जया ओझाले केही टेलिसिरियल र फिल्मका स्क्रिप्ट लेखेकी छिन्, केहीमा अभिनय पनि गरेकी छिन् । हालसालै अन्तरलिंगीमाथि उनी लिखित उपन्यास ‘आवरण’ सार्वजनिक भएको थियो । उनीसँग डिबी खड्काले संवाद गरेका छन् ।
स्क्रिप्टबाट उपन्यासमा फड्को मार्नुभयो नि ?
मेरो मूल अभिरुचि लेखन नै हो । २०६२ सालमा गीत लेखेर फिल्म क्षेत्रमा आइपुगेकी थिएँ । करिअर अघि बढाउने क्रममा विभिन्न क्षेत्रमा पुगेँ । विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गरेँ । तर, आनन्द चाहिँ लेखक जया ओझा भन्दा आउँदो रहेछ ।
उपन्यासबाट कस्ता प्रतिक्रिया पाउनुभयो ?
चाँडो प्रतिक्रिया आफ्नै साथी सर्कलबाट आउने हो । साथीहरूले ‘राम्रो छ’ भनेका छन् । खास पाठक मसम्म आइपुगेकै छैनन् । त्यसैले सही प्रतिक्रिया पाइसकेकी छैन ।
किताब विमोचन भएको दिन तपाईंलाई पनि अन्तरलिंगी भनेर केहीले शंका गरे नि त !
केही केटा साथीहरूको प्रतिक्रिया त्यस्तै आयो । उनीहरूले ‘प्रेम प्रस्ताव स्वीकार नगर्नुको कारण यस्तो रहेछ’, ‘हामीसँग टाढिनुको तथ्य थाहा पाइयो’ पनि भने । होइन, अरूकै कथाव्यथा लेखेको भन्दा पत्याएका छैनन् ।
फिल्म क्षेत्रका अँध्यारा–उज्याला पाटाहरूको भुक्तभोगी हो तपाईं । त्यसबारे लेख्नेबारे सोचिएन ?
फिल्मका भित्री कुरामा बलिउड, हलिउडतिर फिल्म बनेका छन् । लगभग स्थिति र विषय त्यस्तै हुन् । केही नयाँ दिन सकिएला जस्तो लागेन र यसमाथि लेख्नेबारे सोचिएन ।
किताब र स्क्रिप्ट लेख्नुका फरक के रहेछन् ?
फिल्मको स्क्रिप्ट लेख्दा असन्तुष्ट भइन्थ्यो । फिल्म बनेपछि झन् असन्तुष्ट । उपन्यास लेखिसक्दा मैले सन्तुष्टि पाएँ । फिल्मको स्क्रिप्ट निर्माता र निर्देशकको आवश्यकताअनुसार लेखिदिनुपर्छ । उपन्यासमा स्वतन्त्र भएर लेख्न सकिन्छ ।
भनेपछि नेपाली फिल्ममा स्क्रिप्ट लेखक ‘बिचरा’ हुन्छ ।
अधिकांश निर्माता÷निर्देशकलाई स्क्रिप्ट लेखकप्रति विश्वास नै छैन । अहिले पनि पारिश्रमिक २० देखि ४० हजार रुपैयाँ अफर हुन्छ । ठूलै निर्माता भन्नेहरूको बोली हो यो । यति पारिश्रमिक त अचेल टाइपिस्टको पनि हुन्छ ।
कुन कुन फिल्ममा मुख्य भूमिकामा अभिनय गर्नुभयो ?
अभिनेता खगेन्द्र लामिछानेले पहिलो पल्ट अभिनय गरेको एउटा फिल्म थियो । उनको जोडी थिएँ म । तर, त्यो फिल्म रिलिजै भएन । त्यसैगरी फिल्म ‘तिर्खा’को मुख्य भूमिकामा पूजना प्रधान र म थियौँ । फिल्मको सुटिङ पूरा भएको थियो । एउटा गीतको सुटिङ बाँकी थियो । निर्माता वा निर्देशकका मबाट केही अपेक्षा थिए होलान् । ती पूरा गर्न सकिनँ । उनीहरूले हिरोइन परिवर्तन गरे । फिल्म ‘भाइमारा’मा पनि त्यस्तै नमज्जा बेहोरेँ । त्यसपछि म गलत ठाउँमा छु कि जस्तो लाग्यो । हिरोइन बन्ने चक्कर छाडिदिएँ । त्यसपछि एउटा भोजपुरी फिल्म पनि खेलेँ । गाउँको सोझी केटीको भूमिका थियो । तर, त्यहाँको वातावरण एकदमै खराब लाग्यो । फर्केर हेरिएन ।
अहिले रेडियो नाटक लेख्न थाल्नुभएको छ । कत्तिको सन्तुष्टि मिलेको छ ?
रेडियो नाटक लेख्दा एउटा संस्कारको अनुभव गर्न पाएँ । यहाँ एउटा परिपाटीको विकास भइसकेको रहेछ । कुनै विषयमा लेख्नुप¥यो, जानकारी छैन भने त्यो क्षेत्रको विज्ञ उपस्थित गराइन्छ । अनुसन्धान, अवलोकन वा अध्ययन गर्नुप¥यो भने त्यो वातावरण बनाइदिइन्छ । अनि, पो राम्रो नतिजा आउँदो रहेछ ।
Leave A Comment