एसएलसीको नतिजा सार्वजनिक भएसँगै निजी कलेजलाई दश जोड दुई (प्लस टू) मा विद्यार्थी तान्न भ्याइ–नभ्याई छ । पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरका प्याकेज राखेपछि निजी कलेजमा विद्यार्थीको आकर्षण बढेको छ ।
विद्यार्थीको चाप बढेसँगै निजी उच्च माविमा अर्बौं लगानी ओइरिएको छ । आगामी शैक्षिक सत्रबाट सरकारले प्रवेशिका परीक्षा हटाएर कक्षा ९ देखि १२ लाई एक तह निर्धारण गरेपछि कलेज लगानीको थप गन्तव्य बनेको हो । विगतमा एसएलसीमा फेल भएपछि धेरै विद्यार्थी बीचैमा पढाइ छाड्थे । अब प्रायः सबैजसो विद्यार्थीले कक्षा १२ सम्मको शिक्षा लिनेछन् ।
सरकारी कलेजमा विद्यार्थीलाई सन्तुष्ट पार्न नसक्नुले पनि निजी कलेजको शैक्षिक व्यवसाय फस्टाएको हो । सरकारसँग सम्बन्धन लिएर विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, होटल म्यानेजमेन्टसहित विभिन्न प्राविधिक विषयको पढाइ सञ्चालन गरेका छन् । केहीले विदेशी युनिभर्सिटीसँग सम्बन्धन लिएर ‘ए—लेवल’का प्याकेज चलाएका छन् ।
३ हजार ६ सय ६९ उच्च माविमध्ये १ हजार ५० उच्च मावि निजी क्षेत्रबाट सञ्चालन गरिएको उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले जनाएको छ । हरेक वर्ष सयजति निजी कलेज थपिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । ‘निजी कलेज लगानीकर्ताको आकर्षक गन्तव्य बनेको छ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा हरेक वर्ष अर्बौंको लगानी भित्रिन्छ ।’ उनका अनुसार अहिले निजी कलेज घाटामा छैनन् ।
काठमाडौँ उपत्यकासहित पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढीलगायत प्रमुख शहर शैक्षिक ‘हब’को रूपमा विकास भएका छन् । हरेक जिल्ला सदरमुकाममा निजी कलेजको संख्या उत्तिकै छ । सामान्य कलेज खोल्न न्यूनतम ५० लाख रुपैयाँ, राजधानीमा न्यूनतम एक करोड, नामचलेका कलेजले २० करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् । निजी कलेजहरूमा करिब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको हिसानले जनाएको छ ।
निजीले ८८ देखि ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएकोले पनि आकर्षण बढेको सिलवाल बताउँछन् । ‘अभिभावक र विद्यार्थीलाई पैसाभन्दा राम्रो शिक्षा चाहिएको छ,’ उनले भने, ‘निजीले गुणस्तरीय शिक्षा दिएकोले सबैको आकर्षण यतातिर भएको हो ।’
सरकारी र निजी शिक्षाको खाडलबीच निजी क्षेत्रले शिक्षा क्षेत्रमा प्रभुत्व जमाएको हो । यत्रो लगानी कहाँबाट उठ्छ त ? एक निजी विद्यालय सञ्चालकले भने, ‘अहिले सबैभन्दा आकर्षक लगानीको क्षेत्र निजी कलेज भएका छन् । कलेजमा मासिक फीबाहेक घुमाउरो ढंगले शुल्क लिन पाइने धेरै उपाय छन् ।’
भर्ना, परीक्षा फिस, मासिक शुल्कसहित ड्रेस, पुस्तक, कलेजमा हुने अतिरिक्त क्रियाकलाप, खेलकुद, परीक्षा, खाजा, होस्टेल आदिबाट राम्रै कमाइ गर्छन् निजीले । विज्ञान विषय पढ्ने एक विद्यार्थीले दुई वर्षको न्यूनतम एकदेखि तीन लाख रुपैयाँ, व्यवस्थापनमा ७५ हजारदेखि सवा लाख, मानविकीमा ५० हजारदेखि एक लाख, शिक्षामा ५० हजार रुपैयाँसम्म मासिक फी लिने गरेको हिसानले जनाएको छ ।
यसका अतिरिक्त विभिन्न बहानामा थप शुल्क असुल्न पाइने भएकोले पनि एकेडेमिसियनहरूलाई लगानीको उपयुक्त क्षेत्र बनेको छ । लगानी भित्रिएसँगै कलेजहरूमा अस्वस्थ प्रतिस्पर्धा बढेको क्याम्ब्रिज इन्टरनेसनल कलेज, कलंकीका कार्यकारी अध्यक्ष गंगाधर अधिकारीले बताए । ‘धेरै नाफा नभए पनि कलेजहरू डुब्ने नै अवस्थामा छैनन्,’ उनले भने, ‘न्यून पूँजी लगानी गरेका कलेज सञ्चालनमा अलि चुनौती छ ।’
अरूको तुलनामा ए लेभलको पढाइ महँगो छ । यहाँ कलेज तथा इन्स्टिच्युट गरी ३२ वटा संस्थाले ए लेभल पढाइ सञ्चालन गरेको ब्रिटिस काउन्सिलले जनाएको छ । महँगो भए पनि अन्तर्राष्ट्रियस्तरमा ए लेभलको दायरा फराकिलो भएकाले निजी विद्यालय रोजेको चेल्सी इन्टरनेसनल एकडेमीमा अध्यनरत खुशी लुइँटेलले बताइन् । गोल्डेन गेट इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका हिसान अध्यक्ष सिलवाल लगानीको सुरक्षा नभएको बताउँछन् । ‘निजी क्षेत्रले अर्बौं लगानी गरेको छ,’ उनले भने, ‘सरकारले लगानी गर, नाफा नले भन्छ ।’
उच्च माविमा करिब एक लाखलाई रोजगारी दिएको छ । कलेज सञ्चालकले मनपरी शुल्क लिने गरेको गुनासो शिक्षा मन्त्रालयसम्म आइपुग्ने गरेको छ । कलेजले लिने शुल्कका विषयमा भने पटकपटक विवाद आउने गरेको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल बताउँछन् । ‘विधि र प्रक्रिया तय गरेर टुंगो लगाउने पक्षमा छौँ,’ उनले भने, ‘लगानी र नाफा पारदर्शी बनाउनुपर्छ ।’
निजी विद्यालयसँगै होस्टेलमा समेत लगानी बढेको छ । अहिले उपत्यकामा मात्र करिब चार सय होस्टेल रहेको होस्टेल एसोसिएसनले जनाएको छ । कलेजसहित अन्यले होस्टेल चलाएका छन् । कलेजहरूले मूलधारका पत्रिकामा विज्ञापन, होडिङ बोर्डमा पनि लाखौँ खर्च गर्ने गरेका छन् । कलेजमा उच्च राजनीतिक नेतृत्व, व्यापारीदेखि शिक्षाविद्ले लगानी गरेका छन् । केही कलेजले कर, बैंकको ऋण, ब्याज र घरभाडा लामो समयदेखि भुक्तान गर्न नसकेको गुनासो गरेका छन् ।
Leave A Comment