चलचित्र किन ?

बुधबार, १९ माघ २०७३, ०१ : १० माधव ढुङ्गेल , Kathmandu
चलचित्र किन ?

समझ निर्माण गर्ने काममा चलचित्रको भूमिका बढ्दै गएको छ । हिजोसम्म समाज, संस्कृति र सभ्यतासम्बन्धी धारणा बनाउने काम पाठ्यसामग्रीहरूले गर्थे । राजनीति, साहित्य, संस्कृति, इतिहास आदि विषयमा लेखिएका पुस्तकले गर्थे; पत्रपत्रिकाले गर्थे । आज साक्षरहरूको संख्या बढेको छ, पढेलेखेका मानिसहरूको कमी छैन तर चिन्तनमननको अनुपात घट्दै गएको छ, पठन संस्कृति क्रमशः कमजोर बन्दै गएको छ ।
फुर्सदको समयमा आजको मानिस पुस्तकमा होइन, मोबाइलमा भुलेको देखिन्छ । मोबाइलमा नभुलेको मानिस टेलिभिजनमा वा चलचित्रमा भुलेको हुन सक्छ । मानिसको समय पुस्तकले भन्दा बढी श्रव्यदृश्य सामग्रीले लिन थालेका छन् । सूचना, ज्ञान र मनोरञ्जनको काम हिजो पुस्तकहरूले गर्थे, आज श्रव्यदृश्य सामग्रीले गरिरहेका छन् । मानिसको चेतना निर्माणमा यस्ता माध्यमको उल्लेख्य रूपमा प्रभाव बढेर गएको छ ।
श्रव्यदृश्य सामग्रीको प्रयोग मूलतः मनोरञ्जनका लागि हुने गरेको छ । मनोरञ्जनकै ध्येयले यिनीहरूको निर्माण हुने गरेको पनि सत्य हो तर मनोरञ्जन मानिसको दिमागमा प्रवेश गर्दा केवल मनोरञ्जन मात्रै भएर प्रवेश गर्दैन । त्यो सूचना र ज्ञानको निश्चित ढाँचासहित प्रवेश गर्छ । मनोरञ्जनका साथमा मानिसले केही न केही सिकिराखेको पनि हुन्छ ।
सिक्नका लागि होइन, मनोरञ्जनका लागि कोही व्यक्ति पोर्नोग्राफी हेर्छ र ऊ भर्खरै त्यस्तै सामग्री हेरेर तरकारी किन्न बाहिर सडकमा निस्केको छ भने उसको आजको दृष्टि सदाको भन्दा भिन्न हुन्छ । सडकमा देखिने हरेक मानिसलाई ऊ सोही नजरबाट हेर्न थाल्छ । त्यसरी हेर्नु राम्रो होइन भन्ने उसलाई थाहा होला, ऊ त्यसरी नहेर्न पनि खोज्ला तर भर्खरै देखेका दृश्यहरूका कारण ऊ त्यसबाट पूर्णतः मुक्त हुन सक्दैन । जस्तो प्रकारको दृश्यात्मक छाप मस्तिष्कमा पर्छ, त्यसको कुनै न कुनै प्रभाव त मस्तिष्कमा रहन्छ नै । र, यस्तो प्रभाव लामो समयसम्म परिरह्यो भने अन्ततः उसको सौन्दर्य दृष्टि नै त्यसको अनुकूल हुन पुग्छ, चेतना त्यसैगरी बन्छ र ऊ त्यसको पक्षमा वकालत गर्न थाल्छ ।
चलचित्रलाई मानिसहरूले आफ्नै पाराले चिनेका छन् । नायक नायिकाको शारीरिक सुन्दरता र रोमान्स हेर्न मानिस हलमा जान्छन् । आनन्दित हुन, हाँस्न र कयौँ मनोवैज्ञानिक तुष्टि प्राप्त गर्न मानिसहरू त्यहाँ पुग्छन् । किनभने, हामीले हेर्ने÷देखाउने गरेका अधिकांश चलचित्र त्यस्तै छन् । त्यस्तैलाई चलचित्र भन्ने बानी हामीलाई लागिसकेको छ । अब त्यही कुरा चलचित्रमा पाएनौँ भने हामीलाई मजा आउँदैन, घत पर्दैन ।
चलचित्र इतिहासको दस्तावेज हो भनेर कसैले भन्यो भने धेरैलाई यो कुरा पच्दैन । धेरैका नजरमा यो उपदेश हुन पुग्छ । ठूलो कुरा गरेको देखिन्छ । किनभने, धेरै नेपालीले चलचित्रलाई त्यस रूपमा हेर्ने अवसरै  पाएका छैनन् । हाम्रा हलहरूमा चल्ने कुन चाहिँ चलचित्र त्यस्तो छ जसले इतिहासलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको होस् ? कुन चलचित्र छ जसले समाजको भित्री यथार्थलाई इमानदारीपूर्वक पर्दामा देखाउने चेष्टा गरेको होस् ? जब कुनै चलचित्रले पनि त्यो प्रयास गरेको देखिँदैन भने कसरी भन्न सकियोस्, इतिहासलाई दस्तावेजीकरण गर्नु चलचित्रको विशेषता हो, काम हो ।
हाम्रो समाजले अझै पनि चलचित्र कलालाई समझ प्रवद्र्र्धक कलाका रूपमा गम्भीरतापूर्वक लिएको छैन । चलचित्रले मानिसको सौन्दर्य बोधको क्षमतालाई प्रभावित गर्छ भन्नेमा हामी गम्भीर छैनौँ । आज पनि चलचित्र हाम्रा लागि राम रमिताभन्दा माथि उठ्न सकेको छैन ।
तर, आज हामीले बनाएका, हेरेका चलचित्रहरू तुरुन्तै हराइहाल्ने वा नासिनेवाला छैनन् । डीभीडीहरू सबै हराए भने पनि युट्युबमा ती बाँच्नेछन्, इन्टरनेटमा बाँच्नेछन् । आजको पुस्ताले इतिहास खोज्न पुस्तक पल्टाएझैँ भोलिको पुस्ताले इतिहासै खोज्न चलचित्र हेर्नेछ । आजको जीवनशैली बुझ्न, आर्थिक सांस्कृतिक सम्बन्ध, रहनसहन, खानपिन, पहिरन वा फेसनका बारेमा जान्न उसले चलचित्रको अध्ययन गर्नेछ ।
स्कुल कलेजमा पढ्नैपर्ने भएर मात्रै हो नत्र पुस्तकहरू विस्थापित हुन थालिसकेका छन् । डिजिटल प्रविधिले समयलाई अर्कै बनाउँदैछ । कुनै पुस्तक लेखेर आजको समाजका बारेमा पछिल्लो पुस्तालाई जानकारी दिनुभन्दा एउटा चलचित्र बनाउनु अब सजिलो र प्रभावकारी दुवै हुने देखिँदैछ ।
वास्तविकतालाई क्यामेराले जति स्पष्ट, मूर्त र वास्तविक रूपमा उतार्न सक्छ, शब्दहरूले त्यो सक्दैनन् । शब्दहरूले वास्तविकताको प्रतीतिसम्म गराउन सक्छन्, क्यामेराले झैँ जस्ताको त्यस्तै देखाउन वा सुनाउन सक्दैनन् । जिउँदो जाग्दो गतिशील संसारलाई बचाइराख्न चलचित्र जत्तिको प्रभावकारी माध्यम अर्को छैन । जे हो त्यही सुन्न पाइने, जे हो त्यही र जत्ति समय लाग्छ, त्यत्ति नै समयमा देख्न पाइने यत्तिको प्रत्यक्ष माध्यम अर्को छैन । झाँक्रीले ढ्यांग्रो ठटाउँदै उपचार गरेको वर्णन न त शब्द मात्रैमा ठ्याक्कै आउन सक्छ न त स्थिर दृश्यमा । चलचित्रमा त्यो हुबहु उतार्न सम्भव छ । समय, स्थान, चाल, दिशा, सहभागी र तिनको अन्तःसम्बन्ध चलचित्रमा जस्ताको त्यस्तै उत्रिन्छ, मानौँ दर्शक घटना भइराखेको ठाउँमा स्वयं उपस्थित भएर आँखा र कानले एकसाथ भोगिराखेको छ ।
हिजोसम्म यो माध्यम महँगो थियो र थोरैको मात्रै पहुँचमा थियो । डिजिटल प्रविधिको विकास भएको थिएन भने सूचना र ज्ञानका क्षेत्रमा यसले पुस्तकलाई विस्थापित गर्न सक्दैनथ्यो । तर, आज स्थिति फेरिएको छ । भिडियो खिच्न सक्ने मोबाइलहरू हातहातमा छन् । एडिटिङ गर्न सिकाउने गुरुहरू युट्युबमा छन् । शिक्षकले सिकाएझैँ बोल्दै र देखाउँदै त्यहाँ सिकाइएको हुन्छ ।
अबको साक्षरता श्रव्यदृश्य साक्षरतामा बदलिँदैछ । क्यामेरा चलाउन, सम्पादन गर्न र युट्युब आदिमा अपलोड गर्न जान्ने व्यक्ति अबको लेखक बन्दैछ । दृश्य भाषा, जो सापेक्षिक रूपमा वैश्विक भाषा पनि हो, अबको अभिव्यक्ति र ज्ञानको पनि माध्यम बन्दैछ ।
अभिव्यक्ति त नेपाली चलचित्रले पनि गरिराखेकै छन् तर सचेत रूपमा गरिराखेका छन् कि बेहोसीमा बर्बराइराखेका छन् ? रमाइलो त कुनै तुक न तर्कको व्यवहार गर्ने व्यक्तिलाई देख्दा पनि लाग्ला । सडकमा छाडा बोलिरहेको व्यक्तिलाई सुन्न पनि मानिसहरू झुम्मिएलान् । सडकमा रमिता देखाउन आँट गर्ने हो भने दुईचार जनाले रमाइलै मान्लान्, हाँस्लान् पनि । तर, हामीले गर्नुपर्ने के हो ? हामीलाई चाहिएको चलचित्र कस्तो हो ? हाम्रो कामको मूल्यांकन भोलिको पुस्ताले कसरी गर्ला ?

 

Leave A Comment