्ने लक्षण देखिन्छ । जीवाणुको संक्रमण पिसाब थैलीभन्दा माथि पुगेमा पेटका कोखा दुख्न थाल्छन् ।
पिसाबमा हुने जीवाणुको संक्रमणबाट बच्न प्रशस्त पानी पिउनुपर्छ । पानी पिउनाले नियमित पिसाब हुने क्रममा जीवाणु बगाइदिन्छ । जीवाणुले मूत्र प्रणालीभित्र पसेर आफ्नो संख्या वृद्धि गर्न पाउँदैनन् । गुप्तांगको सरसफाइमा पनि ध्यान दिनुपर्छ । पत्थरी र प्रोस्टेट समस्याका कारण पनि पिसाबमा संक्रमण हुने भएकाले यी रोगको बेलैमा उपचार गर्नुपर्छ ।
पत्थरी
पिसाबमा घोलिएर जाने तŒवको मात्रा बढी र पानीको मात्रा कम हुन थालेमा ती तŒव घोलिन सक्दैनन् र जम्मा हुन थाल्छन् । जसलाई हामी ‘सुपर स्याचुरेसन’ को अवस्था भन्छौँ । त्यसपछि क्रिस्टल बन्छ र त्यसले सानो ढुंगाको आकार लिन्छ । ढुंगा बन्ने सम्भावना सबैभन्दा बढी मिर्गौलामा हुन्छ र त्यहाँबाट नै तल झर्न थाल्छ । झरेको ढुंगा मूत्र नली र थैलीमा पुग्छ । मूत्र थैली आफैँमा पनि ढुंगा बन्न सक्छ ।
पत्थरी हुनुको मुख्य कारण पानीको मात्रा कम हुनु नै हो । त्यसरी पत्थरीका बिरामीलाई ज्यादा पानी पिउन सल्लाह दिइन्छ । पत्थरीले संक्रमणदेखि मिर्गौलाबाट निष्कासन रोकिने र त्यसबाट मिर्गौला सुन्निँदै जान्छ । पछि, मिर्गौला फेलसमेत हुन्छ । पत्थरी भएका अंगमा इन्फेक्सन भइरहने, पिप जम्मा हुने र कतिपय अवस्थामा घाउको रूप लिने खतरा रहन्छ ।
पत्थरीबाट जोगिन दिनमा कम्तीमा साढे दुई लिटर पिसाब हुने गरी पानी पिउनुपर्छ । युरिक एसिडका कारण पनि पत्थरी हुन सक्ने भएकाले नियन्त्रणमा राख्नुपर्छ । युरिक एसिडले पनि पत्थरको रूप लिन सक्छ । पिसाबमा अम्लपना बढेमा पनि पत्थरी हुन्छ ।
मोटोपनाले पिसाबमा अम्ल बढाउँछ । त्यसैले मोटोपना घटाउनुपर्छ । हामीले खानामा प्रयोग गर्ने रातो मासुले पनि अम्लपना बढाउँछ । पत्थरीबाट जोगिन मसलायुक्त खाना खानु हुँदैन । कोल्ड डिं«क्स, चकलेट, काजु र टमाटर खाँदा विचार गर्नुपर्छ । पत्थरी भएका मानिसमा फेरि दोहो¥याएर पत्थरी हुने भएकाले ज्यादा चनाखो हुनुपर्छ । पत्थरी भएकाहरूलाई १० वर्षको अवधिमा फेरि दोहोरिने सम्भावना करिब ५० प्रतिशत हुन्छ ।
प्रोस्टेटको समस्या के हो ?
प्रोस्टेटको समस्या केवल पुरुषहरूमा मात्रै हुन्छ । किनभने, महिलामा प्रोस्टेट ग्रन्थी नै हँुदैन । प्रोस्टेटको काम वीर्यमा तरलता दिनु हो । उमेर बढ्दै गएपछि हार्मोनको सन्तुलनमा गडबड आउँछ । त्यसैले प्रोस्टेट बढ्छ, पिसाब नलीलाई दबाब दिन्छ र प्रवाहमा समस्या आउँछ । पिसाब नै नहुने, भए छिनछिनमा जानुपर्ने अवस्था ल्याउँछ । कहिलेकाहीँ थाहै नपाई पिसाब चुहिन्छ । एकदमै पिसाबले च्याप्दासमेत पिसाब सुरु गर्न समस्या हुन सक्छ । पिसाब गर्दागर्दै प्रवाह पातलो भइदिन्छ । पिसाब सकिएपछि पनि बाँकी रहेको महसुस हुन्छ । कहिलेकाहीँ गर्दागर्दै पिसाब ठप्प रोकिने पनि हुन सक्छ ।
प्रोस्टेट समस्याको रोकथामको उपाय भने छैन । किनकि, उमेर बढ्ने क्रममा कतिपयमा समस्या देखिन सक्छ, कतिपयमा नदेखिन पनि सक्छ । प्रोस्टेटका कारण पिसाबमा समस्या देखिनासाथ त्यसले अरू समस्या निम्त्याउनुभन्दा पहिले नै उपचार गराउनु राम्रो हुन्छ । औषधिले काम नगरे अपरेसनको सहाराले प्रोस्टेट समस्या नियन्त्रणमा ल्याउन सकिन्छ ।
Leave A Comment