यस वर्षका बहुप्रतीक्षित स्मार्टफोन

बुधबार, १२ माघ २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
यस वर्षका बहुप्रतीक्षित स्मार्टफोन

सन् २०१६ मा धेरै उत्कृष्ट फोन बजारमा आए । एप्पलको पहिलो दुई वटा मुख्य क्यामरा भएको स्मार्टफोनदेखि गुगलले आफैँ बनाएको पहिलो स्मार्टफोनसम्म ।
नयाँ वर्ष २०१७ को सुरुवातमै यो वर्षका लागि समेत केही उत्कृष्ट स्मार्टफोन बजारमा आउन लाइन लागेर बसेको चर्चा भइरहेका छन् । डिजाइन र स्पेसिफिकेसनमा अत्याधुनिक फिचरसहित नयाँ स्मार्टफोन बजारमा आउनेछन् भन्ने अपेक्षा उपभोक्ताको छ । यो वर्ष बजारमा आउने भनिएका बहुप्रतीक्षित स्मार्टफोन यस्ता छन् ।

आइफोन एट
सन् २००७ मा एप्पलका संस्थापक स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए । त्यसैले कम्पनीले आइफोनको दशौँ वर्षगाँठको उपलक्ष्यमा ल्याउने आइफोनको नयाँ संस्करण स्मरणीय तथा भव्य हुने अपेक्षा गरिएको छ । कतिपय अनुमानका अनुसार यो वर्ष एप्पलले सबै काँचले बनेको आइफोन ल्याउनेछ, जसमा मोडिएको ओएलईडी डिस्प्ले हुनेछ । एप्पलले तीन थरी आइफोन एट ल्याउने बताइएको छ । ५.८ इन्च, ४.७ इन्च र ५.५ इन्च गरी तीन वटा भेराइटीका आइफोन एट आउने त्यसमध्ये ५.८ इन्चवाला आइफोनमा ओएलईडी स्क्रिन रहने बताइएको छ ।

ग्यालेक्सी एस एट
सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस एट आउने हल्ला महिनौदेखि चलिरहेको छ । सामसुङको दुई वटा भेराइटीमा एस एट आउनेछ । त्यसमध्ये एउटा स्मार्टफोनमा ५.१ इन्चको क्यूएचडी रिलोजुसन डिस्प्ले हुनेछ भने ५.५ इन्चको स्मार्टफोनमा फोर के रिजोलुसन तथा सुपर एमोलेड डिस्प्ले हुनेछ । दुवैमा क्वालकोम स्नापड्रागन ८३० प्रोसेसर तथा एक्जिनोस ८८९५ सीपीयू रहनेछ । ग्यालेक्सी एस एटमा बिस्ट मोड हुनेछ । यो भनेको, अल्ट्रा ब्याट्री सेभिङ मोड वा ब्याट्रीको अधिकतम उपयोग गर्न सकिने मोड हो । यो प्रविधिको प्याटेन्ट सामसुङले दर्ता गराइसकेको छ ।
एलजी जी सिक्स
आउँदो फेब्रुअरीमा स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसका दौरान एलजीले नयाँ स्मार्टफोन जी सिक्स सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसमा विद्यमान जी फाइभको मोड्युलर डिजाइन हटाइनेछ । यसमा धातुको एकनासको बडी हुनेछ । ५.३ इन्चको डिस्प्ले तथा डुअल क्यामरा सेटअप रहनेछ । क्यामरामा वाइड एंगल लेन्स रहनेछ ।
वान प्लस फोर
चिनियाँ स्मार्टफोन कम्पनीका लागि यो वर्ष वान प्लस फोर फ्लागसिप स्मार्टफोन हुनेछ । विद्यमान वान प्लस थ्री टीको नयाँ संस्करणको रूपमा वान प्लस फोर आउनेछ । कतिपयले भने कम्पनीले वान प्लस फोरको साटो सीधै वान प्लस फाइभ नामबाट स्मार्टफोन ल्याउने अनुमान पनि गरेका छन् ।
गुगल पिक्सेल टू
यो वर्ष बजारमा देख्न पाइने अन्य दुई स्मार्टफोन चाहिँ गुगलका पिक्सेल तथा पिक्सेल एक्सएल स्मार्टफोन हुन् । सेप्टेम्बर महिनामा सार्वजनिक गरिएका गुगलले आफैँ बनाएका यी स्मार्टफोनले गुगलको नेक्सस सिरिजका स्मार्टफोनलाई प्रतिस्थापन गरेका थिए र स्मार्टफोनको ब्याकमा गुगलको लोगो राखिएको थियो । अब गुगलले यो वर्ष चाहिँ गत वर्षका दुई स्मार्टफोनको नयाँ संस्करण पिक्सेल टू र पिक्सेल टू एक्स एल ल्याउनेछ । यी दुई स्मार्टफोनमा स्नापड्रागन ८ सय ३५ प्रोसेसर रहने बताइएको छ ।

Leave A Comment