पछिल्लो समय पत्रपत्रिकामा एउटा फिल्म छाइरहेको छ। अरुण प्रधानद्वारा निर्देशित फिल्म '१२ नेपाली एक चिहान' यसमा उठाइएको विषयवस्तुका कारण मात्रै होइन, सेन्सर प्रक्रियामा भोगेको झमेलाले पनि चर्चामा छ। सेन्सरले सुरुमा यो फिल्मलाई प्रतिबन्ध लगाउन खोजे पनि पछि प्रदर्शन अनुमति दियो।
इराकमा हतियारधारी समूहद्वारा १२ नेपाली मारिएको घटनामा आधारित भएकोले फिल्मप्रति सेन्सर बोर्डले कडा कदम चालेको हो। विषयको गम्भीरतालाई अतिरञ्जित शैलीमा प्रस्तुत गरिएको हुनसक्ने अनुमान लगाउँदै सेन्सरले फिल्मलाई रोक्न खोजेको थियो। फिल्मको नाम सुनेरै सेन्सर बोर्ड उक्त निर्णयमा पुगेको हुनसक्छ।
हुन पनि निर्देशक प्रधानले फिल्मको नामाकरणमा परिपक्वता देखाउन सकेका छैनन्। नाम सुन्दा फिल्मले विषयको संवेदनशीलतालाई न्याय गरिएको छैन होला भन्ने महसुस जो कोहीलाई हुन्छ। फिल्मको नामले उक्त घटनामा ज्यान गुमाएका युवा र उनीहरूका परिवारप्रति कति पनि सहानुभूति दर्शाउँदैन। पीडित परिवारलाई हरेक पटक फिल्मको नाम सुन्दा कस्तो पीडा होला भन्ने खतरा निर्देशकले बुझेको देखिँदैन।
नाम सुन्दा लाग्छ, फिल्ममा इराक हत्याकाण्ड होइन, कुनै हास्यव्यंग्यात्मक कथा समेटिएको छ। वास्तवमै फिल्मको नामाकरण गर्दा विषयको संवेदनशीलतालाई गम्भीर मनन गरिएको त छैन नै, न्यूनतम कलात्मकता र रचनात्मकता पनि प्रदर्शन गरिएको छैन। विषयसँग सम्बन्धित र कलात्मक नाम जुटाउन सकिन्थ्यो। तर, विडम्बना निर्देशकले भद्दा र आपत्तिजनक सुनिने नाम नै रोजे।
फिल्मको नाममात्र होइन, पोस्टर पनि आलोचनायोग्य छ। एउटा पोस्टरमा १२ नेपालीको लास नै राखिएको छ। फिल्ममा लाखौँ खर्च गर्नेले एउटा पोस्टरको डिजाइनमा चाहिँ कञ्जुस्याइँ देखाएका छन्। पोस्टर कतैबाट पनि कलात्मक र परिपक्व लाग्दैन। फिल्मको नामबाट सुरु भएको अतिरञ्जना पोस्टरमा पनि पोखिएको छ। पोस्टरले पनि मारिएका नेपाली युवाप्रति श्रद्धा अर्पण गरेको छैन, बरु यस्तो वीभत्सतालाई छरपस्ट पारिदिएको छ। कलाको कुनै पनि विधामा प्रतीक र विम्बको ठूलो भूमिका हुन्छ। यो फिल्मको नाम र प्रचार सामग्रीमा यसैको अभाव छ।
पाकिस्तानमा घाँटी रेटेर हत्या गरिएका अमेरिकी पत्रकार डेनियल पर्लबारे सन् २००७ मा एउटा फिल्म रिलिज भएको थियो। अपहरणमा परेका डेनियललाई उनकी पत्नी मारियनले खोज्न गरेको प्रसंगमा आधारित फिल्म 'अ माइटी हर्ट'ले उक्त वीभत्स घटनालाई भजाएन। फिल्मको नाम र पोस्टर दुवैमा शालीनता झल्किन्छ। कुनै अतिरञ्जना छैन। निर्देशक माइकल विन्टरबटमको कलात्मकतालाई धेरै समीक्षकले तारिफ पनि गरे।
सन् २०१२ मा अमेरिकामा क्याथरिन बिग्लोको निर्देशन रहेको फिल्म 'जिरो डार्क थर्टी' प्रदर्शनमा आएको थियो। उक्त फिल्ममा ओसामा बिन लादेनको खोजी र हत्यासम्मको प्रसंग समेटिएका छन्। भारतमा कमेडी भए पनि 'तेरे बिन लादेन' नामक फिल्म सन् २०१० मा बनेको थियो। अभिषेक शर्माले बिन लादेनसँग सम्बन्धित नभए पनि उनकै नाम प्रयोग गरेर फिल्मलाई चर्चित बनाउन खोजेको देखिन्छ।
तर, 'जिरो डार्क थर्टी'ले बिन लादेनको नाम कतै प्रयोग गरेन। गरेको भए पक्कै ठूलै स्क्यान्डल हुनेथियो। फिल्मको व्यापार पनि बढ्थ्यो होला। त्यति सम्भावना हुँदा पनि निर्देशक क्याथरिनलाई सस्तो चर्चा कमाउने इच्छा भएन।
गत वर्ष रिलिज भएको फिल्म 'शिरीषको फूल'को अन्त्यमा प्रमुख पात्रहरूले मन्दिरमा पूजा गरेको दृश्य समावेश छ। पारिजातद्वारा लिखित उपन्यासमा आधारित भए पनि निर्देशकले आफ्नो रचनात्मकता प्रयोग गरी फिल्ममा तोडमोड गर्नसक्छ। तर, त्यति हुँदाहुँदै पनि निर्देशकले मूल कृति र त्यसको लेखकको सैद्धान्तिक आदर्शलाई सम्मान गरेकै राम्रो।
लेखिका पारिजातमात्र होइन, उपन्यासकी मुख्य पात्र बरी समेत नास्तिक हुन्। अनिश्वरवादी उनीहरूले भगवानको पूजापाठलाई प्रवर्द्धन गर्ने सवालै आउँदैन। तर, जापानी निर्देशक तोसिआकी इतोले कि त यो संवेदनशीलता बुझेनन् कि त उनले जानीजानी अपहेलना गरे।
सन् २०१२ को फिल्म 'लाइफ अफ पाई' यान मार्टेलको उपन्यासमा आधारित हो। एउटा गुमनाम किशोरले सानो डुंगामा एउटा बाघसँग महासागरको लामो यात्रा गर्ने कथा यसमा छ। सुरुमा उपन्यासकार यान मार्टेलको भूमिकामा स्पाइडरम्यान अभिनेता टबी म्याग्वेरलाई खेलाइने चर्चा थियो। तर, निर्देशक आङ लीले म्याग्वेरको सट्टा कम परिचित अभिनेता रेफ स्पललाई खेलाए। म्याग्वेरलाई खेलाउँदा फिल्म र कथाको सरलतामा हस्तक्षेप हुने तर्क लीले दिएका थिए। उनको निर्णय सही साबित भयो।
डायमनशमशेर राणाको उपन्यासमा आधारित फिल्म 'वसन्ती'मा गगनसिंहको भूमिका राजेश हमाललाई दिइएको छ। राजेशले उक्त भूमिकालाई न्याय नै गरेका छन्। तैपनि निर्देशक नीर शाहले राजेशलाई खेलाउनुमा व्यापारिक स्वार्थ नै हाबी देखिन्छ।
विषय वा कथा चर्चित छान्दैमा पुग्दैन। त्यसमाथि आफूले न्याय गर्नसक्छु कि सक्दिनँ? आत्ममूल्यांकन पनि गर्नुपर्छ।
Leave A Comment